७ वैशाख २०८१ शुक्रबार
राजनीति

उपेन्द्रले अहंकार गरे, उनमा पदको लोभ देखियोः बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन्।

अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाएका हुन्। मंगलबार काठमाडौँमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गरे।

अध्यक्ष भट्टराईले अर्का अध्यक्ष यादव पक्षले बैठक अवैध भनेकोप्रति लक्षित गर्दै यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गरे। अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्क्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खालि रहेको पदमा समेत जनजातीलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको बताए।

उनले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताए। अध्यक्ष भट्टराईले पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने बताए। उनले अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनशायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने स्पष्ट पारे।

अध्यक्ष भट्टराईले भने, ‘जनता समाजवादी पार्टी भनेको देशमा वैकल्पिक शक्तिको रुपमा स्थापना गरेको पार्टी हो। संख्याको बहुमत पनि हामीसँग छ। कथम कदाचित निरुपण हुँदै गएछ भनेपनि वैचारिक हिसाबले यसको मुल मर्म हो, संघीयता, सुशासन, समाजवाद र समृद्धिको जुन मुल आधार तत्व हुन् त्यसलाई बचाएर पार्टीलाई जोगाएर ल्याउने श्रेय हामीलाई छ। हामी यहाँ छाैं।'

क्रमश उनले थपे, 'हाम्रो कार्यकारिणी अध्यक्ष उपन्द्र यादवले आफ्नै ढंगले वीरगञ्जमा बैठक बोलाइ दिनुभयो। गत साल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खालि थियो। मैले जनजाती एकजना जो भएपनि बनाउनुपर्छ भने तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नुभएन। अहिलेसम्म पनि मान्नुभएको छैन। हामीले देखेको पार्टीको सपनामा गम्भीर कुठाराघात भइरहेको छ। यो पार्टीमाथि ठूलो संकटको बादल मडारिएको छ। कुनैपनि बाआमाले आफ्नो सन्तानलाई मार्दैन। त्यसैले यो पार्टी हामीले जन्माएको हो, फुटबाट जोगाएको हो र अहिलेपनि पार्टीलाई रुपान्तरण गर्ने हाम्रो मनशाय हो। म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिलेपनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु।’

यस्तै अध्यक्ष भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी गरे। उनले नेपालमा पनि सरकार र राजनीतिक दलहरुमा आसेपासे र अहंकारी प्रवृत्तिको विकास भइरहेको उल्लेख गरे। अध्यक्ष भट्टराईले राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरिरहेको उल्लेख गर्दै सत्तामा जाने भनेकै देश लुट्नका लागि भएको दाबी गरे।

उनले भने, ‘श्रीलंकामा राजापक्ष परिवारमा जे गरेपनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो, उनीहरुले जति भ्रष्टाचार गरे, आसोपासेलाई पदमा राखेर आएको परिणाम नेपालमा त भएको छैन? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासो भएको छ। राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरेको छ। सत्तामा जाने भनेकै लुटेर धन कमाउने भएको छ। धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको छ। नेपाल पनि त्यही गम्भीर संकटमा छ।’

अध्यक्ष भट्टराईले धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको दाबी गरे। उनले नेपाल पनि श्रीलंका जस्तै गम्भीर संकटमा रहेको उल्लेख गरे।

प्रकाशित: २८ असार २०७९ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App