७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुख्यमन्त्री शाही र स्विटजरल्याण्डका राजदूतबीच भेट: कर्णालीका द्वन्द्वपीडित बारे चासो

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन्।

मंगलबार भएको भेटमा संघीयता कार्यान्वयन, सशस्त्र द्वन्द्वका पीडितहरुलाई परिररहेको मानसिक स्वास्थ्य सम्बन्धी असर, कर्णालीको सडक गुरुयोजना लगायतका विषयमा छलफल भएको थियो। भेटका क्रममा स्विटजरल्याण्ड सरकारको सहयोगमा कर्णालीमा सञ्चालित मानसिक स्वास्थ्य कार्यक्रमको विषयमा छलफल भएको थियो।

स्विटजरल्याण्ड सरकारको सहयोगमा सिएमसी नेपालले कर्णालीका तीन जिल्लाका छ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ। राजदूत क्यापलरले द्वन्द्वपीडितहरुका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामहरुको बारेमा चासो राखेकी थिइन्।

उनले द्वन्द्वपीडितहरुको मानसिक स्वास्थ्यमा परिरहेको असर न्यूनिकरणका लागि प्रदेश सरकार अझै गम्भीर हुनुपर्ने सुझाव दिएकी थिइन्। त्यस्तै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको बताए।

‘द्वन्द्वपीडितको सवालमा कर्णाली प्रदेश सरकार गम्भीर छ,’ मुख्यमन्त्री शाहीले भने, ‘राहत, जीवन निर्वाह भत्ता, औषधि उपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा हामीले काम गरिरहेका छौं।’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सडक गुरुयोजना निर्माण अन्तिम चरणमा रहेको पनि बताए।

प्रकाशित: २१ असार २०७९ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App