coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली र दाहालले नेकपा फुटाएको गौतमको आरोप

तत्कालिन नेकपा ब्युँताउन लागेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दैै पार्टी फुटाउने मामलामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको भूमिका रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको पार्टी घोषणा गर्दै सो कुरा बताएका हुन्। नेकपा विभाजन भएपछि लामो समयदेखि निस्क्रिय रहेका गौतमले मंगलबार आफ्नी श्रीमती तुलसा थापा छोरा हरिश गौतम र केही नजिकका कार्यकर्तालाई समेटेर पार्टी घोषणा गरेका हुन्।

गौतम आफैं सो पार्टीका संयोजक रहेका छन्। उनले पार्टीको घोषणा गर्दै तत्कालीन नेकपा फुटाउने मुख्य दोषी ओली र दाहाल भएको आरोप लगाएका हुन्। उनले पार्टी एकता भए अझै पनि नेपाल कम्युनिस्ट पार्टीले अझै पनि बहुमत ल्याउने दाबी गरे।

‘नेपाल कम्युनिस्ट पार्टी फुटाउने मुख्य जिम्मेवार केपी ओली र प्रचण्ड नै हो,’ गौतमले भने, ‘नेपाली कांग्रेस आफैं पहिलो शक्ति बन्ने अवस्थामा थिएन। प्रयत्न गर्ने हो भने नेपालको कम्युनिस्ट पार्टी अत्याधिक बहुमतसहित आउन सक्ने स्थिति छ।’

उनले कांग्रेसको पुच्छर समातेर देश विकास नहुने बताउँदै आफू नै लागेपछि कम्युनिष्ट एकता असम्भव नरहेको बताए। ‘नेपाली कांग्रेसको पुच्छर, हात र ढाड समाउने हो भने देशको विकास हुन सक्दैन। कांग्रेसले गर्न सक्दैन’ उनले भने, ‘म नै लागिसकेपछि त्यो काम किन हुँदैन? अहिलेसम्म म लागिन, त्यै भएर एकता हुन नसकेको हो। म कल्पनावादी हुँ। मैले आजको बारे के भैरहेछ बुझ्छु।’

उनले डीबी कार्कीलाई सचिव तोकेका छन्। उता सचिवालय सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन्। सचिवालयमा अर्का एकजना सदस्य पछि थपिने जनाइएको छ। गौतमको केन्द्रीय कमिटी ७४ सदस्यीय हुनेछ।

प्रकाशित: १५ असार २०७९ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App