coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले–माओवादी वाम गठबन्धनतर्फ उन्मुख!

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी आफ्नै कारणले विभाजित भएका थिए। स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि भने सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस यी दुई दलले गरे पनि विश्वासको अभाव भने खड्किएको छ।

मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन्। स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन्।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वाम गठबन्धनको विषयमा कुराकानी भएको थियो। विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको र वामपन्थीहरूलाई फुटाउन विभिन्न शक्ति सक्रिय रहेको विषयमा पनि उनीहरूले सामान्य छलफल गरेका थिए।

‘अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो। त्यसमा नेपालको लोकतान्त्रिक पद्धतिमा वाम गठबन्धनका बारेमा पनि कुराकानी हुनु स्वाभाविक हो। त्यत्रो अवसर हुँदाहुँदै कहाँ चुक्यौं भन्ने विषयमा सामान्य छलफल भयो। कमजोरीमा भूमिका आ–आफ्नै किसिमका होलान् तर कमजोरी भएकै हो भन्ने कुरा भयो,’ श्रेष्ठले भने।

आइतबार साँझ एमाले अध्यक्ष ओलीसँग माओवादीका नेता श्रेष्ठले करिब दुई घन्टा छलफल गरेका थिए। उनीहरूबीच नेपालमा विदेशी चलखेल बढेको, नेपालको राष्ट्रियता खतरामा परेको विषयमा समेत छलफल भएको थियो। ‘देश संकटमा पर्‍यो, नेपालको राष्ट्रियता खतरामा पर्‍यो, परराष्ट्र नीति कमजोर भयो भन्ने विषयमा छलफल भयो,’ नेता श्रेष्ठले भने। उनका अनुसार दुवै दलका साझा सरोकारका विषयमा पनि छलफल चलेको थियो। उनीहरूबीच प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे पनि कुराकानी भएको थियो।

साथै आगामी संघीय संसद्को निर्वाचनमा वामपन्थी दलहरूबीच गठबन्धन गरेर जान सकिने सम्भावनाबारे पनि छलफल भएको थियो। वाम गठबन्धनको पक्षधर रहेका श्रेष्ठले एमाले अध्यक्षसँग भेटघाट गर्नुलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा चर्चा गर्नु मात्र नभएर वाम आन्दोलनलाई एकताबद्ध बनाउने सवाल पनि रहेको आकलन गरिएको छ।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी आफ्नै कारणले विभाजित भएका थिए। स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि अहिले सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी दुई दलबीच विश्वासको अभाव भने खड्किएको छ। तथापि श्रेष्ठलगायत नेताहरूले विश्वासको वातावरण बनाउने र चुनावी गठबन्धन गरेर जान सक्ने विषयमा बहस र छलफल अघि सारेका छन्।

स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेस निकै उत्साहितभएपछि माओवादी तथा नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई अप्ठेरो परेको छ। स्थानीय निर्वाचनमा एमालेविरुद्ध सत्ता गठबन्धन भएको थियो तर पनि एमाले करिब ३० प्रतिशत जित निकाल्न सफल भएको छ।

हाल संसद्मा सबैभन्दा ठुलो दल रहेको एमालेबाटै वाम गठबन्धनको प्रस्ताव आउनुपर्ने भन्दै माओवादीलगायत कम्युनिस्ट घटकहरूले चासो र चिन्ता प्रकट गर्दैगर्दा ती दुई दलका नेताहरू नजिकिन थालेका छन्। ओली र श्रेष्ठबीचको भेटघाटपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी नेता वर्षमान पुनबीच पनि भेटघाट भएको थियो।

सो भेटघाटमा पनि आगामी संघीय संसद्को निर्वाचनमा वामपन्थीहरूको अवस्था के हुन्छ भन्नेबारे छलफल भएको थियो। त्यसअघि पनि एमाले र माओवादीका नेताहरूबीच अनौपचारिक भेटघाट र छलफलहरू भइरहेकै थिए। ‘जेठ ११ पछिका दिनहरूमा एमाले र मााओवादीका कुनै न कुनै नेताहरूबीच कुराकानी र छलफल भइरहेका छन्, यसले पनि नेताहरूको पछिल्लो भेटघाटलाई सहज बनाएको हो,’ एमालेका एक नेताले भने।

जेठ ११ मा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेसँगै वाम गठन्धनबारे चर्चा सुरु भएको थियो। ती दुई नेताबीचको भेटपछि एमाले–जसपा सहकार्यका साथै वाम गठबन्धनको विषयले चर्चा पाएको थियो। त्यसपछि एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताहरूबीच वाम गठबन्धनबारे छलफल हुने गरेको थियो।

पाँचदलीय गठबन्धनमा स्थानीय निर्वाचनमा कांग्रेसका नेता–कार्यकर्ताले अन्य घटकका उम्मेदवारलाई सोचेजति सहयोग नगरेको विषयमा असन्तुष्टि उत्पन्न भएको थियो। ‘एमालेले वाम गठबन्धनको प्रस्ताव नगर्ने र कांग्रेसले पनि माओवादी केन्द्र तथा नेकपा एसलाई सोचेजति सिट नदिने हो भने सबै दल एक्लाएक्लै निर्वाचनमा जाँदा सबैभन्दा बढी घाटा माओवादी र नेकपा एसलाई हुन्छ।

त्यसकारण माओवादीलाई कांग्रेस वा एमालेसँग गठबन्धन गर्नुपर्ने आवश्यकता छ,’ एमालेका एक नेताको भनाइ छ। एमाले, माओवादी र नेकपा एसका नेताहरूले स्थानीय तहमा वाम पार्टीको उपस्थिति र जनमतबारे विश्लेषण गरिरहेका बेला माओवादीका वरिष्ठ नेता श्रेष्ठले ओलीसँग भेटघाट गर्नुलाई सकारात्मक रूपमा लिइएको छ। स्थानीय तहमा कांग्रेसले विभिन्न पालिकाका गरी ३ सय २९ प्रमुख/अध्यक्ष पदमा जित निकालेको छ।

एमालेले २ सय ५ पालिकामा प्रमुख/अध्यक्ष र माओवादी केन्द्रले १ सय २१ पालिकामा प्रमुख/अध्यक्ष पद जितेका छन्। नेकपा एसले एक महानगरपालिका एक उपमहानगरपालिकासहित २० प्रमुख/अध्यक्ष पदमा जित निकालेको छ। तीनवटा कम्युनिस्ट पार्टीको जोड्ने हो भने यो संख्या ३ सय ४६ हुन आउँछ, जुन कांग्रेसले जितेको भन्दा बढी हो।

यस आधारमा पनि कम्युनिस्टहरूको बलियो जनमत रहेकाले पनि कार्यकर्ता तहबाट आफनो–आफ्नो पार्टीमा वामगठबन्धबारे दबाब बढाउन थालिएको छ। ‘स्थानीय निर्वाचनमा सबै तहमा गठबन्धन भएको होइन, गठबन्धन भएका स्थानमध्ये पनि कम्युनिस्ट उम्मेदवारलाई जिताउन कांग्रेसबाट इमानदार प्रयास भएन। यसकारण वाम गठबन्धनको आवश्यकता देखिन्छ,’ माओवादीका एक नेताले भने।

माओवादीका नेताहरूले बेलाबखत एमालेसँग मिलेर जानुपर्ने आवाज उठाएका छन्। सिन्धुपाल्चोकमा एमाले र माओवादी मिलेर निर्वाचन लडेको अवस्था छ। उता नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पनि आफ्नो गृह जिल्लामा एमालेसँग सहकार्य गरेका छन्। पछिल्लोपटक खनाल पनि वाम गठबन्धनको पक्षमा रहेका छन्।

एमालेभित्र सबैभन्दा पहिला पूर्वएमालेहरू एक हुनुपर्ने आवाज उठेको छ। त्यो भएपछि मात्रै माओवादीसँगको सहकार्यलाई अघि बढाउन सकिने धारणा रहेको छ। एमाले अध्यक्ष ओली भने माधव नेपालबाहेक सबै नेतासँग सहकार्य गर्न र उनीहरूलाई पार्टीमै फर्काउन तयार छन्। एमालेबाट विभाजित नेताहरू एमालेमा फर्कने अवस्था नरहेको बताइन्छ। 

एमालेमा अन्तर्घात

स्थानीय तहको निर्वाचनमा एमालेभित्र विगतमा भन्दा बढी अन्तर्घात भएको समीक्षा गरिएको छ। एमालेको सोमबार बसेको सचिवालय बैठकले विगतभन्दा धेरै स्थानमा पार्टीभित्र अन्तरघात भएको समीक्षा गरिएको हो।

उपमहासचिव विष्णु रिमालले तयार पारेको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदनमा अन्तर्घातबारे उल्लेख छ। उपमहासचिव रिमालले देशभरबाट अन्तर्घातको विवरण संकलन गरेर समीक्षा प्रतिवेदन तयार पारेका थिए। प्रतिवेदनमा काठमाडौं, पोखरा, बुटवल, धरानलगायत दर्जनौं स्थानमा अन्तर्घात भएको उल्लेख छ।  

एमाले केन्द्रीय सचिवालय बैठकमा आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम आवश्यक भएको भन्दै तालिम प्रस्ताव गरिएको छ। निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई असार २ र ३ गते प्रशिक्षण दिन सो प्रस्ताव गरिएको हो।

देउवा अमेरिकाति ढल्कदा सकस  

सत्ता गठबन्धनमा रहेका दलहरूबीच संघीय संसद्को आगामी निर्वाचनसम्म सहकार्य गर्ने सहमति भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकातर्फ ढल्केको र त्यसको नेपालको भूराजनीतिमा गम्भीर असर पर्ने भन्दै एमालेका नेताहरूले संसदमा समेत विरोध गर्न थालेका थिए।

यही सन्दर्भलाई लिएर माओवादीका नेताहरूले एमालेका नेताहरूसँग राष्ट्रियता संकटमा परेको र यसले भूराजनीतिमा असर परेको भन्दै छलफल थालेका छन्। राष्ट्रियताको सवालमा एमाले र माओवादीको कुरा मिलेको छ,’ माओवादीका एक नेताले भने, ‘अमेरिकी अधिकारीहरूको भ्रमण हुनु सामान्य भए पनि नेपालको भू–राजनीतिलाई असर गर्नेगरी गरिएका गतिविधिले शंका उत्पन्न गराएको छ,’ माओवादीका एक नेताले भने।

माओवादीका नेताहरूले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण, अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण, अमेरिकी अधिकारीहरूको तिब्बती शरणार्थी रहेका क्याम्पहरूको भ्रमणले शंका उत्पन्न गराएको भन्दै पार्टीभित्र छलफल हुनुपर्ने धारणा राखेका छन्। 

प्रकाशित: ३१ जेष्ठ २०७९ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App