८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्री आलेको प्रस्तावमा अध्यक्ष नेपालको रोक

पर्यटनमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको जग्गा निजी क्षेत्रलाई भाडामा दिन मन्त्रिपरिषद्मा लगेको प्रस्ताव त्यहीं अड्किएको छ। मन्त्री आलेले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलवरिपरिको जग्गा निजी क्षेत्रलाई भाडामा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए।

विभिन्न विमानस्थल क्षेत्रवरिपरि रहेको नागरिक उड्डयन प्राधिकरण स्वामित्वको जग्गा निजी क्षेत्रलाई भाडामा दिने प्रस्ताव मन्त्री आलेले मन्त्रिपरिषद्मा लगेको जानकारी पाएपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले त्यसलाई रोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अग्रह गरेको स्रोतले बतायो।

‘प्राधिकरणको जग्गा निजी क्षेत्रलाई भाडामा दिनु हुँदैन, संरक्षण गरेर राख्नुपर्छ, विपद् आइपर्दा खाली जग्गा आवश्यक पर्छ। साथै विमानस्थलको सुरक्षामा पनि यसले गम्भीर असर पार्छ,’ अध्यक्ष नेपाललाई उद्धृत गर्दै सम्बद्ध स्रोतले भन्यो, ‘अध्यक्ष नेपालकै निर्देशनमा सो प्रस्ताव मन्त्रिपरिषद्मा रोकिएको हो। यसमा पर्यटनमन्त्री आलेले पार्टी अध्यक्ष नेपाललाई कुनै जबाफ दिएका छैनन्।’ आले नेकपा एसबाट सरकारमा पर्यटनमन्त्री छन्।

प्राधिकरणको स्वामित्वमा रहेको करिब ९१ रोपनी जग्गा निजी क्षेत्रलाई दिन प्रस्ताव गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको प्राधिकरणको जग्गामा सशस्त्र प्रहरी बलको विपद् उद्धार गण बसेको छ। सो गण रहेको स्थानमा नागरिक उड्डयन प्राधिकरणले दुई वर्षअघि पाँचतारे होटल निर्माण गर्ने भन्दै सशस्त्रलाई छाड्न निर्देशन दिएको थियो। तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीले सशस्त्र प्रहरीलाई यथावत् बस्न निर्देशन दिएपछि त्यहाँ होटल बन्नबाट रोकिएको थियो।

‘पर्यटनमन्त्री आलेले सो जग्गा भाडामा दिनेगरी प्रस्ताव गरेका थिए, अध्यक्ष नेपालले त्यसलाई रोकेका छन्,’ स्रोतले भन्यो। पर्यटनमन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरेपछि उनले प्राधिकरणको स्वामित्वमा रहेको जग्गा भाडामा दिने निर्णय गरेर मन्त्रिपरिषद्मा पठाएको स्रोतको दाबी छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १ सय ५० बिघा जग्गा पनि व्यापारीलाई भाडामा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ।

त्यहाँको जग्गा अतिक्रमणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। त्यति मात्र होइन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अम्ब्रेला स्ट्रिट’ बनाउने प्रस्ताव पनि मन्त्रिपरिषद्मा पुगेको छ। महानिर्देशक अधिकारीले विराटनगर विमानस्थल आसपासको दुई बिघा जग्गा पनि निजी क्षेत्रलाई दिनेगरी तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ।

पर्यटनमन्त्री आलेले कुनै न कुनै शक्तिकेन्द्रका रूपमा परिचालित भएर विमानस्थलको सुरक्षाका लागि राखिएको जग्गा निजी क्षेत्रलाई दिन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भन्दै पार्टीभित्र विरोधसमेत भएको छ। शक्तिकेन्द्र, भूमाफिया र व्यावसायिक घरानाको आग्रह वा प्रभावमा प्राधिकरणको जग्गामा निजी क्षेत्रलाई प्रवेश गराउने उद्देश्य राखिएको भन्दै पार्टीका नेताहरूले आलेको आलोचना गरेका हुन्।

मन्त्री आलेले यस विषयमा सम्पर्क गर्दा पार्टीभित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको बताए। ‘पार्टीभित्रकै केही नेताहरू मलाई बदनाम गर्न लागिरहेका छन्, यसमा मेरो संलग्नता छैन र मैले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको पनि छैन,’ मन्त्री आलेले भने।

प्रकाशित: २५ जेष्ठ २०७९ ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App