८ वैशाख २०८१ शनिबार
राजनीति

लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव

देउवा–ठाकुर भेटवार्ता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटवार्तामा लोसपा अध्यक्ष महन्थ ठाकुरले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो।

देउवासँग भेट गर्नुअघि ठाकुरले आफ्नो पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए। लोसपाका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको बताए। ‘हामीले नेपाली कांग्रेससँग लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव सुरुदेखि नै राखेका थियौं,’ भण्डारीले भने, ‘तर शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच कुनकुन विषयमा कुराकानी भयो भन्ने मलाई थाहा छैन।’

स्थानीय तह निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन हुनुपर्ने पक्षमा लोसपा रहेको उनले बताए। ‘अहिले नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धन छ। लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुन अहिलेको गठबन्धन भत्कनुपर्छ,’ भण्डारीले भने, ‘पाँचदलीय गठबन्धन भत्क्यो भने लोकतान्त्रिक गठबन्धन सम्भव छ।’

लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन भए प्राकृतिक र टिकाउ हुने आफ्नो धारणा रहेको उनले बताए। स्रोतका अनुसार देउवा र ठाकुरबीच संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो। त्यस क्रममा लोकतान्त्रिक शक्तिबीच तालमेलको विषयमा पनि कुराकानी भएको स्रोतले बतायो।

स्थानीय तह निर्वाचनअघि नै प्रधानमन्त्री देउवा र लोसपाका नेताहरूबीच पटकपटक कुराकानी भएको थियो। स्थानीय निर्वाचनमै नेपाली कांग्रेससँग गठबन्धन गर्न लोसपाका नेताहरूले प्रयास गरेका थिए। तर कांग्रेस सत्तारूढ दलसँग नै गठबन्धन गरी चुनावमा गयो। लोसपाले कुनै दलसँग गठबन्धन नगरेका कारण स्थानीय तह निर्वाचनमा अपेक्षाकृत जित निकाल्न नसकेको सो दलका नेताहरूको बुझाइ छ।

‘यसैकारण पनि संसदीय निर्वाचनमा कांग्रेससँग तालमेल गर्न लोसपाका नेताहरूले चासो देखाएका छन्,’ स्रोतले बतायो। ठाकुरले देउवासँग भेट्नुअघि शनिबार नै लोसपा कार्यकारिणी समितको बैठक बसेको थियो। बैठकमै पार्टी अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई भेट्न जान लागेको सुनाएका थिए। लोसपाका मागप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ठाकुररले प्रधानमन्त्री देउवालाई भेटेको कार्यकारिणी समितिका सदस्य केशव झाले बताए।

लोसपाको आइतबार बस्ने बैठकमा भेटबारे अध्यक्ष ठाकुरले बिफ्रिङ गर्ने उनले बताए। शनिबारको बैठकमा स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत जित निकाल्न नसकेको विषयमा समीक्षा गरिएको थियो। बैठकमा पार्टी संगठन सदृढीकरणको विषयमा पनि छलफल भएको लोसपाका नेताले बताएका छन्। स्थानीय तह निर्वाचनमा लोसपाले १६ पालिका प्रमुख जितेको छ।

जसपा–लोसपा सम्बन्ध सुधार प्रयास

आगामी संसदीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र लोसपाबीच गठबन्धन या तालमेल गर्ने विषयमा दुवै पार्टीका दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल प्रयास गरे पनि यसमा दुवै पार्टीका पहिलो तहका नेताहरूले भने चासो देखाएका छैनन्। दुवै पार्टीकमा पहिलो तहका नेताहरूले आपसमा गठबन्धन या तालमेल हुने सम्भावना नभएको बताएका छन्।

लोसपा कार्यकारिणी समितिको शनिबारको बैठकमा पार्टी अध्यक्ष ठाकुरले संसदीय निर्वाचनमा जसपासँग तालमेल या गठबन्धन गर्ने विषयमा औपचारिक र अनौपचारिक छलफल नभएको प्रस्ट पारेको कार्यकारिणी सदस्य केशव झाले बताए। ‘अध्यक्षले जसपासँग औपचारिक/अनौपचारिक कुराकानी र संवाद भएको छैन भनी प्रस्ट पार्नुभएको छैन,’ झाले भने, ‘पछि के हुन्छ थाहा छैन तर तत्काल जसपासँग कुनै किसिमको संवाद भएको छैन। अहिले पार्टी एकता या चुनावी तालमेल हुने सम्भावना पनि छैन।'

’जसपा कार्यकारिणी समितिका सदस्य मनीष सुमनले लोसपाका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकारमा गएको विषयमा सार्वजनिक रूपमा आत्मालोचना नगरेसम्म तालमेल त परै जाओस्, कुराकानी पनि नहुने बताए। जसपाका अर्का कार्यकारिणी सदस्य मिर्गेन्द्रसिंह यादवले पनि लोसपासँग तालमेल हुने सम्भावना नरहेको बताए। तर लोसपा कार्यकारिणी समितिका अर्का सदस्य सुरेन्द्र झाले भने राजनीतिा जे पनि हुन सक्ने बताउँदै भने, ‘अहिले नै जसपा र लोसपाबीच तालमेल हुन सक्दैन भनी ठोकुवा नगरौं। राजनीतिमा जे पनि हुन सक्छ ।’

जसपा र लोसपाको राजनीतिक अजेन्डा उस्तैउस्तै भएकाले चुनावी तालमेल हुन सक्ने उनले बताए। स्थानीय तह निर्वाचनमा जसपा र लोसपा दुवैले अपेक्षाअनुसार जित निकाल्न नसकेको निष्कर्ष निकालेका छन्। जसपा र लोसपाबीच तालमेल या गठबन्धन भएको भए ७० देखि ८० सिटसम्म आउने उनीहरूको निष्कर्ष छ।

‘स्थानीय तह निर्वाचनमा लोसपाले २ दशमलव १ प्रतिशत मात्र भोट ल्याएको छ। यही भोट संसदीय निर्वाचनमा ल्यायो भने लोसपा राष्ट्रिय पार्टी हुन सक्दैन। त्यसैले तालमेल गर्न हामीलाई भन्दा उहाँहरूलाई बढी हतार छ,’ जसपा नेता सुमनले भने।

प्रकाशित: २२ जेष्ठ २०७९ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App