७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचनमा दलहरु भोट माग्न गए, मत हाल्न सिकाएनन्

महानगर प्रमुखमा झन्डै २१ हजार र उपप्रमुखमा २० हजार मत बदर

स्थानीय तह निर्वाचन सकियो, कास्कीको अन्तिम परिणाम पनि आइसक्यो। यो पटकको निर्वाचनले एउटा सन्देश दिलायो, त्यो हो–मतदाता शिक्षा नहुँदा यो पटक ठुलो संख्यामा मत बदर भएको छ। राजनीतिक दल वा निर्वाचन आयोग कसैले पनि यो पटक मतदाता शिक्षामा चाँसो दिएनन। त्यसको असर ठुलो संख्यामा मत बदर हुन पुगेको छ।

मतदाता शिक्षाको अभाव यतिसम्म खड्कियो की निर्वाचनमा खटिएका मतदान अधिकृतका अनुसार कतिपय उम्मेदवारलाई नै भोट कहाँकहाँ हाल्ने भन्ने थाहा थिएन। जिल्ला निर्वाचन कार्यालय कास्कीले दिएको तथ्यांक अनुसार पोखरा महानगरपालिका खुल्ला वडा सदस्य उम्मेदवार पदमा सबैभन्दा बढी मत बदर भएको छ। सदस्य पदमा ५० हजार ३ सय २१ मत बदर छ।

पोखरा महानगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुईखुल्ला सदस्य  उम्मेदवारको बदर मत जोड्दा १ लाख ३४ हजार ४ सय ९९ पुग्छ। अनुपातमा हेर्दा १९ हजार २ सय १४ मत बदर भएको देखिन्छ। पोखरामा २ लाख ७ हजार ७ सय २१ मतदाता रहेकोमा १ लाख ४३ हजार १ सय १० मत खसेको थियो। तथ्यांक हेर्दा सबैभन्दा बढी खुल्ला सदस्य पदमा बदर भएको छ।

दलित महिला सदस्यमा २२ हजार ६ सय ३४ मत बदर हुँदा महिला सदस्यमा भने केही कम छ। महिला सदस्यमा २१ हजार ९१ मत बदर भएको तथ्यांकले देखाउँछ। महानगर प्रमुखमा २० हजार ७ सय ८१ मत बदर भएको छ।उपप्रमुख पदमा भने १९ हजार ६ सय ७२ मत बदर हुदाँ सबैभन्दा कम वडाध्यक्षमा भएको छ। वडाध्यक्षका उम्मेदवारमा १० हजार ९ सय ३१ मत बदर भएको निर्वाचन आयोगको तथ्यांकले प्रष्ट्याएको छ।  

‘बदरमध्येको करिब ७० प्रतिशत मत गठबन्धन दलकै कारण बदर भएको छ,’ निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपाने भने, ‘३० प्रतिशत निर्वाचन शिक्षा नहुँदा बदर हुन पुग्यो।’ उनले अघिल्लो चुनावमा मतदाता शिक्षा दिइएकोले बदर मत संख्या न्युन थियो। तर अहिले राजनीतिक दलबीचको गठबन्धन एकातिर र अर्कोतिर मतदाता शिक्षा नहँुदा बढी मत बदर भएको उनको भनाई छ। दलहरु मत माग्न मतदाताको घरसम्म पुगेपनि मत दिने तरिका नसकिएको आयोगको भनाई छ ।  

पोखरा महानगरकै वडा नं १५ मा दलित महिला सदस्यमा १५ सय ४१ मत बदर हँुदा सदस्यमा २ हजार ८ सय ६३ मत बदर भएको छ। पोखरा–१६ मा दलित महिला सदस्यमा १ हजार ३ सय २० मत बदर देखिँदा सदस्य पदमा ३ हजार ८ सय ११ मत बदर भएको छ। वडा नं १७ मा पनि सदस्य पदमा ३ हजार १ सय ९४ मत बदर भएको छ। त्यस्तै पोखरा–२१ मा पनि दलित महिला सदस्यमा १ हजार ३ सय ३९ मत र सदस्यमा २ हजार ८६ मत बदर भएको देखिन्छ।  

सूचना अधिकृत न्यौपानेले उठ्दै नउठेको उम्मेदवारलाई पनि भोट खसेको बताए। ‘दुईवटा चिह्नमा छाप(खुल्ला सदस्य) लगाउन सर्वसाधारणले मेसो पाएनन्,’ उनले भने, ‘उम्मेदवारीको पाटोमा पनि भेउ नपाउँदा समस्या भयो।’ राजनीतिक दलहरुबीच चुनावी तालमेल गर्न बनेको गठबन्धनले पनि सर्वसाधारणलाई मत हाल्न सिकाएन । मत हाल्न नसिकाउँदा धेरै मत बदर हुने आँकलन निर्वाचन अघि नै गरिएको थियो । त्यसलाई अहिले पुष्टि गरेको न्यौपानेले बताए।  

पोखरा महानगर प्रमुखमा निर्वाचित धनराज आचार्यले पनि इतिहासकै सबैभन्दा बढी मत बदर भएको बताए। उनले निर्वाचन आयोगप्रति लक्षित गर्दै भने, ‘मतदाता शिक्षा नदिदाँ यति धेरै मत बदर भयो। निर्वाचन आयोगको कार्यक्षमता र दक्षतामाथि प्रश्न चिन्ह उठ्यो।’ उनले पाँचदलीय गठबन्धनकै कारण चुनाव चिह्न ‘जिगज्याक’ भएकोले पनि समस्या भएको स्पष्ट पारे। ‘हो हामीले पनि गठबन्धनपछि सबै मतदातालाई भोट हाल्न सिकाउन भ्याएनौ । हाम्रो पनि कमजोरी रह्यो,’ उनको भनाई थियो।  

कास्कीको चारवटा गाँउपालिकामा पनि मत बदर उत्तिकै छ। अन्नपूर्ण गाँउपालिकाको अध्यक्षमा ८९१ मत र उपाध्यक्षमा ९९२ मत बदर भएको तथ्यांकले देखाउँछ। माछापुच्छ«े गाँउपालिकामा अध्यक्षको उम्मेदवारमा १४ सय १३ मत बदर हुँदा उपाध्यक्षमा भने कम १ हजार ८२ मत बदर भएको छ। मादी गाँउपालिकाको अध्यक्षमा १ हजार १ सय ९० मत बदर हुँदा उपाध्यक्षमा भने २ हजार १ सय ५६ मत बदर भएको छ । रुपा गाँउपालिकामा अध्यक्षमा ४ सय १७ र उपाध्यक्षमा ४ सय ८३ मत बदर भएको छ।  

बदर भएको जति मत यदी सदर हुने अवस्था रहन्थ्यो भने त्यसले निर्वाचनको परिणामलाई समेत असर पर्न सक्ने दलहरुको ठम्याई छ। दलहरुले निर्वाचन आयोगलाई र आयोगले दलहरुलाई मतदाता शिक्षामा असहयोग गरेको उनीहरुको एकअर्काप्रति आरोप छ। एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले दलहरुले आफ्नो तरिकाले मतदातालाई मत हाल्न सिकाए पनि निर्वाचन आयोगले मतदाता शिक्षा नदिदाँ बढी मत बदर भएको बताए। 

‘दलहरुले आफनो तर्फबाट शिक्षा दिए। भोट हाल्न चिट समेत बनाएर सिकाए। तर आयोगले शिक्षा दिएन्,’ उनले भने, ‘दलले पनि कतिठाँउमा भोट हाल्ने तरिका सिकाउन भ्याए भ्याएनन्। तर आयोगले दिनुपर्ने मतदाता शिक्षा दिएन्।’उनका अनुसार आयोगले विगतमा टोलटोलमा टोली खटाएर मतदातालाई भोट हाल्न सिकाउँथ्यो। तर अहिले आयोगले शिक्षा दिन सकेन।  

काँग्रेस कास्कीका सहसचिव नविन सिग्देलले निर्वाचन आयोगको मतदाता शिक्षा नपुगेको दावी गरे। ‘निर्वाचन आयोगले मतदाता शिक्षा दिएन। हामीले पनि मतदतालाई आवश्यक परेजति सिकाउन सकेनौं। गठबन्धनपछि समय पनि थोरै भयो त्यसले पनि बदर संख्या बढ्यो।’ उनले भने, ‘मतदाता आफैं पनि जागरुक बन्न सकेनन्।’ आगामि दिनमा पनि यस्तै अवस्था रहने हो भने ठुलो आकारमा मत बदर हुने उनले बताए। ‘ठुलो संख्यामा मत बदर हुँदा त्यसको असर निर्वाचन परिणामलाई पनि पर्र्न सक्छ,’ उनले भने। 

प्रकाशित: १२ जेष्ठ २०७९ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App