coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भोटेकोसीमा फर्कायो कांग्रेसले साख

स्थानीय तह चुनावमार्फत आफ्नो आधार क्षेत्र भोटेकोसी गाउँपालिकामा जित निकालेर नेपाली कांग्रेसले गुमेको साख फर्काएको छ । यहाँको गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसले जितेको छ।  

अध्यक्षमा पासाङनुर्बु शेर्पा र उपाध्यक्षमा दिछेन शेर्पा निर्वाचित भएका छन्। एमाले र माओवादीसँगको त्रीपक्षीय प्रतिस्पर्धाबीच उनीहरु बिजयी भएका हुन्। नवनिर्वाचित अध्यक्ष पासाङनुर्बुले  २ हजार ६ सय ५ मत पाए। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार अमृतकुमार खड्काले २ हजार ४८  मत मात्र ल्याए। त्यस्तै उपाध्यक्ष निर्वाचित दिछेनले २ हजार ७ सय १२ मत ल्याइन्। उनकी मुख्य प्रतिस्पर्धी एमाले उम्मेदवार सुन्तलीमाया श्रेष्ठले २ हजार ५ सय ५३ भोट पाइन्।  

माओवादी उम्मेदवार राजकुमार पौडेल र उपाध्यक्ष उम्मेदवार आशा गुरुङ शेर्पा तेस्रो भए। पौडेलले १ हजार ९ सय १८ र शेर्पाले १ हजार ६ सय १२ मत पाए। पौडेल निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। व्यवसायिक पृष्ठभूमिका पौडेलले २०७४ को स्थानीय चुनावमा माओवादीबाट अध्यक्ष निर्वाचित भएका थिए। कांग्रेसको आधार इलाका भत्काएर उनी त्यतिबेला चर्चित बनेका थिए। यो पटक कांग्रेस आधार इलाकाबाट गुमेको साख फर्काउन सफल भयो।  

नवनिर्वाचित अध्यक्ष पासाङनोर्बु व्यवसायी हुन्। पछिल्लो समय उनले समाजसेवीको पनि छबि बनाएका थिए। व्यवसायसँगै तरुण राजनीतिमा आवद्ध थिए। उनी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्। उपाध्यक्ष निर्वाचित दिछेन राजनीतिमा नयाँ अनुहार हुन्। निकटतम् प्रतिस्पर्धी खड्का कांग्रेस पृष्ठभूमिका पूराना नेता हुन्। पार्टीभित्र पेलान सहन नसकेपछि उनी २०७० को प्रतिनिधिसभा निर्वाचनअघि एमाले प्रवेश गरेका थिए। तत्कालीन तातोपानी गाविसका पूर्वअध्यक्ष उनी योपटकको चुनावी प्रतिस्पर्धामा भोटेकासीका उम्मेदवारमध्ये एक मात्र राजनीतिक व्यक्तित्व थिए।  

प्रकाशित: २ जेष्ठ २०७९ १७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App