८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेले जिते स्थानीय तह भंग हुन सक्छः देउवा

धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले नजितेर नेकपा एमालेले जितेमा स्थानीय तह समेत भंग गर्न सक्ने बताएका छन्।

सोमबार धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान विपरीत संसद भंग गरेको र प्रदेश सरकार पनि भंग गर्न खोजेको आरोप लगाए। ‘ओलीको पार्टीलाई जिताएमा संसद भंग गर्ने हुन्,’ उनले भने, ‘स्थानीय सरकारलाई समेत उनले भंग गरिदिन सक्छन्।’

संसदमा विरोधको सामना गर्न नसकेर ओलीले संसदै भंग गरेको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले भने,‘दुई तिहाई बहुमत आउँदा पनि संसद भंग गरिहाल्ने, संसद फिर्ता ल्याउँदा पनि चल्न नदिने यसकारण एमाले पार्टीलाई जिताएर के गर्ने?, फेरी संसद भंग गर्ने?’

ओलीजीको पार्टी ल्याउनु भनेको संसद भंग गर्नु रहेको बताउँदै उनले भने,‘एमालेले जितेको खण्डमा ओलीजीले त्यही गर्ने हुन्।’ गठबन्धनले जितेमा आफूहरु संसद पनि भंग नगर्ने बताउँदै उनले भने, ‘एमालेले जितेमा स्थानीय तहको सरकारलाई पनि भंग गरिदिन सक्छन्।’

आफ्नो पार्टीबाट गठबन्धनविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न आह्वान गरे। उनले भने,‘यदि बागी उम्मेदवारका कारण गठबन्धनका उम्मेदवार हारेमा त्यस्तालाई कुनै पनि हालतमा माफी दिइने छैन।’ संघीय सरकारलाई बलियो बनाउन पनि स्थानीय तहमा गठबन्धनलाई जिताउन आवश्यक रहेको उनले बताए।

सुदूरपश्चिम आफू जन्मेको स्थान भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासका लागि आफूले प्राथमिकता दिने बताए। उनले भने, ‘खुटिया–दिपायल–बझाङ–तिब्बत र कर्णाली नदीको किनारै किनार अछाम जोड्ने सडकलाई प्राथमिकता दिने छौँ।’ आफूहरुले जितेमा सुदूरपश्चिम प्रदेशलाई सबैभन्दा बढी बजेट पनि छुट्याउने उनले बताए।

धनगढी आफूले पनि चुनाव जितेको क्षेत्र भएको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातासामू आग्रह गरे। धनगढी उपमहानगरपालिका  क्षेत्र देउवा पत्नी आरजु राणा देउवाको संघीय निर्वाचन क्षेत्र हो।

सोमबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी सभा सम्बोधन गरे। चुनावी सभालाई सम्बोधन गर्दै दाहालले एकथरी तत्वले गठबन्धनलाई विवादित गर्न लागिपरेको आरोप लगाए।

उनले भने, ‘प्रधानमन्त्री देउवाजी, माधवजी र मेराबीच असमझदारी बताउन र गठबन्धनलाई विवादित गर्न एकथरी तत्व लागिपरेका छन्।’ विगतमा पनि गठबन्धनले देश दुर्घटनाबाट बचाएको र गठबन्धनको जितले मात्र देश दुर्घटनाबाट बचाउन सकिने उनले बताए। स्थानीय निर्वाचनमा मात्रै नभई गठबन्धनलाई प्रदेश, संघसँगै दसकौंसम्म अगाडि बढाउने उनले बताए।

यस्तै सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकामा आयोजित नेकपा माओवादी (केन्द्र)को चुनावी सभामा गठबन्धन क्लियर नभएको भन्दै आफ्ना उम्मेदवारका लागि मत मागेका थिए। तर, धनगढीमा भने उनले जसरी पनि गठबन्धन सफल बनाउन मतदातालाई गठबन्धनका आधिकारिक उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए।

कैलारी गाउँपालिकामा नेकपा माओवादीको भागमा अध्यक्ष र नेपाली कांग्रेसको भागमा उपाध्यक्ष आधिकारिक उम्मेदवारका रुपमा परेका थिए। तर, उपाध्यक्षमा माओवादी केन्द्रकै लक्ष्मी सत्गौवाले बागीका रुपमा उम्मेदवारी दिएकी थिइन्। दाहालले गठबन्धन क्लियर नभएको भन्दै बागीको रुपमा उठेकी गाउँपालिका उपाध्यक्ष सत्गौवालाई मतसमेत मागे।

‘हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवालगायतको टिमलाई अत्याधिक बहुमतले विजयी गराउन विशेष अपिल गर्न चाहन्छु,’ दाहालले भने, ‘यो पालिकाको विकासका निम्ति उहाँहरुको टिमका साथसाथै म प्रचण्ड पनि तपाईहरुको साथमा रहने विश्वास दिलाउन चाहन्छु।’

धनगढीको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्डसँगै प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बेलुकी धनगढी आइपुगेका थिए। प्रधानमन्त्री देउवा आजै डडेल्धुरा गएका छन्। उनको मंगलबार डडेल्धुरामा चुनावी सभाको कार्यक्रम रहेको छ।

प्रकाशित: २६ वैशाख २०७९ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App