१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

लहानमा प्रतिष्ठाको लडाइँः गठबन्धन भर्सेस एमाले

महेश चाैधरी र मुनि साह

मधेस आन्दोलनको उद्गमस्थल लहान नगरपालिकाको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) तथा नेकपा माओवादी केन्द्रको गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरका उम्मेदवार मुनि साह सुडीले ११ हजार ३ सय ७ मत ल्याएर विजयी भएका थिए। कांग्रेसबाट मेयर उम्मेदवार अचमितलाल चौधरी ९ हजार १ सय ३८ मत ल्याएर दोस्रो भएका थिए। जसपाबाट मेयर उम्मेदवार वैद्यनाथ साहले ५ हजार ७ सय राप्रपा नेपालबाट मेयर उम्मेदवार लगनलाल चौधरीले ४ हजार माओवादी केन्द्रबाट मेयर उम्मेदवार खडगनारायण चौधरीले २ हजार ८ सय मत ल्याएका थिए।

पाँच वर्षअघिको चुनावी गणितअनुसार कांग्रेस नेतृत्वको गठबन्धनको मतभार बढी छ। अहिले एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ। एमालेका मुनि साहसँग त्यो बेला राप्रपाका उम्मेदवार बनेका लगनलाल चौधरी साथमा छन्। दुवैको मत जोड्दा करिब १७ हजार पुग्छ। त्योबेलाको प्राप्त मत जोड्दा गठबन्धनको मत २० हजारभन्दा बढी हुन्छ। यो हिसाबले गठबन्धनको मतभार बढी देखिन्छ।

तीनपटक लहानको मेयरमा सहज जित हात पार्न सफल मुनि साहका लागि यसपटकको चुनावी प्रतिस्पर्धा सकसपूर्ण बनेको छ। गठबन्धनका कारण कांग्रेसबाट मेयरका उम्मेदवार महेश चौधरीको वजन भारी बन्न पुगेको छ।

कोरोना कहरका बेला गरिब र अभावपीडितका घरघर पुगेर खाद्यान्न सहयोग गरेका महेश चौधरी गरिबका नायकको बन्न सफल भएका थिए। दलित र गरिबको मत निर्णायक रहेको यस नगरमा उनले दुःखका बेला जितेको गरिबको मन चुनावमा मतका रूपमा पोखिने बुद्धिजीवी राकेश झा बताउँछन्। गरिबले दुःखको दिन कहिल्यै विर्सिदैन लहानका बुद्धिजीवी विजय गुप्ता भन्छन, ‘गठबन्धन दल र परिवर्तण चाहनेको मत गठबन्धका उम्मेदवारको पक्षमा पोखिन्छ।’

यता निवर्तमान मेयर एवं नेकपा एमालेबाट मेयर उम्मेदवार मुनि साह सुडीले चुनाव बेलाका ९० प्रतिशत प्रतिबद्धता आफूले पूरा गरेर देखाइदिएको दाबी गर्छन्। खुट्टी खोला सिँचाइ नहर, घन्टाघर, चक्रपथ, भानु वाचनालयको सुविधासम्पन्न भवनलगायतका निर्माण कामलाई उनले प्रमुख रूपमा गन्ती गराए।

अहिलेसम्म हेर्दा प्रतिस्पर्धा दुई दल गठबन्धन र एमालेबीच नै हुने देखिन्छ। अन्य उम्मेदवार दुई दलभन्दा केही पछि रहेको देखिन्छ। यद्यपि, यो प्रतिस्पर्धामा तेस्रो नम्बरको दल छिर्न सक्ने गुन्जाइस अझै सम्भव छ।

निर्वाचन परिणामलाई जातीय मतदाताले प्रभावित गर्ने आकलनसहित प्रमूख दलले जातीय समीकरण मिलाएर उम्मेदवार खडा गरेका छन्। सामूहिक जातीय हिसाबले साह र एकल जातीय हिसाबले थारूको बाहुल्य रहेको लहान नगरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रतिस्पर्धी दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन्।

मुनि साहले २०५४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरी र राप्रपाका उम्मेदवार लगनलाल चौधरीसँग चुनाव जितेका थिए। त्यो बेला दोस्रो नम्बरमा राप्रपाका लगनलाल र तेस्रोमा कांग्रेस उम्मेदवार रामसुन्दर थिए। अहिले कांग्रेसको उम्मेदवार फरक छ। तर एमालेको उम्मेदवार उही मुनि साह।

कांग्रेसका मेयर उम्मेदवार महेश चौधरी पहिलोपटक स्थानीय चुनावमा उम्मेदवार बनेका छन्। अन्य दलको भन्दा कांग्रेसको संगठन पनि मजबुत छ। तर वडाहरूमा उम्मेदवारीको विषयमा मनमुटाव छ। ‘संगठनात्मक मतबाहेकको मत जसले आफ्नो पक्षमा पार्न सक्यो उही उम्मेदवार जित्ने हो,’ कांग्रेसका एक कार्यकर्ताले भने, ‘पार्टी कार्यकर्तामाझ हाम्रो उम्मेदवार परिचित र आम मतदातामाझ उहाँको परिचय मजबुत छ।’

कांग्रेसभित्रको आन्तरिक विवाद (देउवा पौडेल लाइन संघर्ष) का कारण यहाँ टिकट विवाद भएको थियो। अहिले यो विवाद सुल्झिसकेको कांग्रेस नेताहरू बताउँछन्। सबै सँगै घरदैलोमा गइरहेका छन्। जातीय आधारले लहान नगरपालिकामा पचपनिया (तेली, सुडी, कलवार, गुप्ता र कलाल) को मतदातामा बलियो होल्ड छ। दोस्रोमा चौधरी (थारू), तेस्रोमा महतो (कोईरी) र चौथोमा यादव मतदाता छन्। यहाँ मुस्लिम र दलित मदतादा निर्णयक अवस्थामा छन् ।

यहाँको राजनीतिमा डेउढी भरसेस बजारको फ्याक्टरले महत्वपूर्ण भूमिका खेल्दै आएको इतिहास छ। लहानका एकजना पुराना राजनीतिकर्मीले भने, ‘स्थानीय, संसदीय निर्वाचनसम्म यहाँ डेउढी (मटिअर्वा नियन्त्रित) भरसेस एन्टिडेउढी (बजार नियन्त्रित) छ ।’ यहाँ क्याम्पसको चुनावमा पनि यही प्रवृत्ति देखिएको ती राजनीतिकर्मीले बताए। यसपालि गठबन्धनका उम्मेदवार महेश चौधरी डेउढी बाहिरका हुन्।

निर्वाचन परिणामलाई जातीय मतदाताले प्रभावित गर्ने आकलनसहित प्रमुख दलले जातीय समीकरण मिलाएर उम्मेदवार खडा गरेका छन्। सामूहिक जातीय हिसाबले साह र एकल जातीय हिसाबले थारूको बाहुल्य रहेको लहान नगरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रमुख दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन्। प्रमुख राजनीतिक दलमध्येबाट चौधरी र साहबाहेक अन्य समुदायबाट उम्मेदवारी परेको छैन। यहाँ चौधरीको मत विभाजित हुँदा अर्को चौधरी उम्मेदवारलाई र साह समुदायको मत विभाजित हुँदा अर्को साह उम्मेदवारले फाइदा उठाउन सक्ने सम्भावना देखिन्छ।

स्थानीय तहको पुनःसंचरनामा पछिल्लो समयमा केही ग्रामीण भेग थपिएका छन्। ग्रामीण भेगका मतदाता सहर बजारका भन्दा फरक हुने भएकाले त्यसले पनि चुनावी परिणामलाई प्रभावित गर्न सक्छ। राजमार्गछेउका वडामा कांग्रेस र एमाले मजबुत रहेको र थपिएका वडामा पनि यही दुई पार्टीको संगठन राम्रो रहेको सम्बद्ध पक्षको जिकिर छ। ‘यहाँ एमाले हामीसँग प्रतिस्पर्धामा छ। त्यसले कांग्रेसलाई अझ सहज बनाएको छ,’ कांग्रेस उम्मेदवार मेहेश चौधरीले भने, ‘हाम्रो निष्ठा र पार्टीहरूको संगठनले हाम्रो गठबन्धन टिमलाई जित दिलाउनेछ।’

एमालेका उम्मेदवार मुनि साहले आफ्नो जितले यो नगरको विकास उत्साहजनक रूपमा हुने दाबी गरे। लहानको समाज विभिन्न आन्दोलनका कारण भावनात्मक रूपमा क्षतविक्षत भइसकेको छ। ‘ध्वस्त भइसकेको संरचना, गुमेको सौन्दर्य अवरुद्ध विकासलाई गती दिने विराट अठोटलाई नगरवासीको सहयोगले अन्तिम रूप दिने लालसा छ,’ उनले भने, ‘विकासप्रेमी भनेर चिन्ने जनताले धोका दिँदैन ।’ संघीय समाजवादी फोरम नेपालका वडा ७ अध्यक्ष उम्मेदवार राकेश गुप्ता रोशनले चुनावी प्रतिस्पर्धा कांग्रेससँग भए पनि जित आफ्नो हुने दाबी गरे। ‘मधेसी जनताका हकअधिकार र पहिचानका लागि हाम्रो दलको पक्षमा सचेत जनलहर छ,’ उनले भने, ‘चुनाव हामी जित्छौं ।’

राप्रपाका मेयर उम्मेदवार लगनलाल चौधरीले लहानमा आफ्नो जित सुनिश्चित भएको दाबी गरे। कांग्रेसभन्दा अगाडि आफू रहेको दाबी उनले गरे। ‘लहानलाई लहान भनेर चिनाउने अवस्था मैले बनाएको हुँ। त्यसको उधारो जनताले मलाई मतदानमार्फत फिर्ता गर्नेछन्,’ उनले भने। यहाँको विकास, पर्यटन प्रवर्धन, शिक्षा र रोजगारलाई मुख्य प्राथमिकतामा राखेर चुनावी प्रचारमा जुटेको उनले सुनाए। ‘कृषि र सीपमूलक शिक्षा त यहाँको मुटु नै भइहाल्यो,’ उनले थपे ।

यहाँको निर्णायक मतदातामध्येको एक हो ‘युवा मत’। उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न पनि उम्मेदवारहरू कसरत तीव्र बनाएका छन्। मधेस आन्दोलनको उद्गमस्थल लहान। यहाँ भएका तीनपटकको आन्दोलन। त्यसपछि विकसित राजनीतिक घटनाक्रमले युवालाई मधेस केन्द्रित दलतर्फ आकर्षित गरेको मधेसी दलका उम्मेदवारहरूको विश्लेषण छ। यहाँका परम्परागत मतदाताको मत राप्रपा, कांग्रेस र एमालेको पक्षमा बढी रहेको विश्लेषण गर्दै युवाको मतमा आफ्नो एकलौटी होल्ड रहेको उनीहरूको दाबी छ। नेतृत्व चयनका लागि निर्णायक युवा मतमाथि कब्जा गर्न सबै उम्मेदवार शक्ति खर्चिंदै छन्।

मधेस आन्दोलनको उद्गमस्थलमा एमाले आफ्नो जितको झन्डा फहराउने कसरतमा छ। कांग्रेस आफ्नो गुमेको साख फर्काउने कसरत गर्दैछन्। मधेस केन्द्रित दल ‘अखडा’ मा आफ्नो लाज छोप्न शक्ति खर्चिरहेका छन्।

प्रकाशित: १९ वैशाख २०७९ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App