६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

कोशी एलाइट कपमा मोरङको विजयी सुरुवात

विराटनगरमा बुधबारदेखि सुरु भएको ‘प्रथम कोशी एलाइट कप’ लिग क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मोरङले विजयी सुरुवात गरेको छ । मोरङले सुनसरीलाई १३३ रनले पराजित गर्दै २ अंक जोडेको छ ।  

टस जितेर पहिलो ब्याटिङ थालेको मोरङले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २२० रनको चुनौती प्रस्तुत गरेको थियो । सकिब हकले ४२ रन, दीपेश कँडेलले ४१ रन, कृतिक कामतले ३७ रन, अटल साहले २६ रन, विशाल ढकालले २३ रनको योगदान गरे । सुनसरीका समिर तिम्सिनाले ३ विकेट, कविराज खत्रीले २ विकेट, रिजन पाण्डे र गौरव कटवालले समान १–१ विकेट लिए ।  

सुनसरीले पाएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा ३४ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा ८७ रनमै समेटियो । अफान ताहिरले २२ रन, कविराज खत्रीले १४ रन, आकाश सरिफले १३ रन र रितेश रायले १० रन बनाए । बलिङमा मोरङका दीपेश कँडेलले ५, फिर्दोस अन्सारी र प्रेम कामतले २–२, प्रतिक पोखरेलले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच मोरङका दीपेश कँडेल भए ।  

कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा मोरङ, सुनसरी र झापा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत माघ १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ । माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने आयोजकले जनाएको छ । 

प्रकाशित: १४ माघ २०८२ १७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App