१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरा महानगरमा एमाले उम्मेदवारको घोषणाः यो मेरो अन्तिम चुनाव

नेकपा एमाले कास्कीले आफनो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै। तस्बिर उमेश पुन/नागरिक

पोखरा महानगरपालिकामा भ्रष्टाचार व्यापक रहेको आम गुनासो छ। कर्मचारीले भ्रष्टाचार गरेर निलम्बनमा परेको घटनाले महानगर भित्र भ्रष्टचार मौलाएको पुष्टि गरेको छ। महानगरमा हुने गरेको भ्रष्टाचारलाई नजिकदेखि नियाल्दै आएका पूर्व प्रमुख एवं नेकपा एमालेका महानगर प्रमुखका उम्मेदवार कृष्ण थापाले आफनो प्रतिबद्धता पत्रमा भ्रष्टाचार डे वानदेखि नै अन्त्य गर्ने प्रतिबद्धता जनाए।  

शनिबार पोखराको सभागृह हलमा उम्मेदवार परिचय तथा कार्यकर्ता भेलामा बोल्दै महानगर प्रमुखका उम्मेदवार थापाले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने औंल्याउँदै आफु निर्वाचित भएर आएपछि डे वानदेखि नै अन्त्य गर्ने अठोटसहितको प्रतिबद्धता गरे। ‘भ्रष्टाचारमुक्त सार्वजनिक सेवा तथा सुशासनका निम्ति जनताप्रति जिम्मेवार महानगरीय प्रशासन बनाउन भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति अबलम्बन गरिने छ,’ प्रमुखका प्रत्यासी थापाले भने, ‘मेरो यो अन्तिम चुनाव हो। अब लड्दिन। त्यसैले भ्रष्टचार अन्त्य गर्ने प्रतिबद्धता गर्छु।’  

आफनो प्रतिबद्धता घोषणा गरेको एमालेले पाँच वर्षअघिको स्मार्ट सिटीलाई समेत समेटेको छैन। यत्रतत्र छरिएको विजुलीका पोलका तारहरु काट्ने अभियान थालेको थियो। सौन्दर्यकरण गर्ने भन्दै बर्तमान प्रमुख मानबहादुर जिसी आफैं विजुलीको पोलमा चढेर तार काट्ने अभियान शुरु गरेका थिए। तर त्यो काम बीचैमा रोकियो। रोकिएको कामलाई महानगर प्रमुखका उम्मेदवार थापाले ‘विजुलीका तारहरुलाई अण्डरग्राउण्ड गर्ने गरी शुरु गरिएको कामलाई द्रुतगतिमा अगाडि बढाईने’ बताए।  

पोखरा महानगरभित्र बढ्दै गएको सवारी प्रदुषण गर्ने सन्दर्भमा विद्युतीय सवारी साधन सञ्चालनमा विशेष जोड दिने उल्लेख छ। प्रतिबद्धता पत्रमा विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेसनको व्यवस्था गरिने लेखिएको छ। पोखरा–९ स्थित पुरानो बसपार्कलाई व्यवस्थित गर्ने विषयमा उठान नगरिएपनि एमालेले पोखरा–३२ लामेआहालमा सूचना प्रविधि मैत्री अत्याधुनिक बस टर्मिनलको निर्माण गर्न स्थानीय जनताको सहभागिता र प्रदेशसँग आवश्यक समन्वय गरिने जनाएको छ। सडक सञ्जालसँगै केरुङ, काठमाडौं हुदैं पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन गर्न संघीय सरकारसँग सहकार्य गरिने उल्लेख गरिएको छ।  

चक्रपथ निर्माण कार्यलाई शुरु गर्दै लिङ रोड मार्फत पोखरा महानगरका ग्रामीण बस्तीलाई जोड्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। पोखरा उपत्यका वरिपरिबाट सुरौंदी, करिडोर हुदैं प्युरी दोभान, स्याङजाको पौवेगौ८ेदेखि सुरुङ मार्गबाट छोरेपाटन, पामे र हेमजा निकाली मध्यपहाडी लोकमार्गसँग जोडिने योजना छ। चक्रपथलाई मादी करिडोरबाट देउराली हुदैं कोत्रे निस्कने गरी जोडिने समेत प्रतिबद्धता पत्रमा छ। तर फेवाताल संरक्षण गर्ने विषयमा भने कास्की एमालेले समेट्न सकेको छैन।  

महानगरले अहिले सडकमा पार्किङ गरिएको सवारी साधनको शुल्क उठाउँदै आएको छ। निजी कम्पनीलाई दुईवर्षको लागि सम्झौता गरेर दिईसकेको अवस्था छ। एमालले आफनो प्रतिबद्धता पत्रमा–‘महानगरभित्रको सवारी पार्किङलाई व्यवस्थित गर्दै निःशुल्क पार्किङ गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिने छ,’ उल्लेख छ। यसबाट वर्षेनी महानगरले पार्किङ शुल्क मार्फत उठाउँदै आएको राजस्व गुम्ने देखिएको छ।  

प्रतिबद्धता पत्रमा पोखरा विकास प्राधिकरण मार्फत नेपालको पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको प्रमुख केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ। कृषिजन्य उत्पादनको विक्री वितरणको लागि हाटबजार को व्यस्था गरिने समेत जनाएको छ। हाटबजार पोखरामा भने लाग्ने गरेको छैन्। तर प्रमुखका प्रत्यासी थापाले महानगरभित्रको ग्रामीण बस्तीहरुमा स्थानीय उत्पादन विक्रीका लागि दैनिक एवं साप्ताहिक हाटबजारको व्यवस्था गरिने उल्लेख गर ।  

दैनिक उपभोग्य बस्तु कृषि बन जडिबुटी, मत्स्य तथा पशुजन्य पदाथी उत्पादन, वितरण र विक्री गर्ने सहकारीलाई विशेष छुट तथा अनुदानको व्यवस्थान गरिने समेत उनको भनाई थियो। रुपाताल र बेगनास तालको सम्भावित अध्ययन गराई बातावरणमैत्री जलाशययुक्त जलविद्युत उत्पादनको योजनालाई समेटेको छ। जलविद्युत उत्पादन मार्फत पर्यटनमा आकर्षणमा बृद्धि गरी आय एवं रोजगार सृजना गरिने उल्लेख छ। पोखरालाई अन्तराष्ट्रिय शहरसँग भगिनी सम्बन्ध विस्तार गर्ने योजनालाई समेत एमाले कास्कीले समेटेको छ। पूर्व मेयर समेत रहेका थापाकै समयमा पोखराले पहिलो भगिनी सम्बन्धको रुपमा जापानको कोमागाने शहरसँग जोडेको थियो। उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजुबत बनाउन भगिनी सम्बन्धलाई निरन्तरता दिने बताए।  

स्थानीयस्तरमा प्रचलित समुदायका सम्भव भएका मातृभाषा(गुरुङ, नेवार, मगर आदि)मा पाठ्यक्रम बनाई त्यस्ता भाषामा आधारभूत शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। विभिन्न पेशा व्यवसाय तथा श्रमबाट आय आर्जन गर्ने व्यक्तिहरुले त्यस्तो आयका निश्चित प्रतिशत कोषमा जम्मा गर्दै गरेमा महानगरपालिकाबाट पनि थप अनुदानको व्यवस्था गरी ज्येष्ठ उमेरावस्थामा र अस्वस्थ अवस्थामा आवासीय नर्सिङ होम्सको सुविधा उपलब्ध गराउने प्रतिबद्धता गरे। 

सेती नदीको दायाँवायाँ किनारामा सुरक्षित पर्खाल लगाई पदयात्रा मार्ग निर्माण गरिने छ।  उम्मेदवार थापाले नेकपा एमालेले पोखराको विरासत जोगाउन उद्धत रहदँै आँच आउने काम नगर्ने स्पष्ट पारे। महानगरमा अन्तराष्ट्रियस्तरको सभाहल निर्माण, रंगशालाको स्तरोन्नति गरी तीन वर्षभित्रमा पोखरामा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता पत्रमा समेटिएको छ।

उनले आफु निर्वाचित भएर आएपछि पाउने सेवा सुविधा गरीब जनता र विकास निर्माणमा लगाउने प्रतिबद्धता गरे। उनले आफनो जीवन महानगरको जनताको सेवामा समर्पित भएको बताउँदै मरेपछि आफना शरीरका अंगहरु समेत दान दिने घोषणा गरे। नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत एमालेका नेताहरु पदमा अर्याल, खगराज अधिकारी, पृथ्वीसुब्बा गुरुङ, जगत विक लगायतकाको उपस्थिति रहेको थियो।  

प्रकाशित: १७ वैशाख २०७९ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App