२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनावको मुखमा दल अदलबदल तीव्र

तस्बिरः एमाले प्रवेश गरेका कांग्रेस नेतात्रय।

आसन्न स्थानीय तह निर्वाचनको मुखमा जिल्लामा दल अदलबदलले तीव्रता पाउने देखिएको छ। आवद्ध दलले उम्मेदवार नबनाउने देखेपछि असन्तुष्टि जनाउँदै अर्को पार्टीमा प्रवेश गर्ने लहर चलेको हो।  

असन्तुष्टिमा खेल्दै तीन ठूला राजनीतिक शक्ति कांग्रेस, एमाले र माओवादी केन्द्र प्रतिस्पर्धी दलका नेता, कार्यकर्ता तान्न हानथाप गरिरहेका छन्। यसमा एमाले अगाडि देखिँदा कांग्रेसमा क्षति बढ्दो छ। जुगल गाउँपालिकाका कांग्रेसका तीन प्रभावशाली नेता शनिबार एकसाथ एमाले प्रवेश गरेका छन्।  

पुराना अनुभवी नेता जयबहादुर लामा तथा युवा नेताद्वय सानुकान्छा तामाङ र सनत अधिकारीले कांग्रेस त्यागेका हुन्। लामा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्षका प्रतिस्पर्धी थिए भने तामाङ र अधिकारी जुगल–२ र ७ का निर्वाचित वडाध्यक्ष हुन्। उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले पार्टीमा स्वाागत गरेका थिए।  

उनीहरुको पार्टी त्यागलाई जुगल कांग्रेसमा ‘भूकम्प गएको’ रुपमा अर्थ्याउन थालिएको छ। लामालाई एमालेले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। तामाङ र अधिकारीलाई वडाध्यक्षको टिकट दिने बताइएको छ। अघिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार लामा उपबिजेता बनेका थिए। उनी एमाले उम्मेदवार होमनारायण श्रेष्ठसँग झिनो मतले पराजित भएका थिए।  

श्रेष्ठकै अगुवाईमा उनीहरु एमाले प्रवेश गरेका हुन्। तामाङ बाहुल्य जुगलमा लामाले टिकट पाउँदा कांग्रेसले जित्ने धेरैको आँकलन थियो। त्यसैले लामा यस पटक पनि उम्मेदवारको आकांक्षी थिए। तर कांग्रेसले गुटका आधारमा कनिष्ठ हिमाल श्रेष्ठलाई अध्यक्ष उम्मेदवारको रुपमा अगाडि बढाएपछि पार्टीभित्र तीव्र असन्तुष्टि चुलिएको थियो। लामासहितका प्रभावशाली नेताको प्रवेशले जुगलमा एमाले थप बलियो बनेको राजनीतिक बृतमा चर्चा चलेको छ। यसको प्रत्यक्ष असर कांग्रेसमा पर्दा एमाले फुटेर समाजवादी पार्टीसमेत अस्तित्वमा आएकाले निकटतम् प्रतिस्पर्धी माओवादीलाई पनि अप्रत्यक्ष फाइदा पुगेको विष्लेषण छ।  

चौतारा साँगाचोकगढी नगरपालिकाका अध्यक्ष अमानसिं तामाङ पनि शुक्रबार एमाले प्रवेश गर्ने तयारीमा थिए। माओवादीका उनी पार्टीले पुनः उम्मेदवार नबनाउने देखेपछि टिकट दिने पार्टीको खोजीमा थिए। पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल नै उनलाई रोक्न लाग्नु परेको थियो। उनले पार्टीले फेरि उम्मेदवार बनाउने आश्वासन दिएपछि तामाङ अन्तिममा रोकिएका हुन्। ‘आश्वासन मात्र दिएर अन्तिममा टिकट नदिए पुनः अन्य पार्टीमा जाने बिकल्प खुल्लै छ,’ उनी निकट स्रोतले बतायो।

प्रकाशित: १० वैशाख २०७९ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App