६ वैशाख २०८१ बिहीबार
राजनीति

भ्रातृ संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ: नेता डा. कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को त्रिपन्नौ वार्षिकोत्सवका अवसरमा नेविसंघ उपत्यका क्याम्पस एकाइले हिजो यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तरक्रियामा उनले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका हुन्।

‘हामी के कारणले कम्युनिष्टसँग मिलेर निर्वाचनमा जान खोजिरहेका छौं, कांग्रेस एक्लै लड्यो भने पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ’, डा. कोइरालाले भने। उनले कांग्रेसलाई कुनै शक्तिको वैशाखी टेक्नु नपर्ने अवस्था रहेको उल्लेख गरे। उनले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै विद्यार्थी लाग्नुपर्ने बताए। नेविसंघलाई पूर्णता दिए मात्र कांग्रेस बलियो हुने उनको भनाइ थियो।

कांग्रेस उपसभापति धनराज गुरुङले नेविसंघको भविष्यलाई अँध्यारोमा राखेर कांग्रेसको भविष्यमा उज्यालो खोज्न नहुने बताए। उनले पार्टीको वैचारिक धरातललाई थाँती राखेर प्राविधिक धरातल खोज्न जाँदा पार्टी संकटमा पर्ने भन्दै यसप्रति कांग्रेस नेतृत्व सजग हुनुपर्ने बताए।

‘कांग्रेस बचाउनका लागि बाहिर धामीझाँक्री खोज्नुभन्दा नेविसंघ बचाउन जरुरी छ’, उनले भने। उनले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन भरमग्दुर प्रयत्न गर्नुपर्ने बताए। कांग्रेसलाई तालमेलभन्दा एजेन्डाले जिताउनुपर्ने उनको भनाइ थियो।

कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन लगत्तै नेविसंघ केन्द्रीय कार्यसमितिले पूर्णता पाउने बताए। ‘नेविसंघको वर्तमान कार्यसमितिले नै निर्वाचन गर्छ’, उनले भने।

महामन्त्री थापाले कांग्रेसले आफ्ना मतदाता बढाउने गरी संगठन विस्तारमा लाग्नुपर्ने बताए। ‘विगतमा बनेका सरकार हेर्दा पनि कम्युनिष्टसँग गठबन्धन गर्दा भरपर्दो देखिंदैन, कम्युनिष्ट पार्टीको गठबन्धनमा कांग्रेस सरकार बन्ने प्रवृत्तिको अन्त्यका लागि कांग्रेसले संगठन विस्तार गर्नुपर्छ’,उनले भने। कांग्रेस संगठनलाई बलियो बनाउने गरी कांग्रेसको संगठन विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पर्यटन, कृषि र जलविद्युतको माध्यमबाट देशको आर्थिक विकास गर्न कांग्रेस प्रतिबद्ध भएर लाग्नुपर्ने बताए। नेविसंघले मुलुकमा कम्युनिष्ट प्रवृत्तिको अन्त्यका लागि लड्नुपर्ने बेला आएको उनको भनाइ थियो।

कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले म्याद सकिएका सबै भ्रातृ संस्थालाई यथाशक्य चाँडो पूर्णता दिने बताए। ‘निर्वाचनमा कांग्रेसले भ्रातृ संस्थालाई चलायमान बनाउन नसक्नु दुःखद हो’, उनले भने।

सहमहामन्त्री परियारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीले स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने भनी स्थानीय तहलाई तालमेलको अधिकार दिएको भन्दै सोहीअनुसार कांग्रेस अगाडि बढ्नुपर्ने उल्लेख गरे।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले नेविसंघको इतिहास जोगाउने जिम्मा विद्यार्थीको काँधमा आएको बताए। पार्टीले नेविसंघको कार्य समितिलाई चाँडो पूर्णता दिनुपर्ने उनको भनाइ थियो।

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले कांग्रेस एकजुट भए कुनै शक्तिले हराउन नसक्ने बताए। राजनीतिमा भविष्य हेरेर गठबन्धन गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेस नेता गुरुराज घिमिरेले अहिलेको गठबन्धनलाई अन्तिम बनाएर अगाडि बढ्नुपर्ने बताए। उनले नेविसंघ लगायतका भ्रातृसंस्थालाई चाँडै पूर्णता दिन नेतृत्वलाई आग्रह गरे।

नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, रञ्जित कर्ण, पूर्वमहामन्त्री मनोजमणि आचार्य, पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदी, पूर्वकोषाध्यक्ष शिव रिमाल, पूर्वकेन्द्रीय सदस्य मोतिलाल भण्डारी, नेविसंघ रत्नराज्य लक्ष्मी क्याम्पसका सभापति पुस्कर बास्तोला लगायतले नेविसंघलाई वर्तमान पार्टी नेतृत्वले बुझ्न नसक्दा नेविसंघ कमजोर बन्दै गएको बताएका थिए।

प्रकाशित: ८ वैशाख २०७९ ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App