७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपालगन्जको मेयर र उपमेयरमा गठबन्धन दलभित्र आ–आफ्नै अडान

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर भागबण्डा गर्ने विषयमा पाँच दलिय गठबन्धनबीच सहमति हुन सकेको छैन।

उमहानगरपालिकाको मेयर र उपमेयर पदमा गठबन्धनभित्र रहेका दलहरु आ–आफ्नै अडानमा देखिएका छन्। विशेषगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले मेयर पदमा आफ्नो पार्टीको दाबी कायम राखेका छन्।

२०७४ सालको निर्वाचनमा उपमहानगरपालिकाको मेयरमा राप्रपा र उपमेयरमा नेपाली कांग्रेसले जितेको थियो। आसन्न निर्वाचनमा केन्द्रको नीति अनुसार गठबन्धन बनाएर जानेमा जिल्लाका पाँच दलबीच सहमति भएपनि भागबण्डा मिलाउन सकेका छैनन्।

निर्वाचन नजिकिदै गर्दा पनि सहमति कायम गर्न नसकेपछि अन्यौलता छाएको छ। नेपाली कांग्रेसका नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट भागबण्डाका विषयमा गठबन्धनभित्र सहमति हुन नसकेको बताउँछन्।

‘हामी सिंगल लडेपनि नेपालगन्जमा जित्छौं, तर गठबन्धन गर्नुपर्ने भएका कारण मेयर पदमा मात्रै हाम्रो दाबी छ,’ उनले भने ‘कांग्रेसले मेयर पाएपछि उपमेयर स्वभाविक रुपले अरु पार्टीलाई दिनुपर्छ।’

यस्तै माओवादी केन्द्रका नेपालगन्ज नगर अध्यक्ष रतन शाहीले पनि उपमहानगरको मेयर पदमा आफ्नो पार्टीको दाबी रहेको सुनाउँछन्। ‘मेयर पदको हाम्रो पार्टीको दाबी छ, अहिलेसम्म गठबन्धनभित्र रहेका विशेषगरी तीन वटा दलले मेयरमा दाबी गरेको अवस्था छ,’ उनले भने ‘हामी सैद्धान्तिक रुपमा गठबन्धनको साथमा छौं।’ आफूहरु नियमित रुपमा छलफलमा रहेकाले चाडै टुंग्याउने अध्यक्ष शाहीको भनाइ छ।

जनता समाजवादी पार्टी (जसपा) भने नेपालगन्ज उपमहानगरपालिका यसपटक कुनैपनि हालतमा नछाड्ने अडानमा छ। उपमहानगरपालिकाको मेयर पद आफ्नो पार्टीले नपाए गठबन्धनमै नरहने उक्त दलको चेतावनी छ।

सो पार्टीका नगर अध्यक्ष सर्बनकुमार यादवले नेपालगन्ज उपमहानगरको मेयरसहित बहुमत वडाअध्यक्ष पाएपछि मात्र गठबन्धन गर्ने, नत्र एक्लै चुनाव लड्ने बताए। नेपालगन्ज उपमहानगरपालिकामा २३ वटा वडा छन्।

‘स्थानीय स्तरमा गठबन्धन गर्ने भनेर केन्द्रबाट निर्देशन आएको छ, तर हामीले मेयर पद पाएनौं भने हामी गठबन्धनमा रहदैनौं,’ यादवले भने। उक्त दलले मेयर पदमा जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्धिन राईलाई अगाडी सारेको छ।

गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भने नेपालगन्जमा दाबी गरेका छैनन्। एकीकृत समाजवादीले केही गाउँपालिकामा प्रमुख र केहीमा उपप्रमुख दिनुपर्ने अडान राखेको छ।

पार्टीका नेता अशोक कोइराला भागबण्डा गर्ने विषयमा गठबन्धनभित्र रहेका दलहरु छलफलमै रहेको बताए। ‘अहिलेसम्म छलफलमै छौं, गठबन्धनलाई असर नपर्ने गरी टुंग्याउने हाम्रो प्रयास छ,’ उनले भने।

राष्ट्रिय जनमोर्चाका नेता कृष्णराज पाण्डेले बाँकेमा कुनै पनि पालिकामा आफ्नो पार्टीको दाबी नभएको तर, केही वडामा दाबी रहने बताए। ‘अहिलेसम्म पालिकाको भागबण्डा मिल्न सकेको छैन, हाम्रो त वडामा दाबी रहन्छ, वडाको पालो आयो भने हामी आफ्नो अडान राखौंला,’ उनले भने।

प्रकाशित: २ वैशाख २०७९ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App