काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज प्राविधिक समस्याका कारण भारतको कोलकातामा डाइभर्ट गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १ बजेर २९ मिनेटमा उडेको टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२७ ले उचाइ लिने क्रममा दायाँ इन्जिनमा आगो लागेको संकेत देखाएपछि आपतकालीन निर्णय लिइएको हो।
जहाज काठमाडौंबाट करिब चार माइल पश्चिम पुग्दा चालक दलले काठमाडौं एप्रोच कन्ट्रोललाई दायाँ इन्जिनमा आगोको संकेत देखिएको जानकारी गराएका थिए। त्यसपछि केही समय आकाशमै होल्ड गरिएपछि जहाजलाई कोलकातातर्फ मोडिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार उक्त जहाज नेपाली समय अनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकाता विमानस्थलमा सकुशल अवतरण भएको छ।
जहाजमा २२५ यात्रु र ११ जना चालक दलका सदस्य गरी कुल २३६ जना सवार थिए। सबै यात्रु र चालक दलका सदस्य पूर्ण रूपमा सुरक्षित रहेको विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
प्रकाशित: २१ माघ २०८२ १५:५८ बुधबार





