coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ठूला दलबाट परिर्वतन खोज्नु साँढे दुहुनु जस्तै हो: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन। तस्बिरः संगम/नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान ठूला राजनीतिक दलहरुबाट परिवर्तनको अपेक्षा गर्नु साँढे दुहुन बसे जस्तै भएको बताएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले यहाँ आयोजना गरेको आमसभामा बोल्दै लिङ्देनले अहिलेका ठूला दलहरु साँढे जस्तै दूध नदिने अवस्थामा पुगेको बताए। ‘अहिलेका ठूला दलबाट देश विकास र परिवर्तनको अपेक्षा राख्नु साँढे दुहुन बसे जस्तै हो,’उनले भने,‘वर्तमान अवस्थामा काँग्रेसको विकल्प एमाले माओवादी हुँदै होईन। यीनीहरु फरक छैनन्।’ काँग्रेस एमाले र माओवादी कुनै काम नलाग्ने साँढेमा परिणत भएको उनको टिप्पणी छ।  

अहिले हेर्दा सामान्य अवस्थामा देखिए जस्तो लागे पनि गम्भीर समस्यामा रहेको उनले दाबी गरे। ‘बन्द छैन, हड्ताल छैन, हेर्दा देश सामान्य अवस्थामा रहेको जस्तो देखिन्छ,’ उनी भन्छन्,‘तर अहिले देश इतिहाँसकै गम्भीर अप्ठ्यारोमा पुगेको छ।’ तीन करोड कुल जनसंख्या नभएको देशबाट ५० लाख युवा विदेशमा पुगेर दैनिक तीन चार जना युवा बाकसमा फर्कनुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको लिङ्देनले बताए। ‘म गाउँमा पुग्दा कुन जूनीमा के पाप गरेका रहेछौं र यो दुःख पाईयो भनेर आमा दिदी बहिनीहरु भन्नुहुन्छ,’लिङ्देनले भने,‘मैले भन्ने गरेको छु, यो कुरा कुनै जूनीमा पाप गरेको भएको होईन। गतिलो नेता छान्न नसक्दा हो। तपाईहरुले चोर नेतालाई छानेर गल्ती गर्नुभएको छ।’  

अहिले राज्यका कुनै पनि अंगले आफ्नो काम नगरेको उनको दाबी छ। ‘अहिले सरकार सरकार जस्तो छैन, अदालत अदालत जस्तो छैन र संसद संसद जस्तो छैन,’ उनले भने। देशमा बढेको भ्रष्टाचार र अनियमितताका कारण देश श्रीलङ्का बन्ने अवस्थामा पुगेको लिङ्देनको जिकिर छ। ‘भ्रष्टाचार र कालोबजारी मौलाएको छ, बैंकमा पैसा राख्न स्रोत देखाउनुपर्छ, त्यसैले पैसा बैंकमा छैन,’उनले भने,‘छापिएका नोट जति भ्रष्टाचारीको घरमा थुप्रिएर बैंक रित्ता भएका छन्। देश श्रीलङ्का बन्ने खतरामा छ।’ संघियताको तीन तह देश धान्न सक्दैन भन्ने कुरा पाँच वर्षमै पुष्टी भएको उनले उल्लेख गरे।

‘देशको ठूलो ढुकुटी खर्चेर कर्मचारी र जनप्रतिनिधि पाल्ने व्यवस्था ठिक होईन भन्ने कुरा यो पाँच वर्षमै पुष्टी भएको छ,’ लिङ्देन भन्छन्,‘हामीले भनेको दुई तहको सरकार भए जति पनि हुन्छ।’ करको दर र दायरा बढेका कारण नागरिकले हैरानी खेप्नु परेको उनका दाबी छ। ‘पहिले कुन कुन कुरामा कर लाग्छ भन्ने हुन्थ्यो, अहिले कुन कुरामा कर लाग्दैन भन्ने अवस्था भएको छ,’ उनले भने। वर्तमान ठूला पार्टीहरु असफल नेताहरु बेमान भएको उनको आरोप छ।  

‘निर्वाचनको बेलामा खसी काट्ने, सुँगुर काट्ने, आमा समुहलाई पैसा दिने र भोट माग्ने पार्टी र नेताहरुले देश बर्वाद पारेका छन्,’ उनी भन्छन्,‘भोट सस्तो चिज होईन तपाईको भोट गलत ठाउँमा परेका कारण सिंगो समाज र देशले दुःख पाएको हो।’ अहिले ठूला सबै दल र नेता असफल भएकाले अब पनि गल्ती गर्ने छुट नभएको उनको भनाई छ। ‘देउवालाई कति पटक प्रधानमन्त्री बनाएर देश बनाउँछन्, ओलीलाई कति पटक सरकारमा पुर्‍याए देश बन्छ, प्रचण्डलाई कति पटक प्रधानमन्त्री बनाउनुपर्ने हो?,’ उनले भने,‘उनीहरुले भोट दिएर देश बन्छ भन्ने भ्रम त्यागेर अब हुने तीन तहको निर्वाचनमा राप्रपालाई भोट दिनुहोस् हामी देश बनाएर देखाउँछौं।’

अहिलेका सत्ताधारी र विपक्षी दल एक अर्काको विकल्प नभई एउटै सिक्का दुई पाटा भएको लिङ्देन बताउँछन्। ‘काँग्रेसको ठाउँमा एमाले आउनु वा एमालेको ठाउँमा माओवादी आउनु एउटै हो, उनीहरु एउटै सिक्काका दुई पाटा हुन्,’ लिङ्देनले भने,‘यो देशमा विदेशी हस्तक्षेप निम्त्याउन यीनीहरु सबैको पालैपालो भूमिका छ।’ देश विकास गर्ने कुरामा राप्रपासंग उभिन आग्रह गर्दै उनले राप्रपाको कामको उदाहरण बागलुङबाट देखाउने चाहेको बताए।

‘अघिल्लो पटक बागलुङ नगरपालिकामा उपमेयर बनाउनुभयो, त्यो कार्यकारी पद होईन, राप्रपाले गर्न खोजको विकासको काम बागलुङबाट गरेर देखाउने मन छ,’लिङ्देनले भने,‘स्थानीय निर्वाचनमा हामीलाई मतदान गर्नुहोस्।' आफू राजनीतिलाई पेसा नभई सेवा सम्झेर यो क्षेत्रमा आएको बताए।

प्रकाशित: २२ चैत्र २०७८ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App