३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुट जगाउँदै कांग्रेस संस्थापन इतर

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा संस्थापन इतर पक्षको नेतृत्व गरी सभापतिको प्रत्यासी बन्न चाहन्थे। तर शेखर कोइराला र प्रकाशमान सिंह उनलाई सभापतिको प्रत्यासीका रूपमा स्विकार्न तयार भएनन्।

संस्थापन इतर समूहबाट शेखर र सिंह दुवैजना सभापतिको प्रतिस्पर्धामा उत्रिए भने अर्का आकांक्षी तत्कालीन महामन्त्री शशांक कोइराला उनीहरूको कदमबाट असन्तुष्ट बने। पौडेललाई सभापतिमा अघि सारेर १४औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा जानुपर्ने पक्षमा रहेका शशांक शेखर र सिंह दुवैको पक्षमा खुलेनन्।

संस्थापन इतरबाट सहमतिमा सभापतिको प्रत्यासी बन्ने वातावरण नबनेपछि नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी नभएका पौडेल महाधिवेशनभर निष्क्रिय रहे। संस्थापन इतर समूहबाट एउटा मात्र उम्मेदवार नहुँदा नेतृत्वमा दोहोरिन शेरबहादुर देउवालाई सहज भयो। त्यसमा पनि देउवालाई पुनः सभापति निर्वाचित हुन पौडेलको निष्क्रियता र शशांकको मौनता थप सहयोगी बन्न पुग्यो। देउवा दोस्रो चरणमा भएको मतदानबाट सभापतिमा निर्वाचित भए। पहिलो चरणबाट बाहिरिएका नेता सिंह दोस्रो चरणमा भएको निर्वाचनमा देउवाको पक्षमा उभिए। त्यससँगै कांग्रेसमा रहेको संस्थापन इतरको शक्तिशाली गुट पनि तितरबितर बन्यो।

१४औं महाधिवेशनअघिको संस्थापन इतर समूहलाई समेटेर अघि बढ्ने तत्परता शेखरले पनि देखाएनन्। महाधिवेशनपछि पनि भित्रभित्रै आफू निकटहरूको भेला र बैठकलाई निरन्तरता दिएका शेखर, गगन थापासहितका नेताले बाहिर भने आफूलाई भागबन्डाको विपक्षमा प्रस्तुत गर्दै आए। आफ्नो समूहबाट पार्टी उपसभापति र महामन्त्रीमा पराजित नेतालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन नगरेकोमा भने उनीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। तर उनीहरूको असन्तुष्टिलाई सभापति देउवाले खासै महत्त्व दिएनन्।

शेखर समूहबाट उपसभापति र महामन्त्री निर्वाचित क्रमशः धनराज गुरुङ र गगन थापासँग केही छलफल गर्दै देउवा अघि बढे। सभापति देउवाले बुधबार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व तोकेसँगै बसेको शेखर पक्षको भेलाले असन्तुष्टि पोख्यो। त्यो भेला देउवाले आफूहरूलाई पेलेर अघि बढेको भन्दै प्रतिरोधमा उत्रिने निष्कर्षमा पुग्यो। भ्रातृ संगठनका समानान्तर समितिहरू गठन गर्ने भन्दै शेखर पक्षले आफ्नो गुट ‘जगाउने’ प्रयास सुरु गरेको छ।

आफूनिकट नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताको भेलासमेत आयोजना गर्ने तयारी शेखर पक्षको छ। भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व तोक्दा आफूसँग परामर्श नगरेको भन्दै असन्तुष्ट शेखरले शुक्रबार सभापति देउवासँग भेट गरेका छन्। भेटका क्रममा देउवाले उपसभापति र महामन्त्रीसँगको परामर्शमा तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व तोकेको जानकारी गराएको स्रोतको दाबी छ। अन्य भ्रातृ संगठनको नेतृत्व तोक्न बाँकी नै रहेको भन्दै फागुन ३ गते बसेको कार्यसम्पादन समितिको बैठकले दिएको अधिकारअनुसार आफूले संघको नेतृत्व तोकेको देउवाले बताएको स्रोतको दाबी छ।

नेता पौडेलले पनि शुक्रबार आफ्नै निवासमा निकट नेताहरूको भेला राखेर आफ्नो पुरानो गुट जगाउने प्रयास गरेका छन्। महाधिवेशनपछिका तीन महिना गुटगत भेटघाटमा सहभागी नभएका पौडेलले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर आफूनिकटहरूको भेला राखेका हुन्। निवर्तमान महामन्त्री शशांक कोइरालासहित केन्द्रीय सदस्यहरू, वर्तमान र पूर्वजिल्ला सभापतिहरू भेलामा सहभागी थिए।

आफूले गुटबन्दी गर्नका लागि भेला नबोलाएको बताएका पौडेलले भनेका थिए, ‘रामचन्द्र र शशांकलाई पाखा लगायौं भन्ने सोचेको हो भने के भन्नु छ र? हामी दुईको साथ चाहिने साथीहरूका लागि हामी हिजो पनि थियौं, आज पनि छौं।’ शशांक र आफूलाई पाखा लगाएको भनेर खुसी नहुनसमेत पौडेलले आग्रह गरेका छन्। यसले पौडेल र शशांक अब निकटलाई गोलबद्ध गर्दै जाने रणनीतिमा पुगेको विश्लेषण गर्दै शेखरनिकट एक नेताले भने, ‘हामी पनि छौं भनेर देखाउने प्रयास हुन सक्छ तर त्यसको केही अर्थ छैन।’

संस्थापन इतरबाट सभापतिको प्रत्यासी बनेका सिंह पनि अहिले निकटहरूलाई समेट्ने प्रयासमा जुटेका छन्। संस्थापन पक्षका नेताहरूले भने कांग्रेसभित्र अहिले देखिएका सबै उतारचढाव वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन केन्द्रित भएको दाबी गरे। ‘आफूनिकटका लाई उम्मेदवारी दिलाउनका लागि उहाँहरू पुरानो गुट जगाउन लाग्नुभएको हुन सक्छ,’ देउवा निकट एक नेताले भने, ‘गुटका आधारमा अब कांग्रेसमा निर्णय हुँदैन।’

प्रकाशित: १२ चैत्र २०७८ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App