मधेसी दलको फुटको शृंखलामा मंगलबार लोकतान्त्रिक समाजवादी पार्टी थपिएको छ। लोसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य वृशेषचन्द्र लाल, विजयकुमार सिंहलगायतका नेताकार्यकर्ताले लोसपा परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी ब्युँताउने उद्घोष गरेका छन्।
जिल्ला समन्वय समिति धनुषाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा वृशेषचन्द्र लालले लोसपा परित्याग गरेको तथा फागुन १५ गते तमलोपामा प्रवेश गर्ने जानकारी दिए। लालले मधेसवादी दल तथा नेतृत्व पंक्तिमाथि जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक अजेन्डा थाम्न नसकेको, गन्तव्यको दिशामा अगाडि बढ्न नसकेको तथा जनताले दिएको अभिमत, समर्थनलाई सत्ता र सरकारमा सहभागिताको स्वार्थमा शक्तिको हातमा सुम्पेको आरोप लगाए।
‘बृहत् राजनीतिक शक्ति निर्माणको नाममा सरकारहरू बनाउन भएका एकीकरण वा विभाजनले मधेसकेन्द्रित दलहरूको अस्तित्व नै रहेन। नेतृत्व पंक्तिले मधेस केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेका छन्। स्वभावतः लोकतन्त्रवादी मधेसी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संविधानसभा सदस्य विजयकुमार सिंहले मधेसकेन्द्रित दलले आफूलाई राष्ट्रिय दल देखाउन आफ्नो नामबाट मधेस शब्द झिकेको बताए। उनले भने, ‘क्षेत्रीयताबिना संघीयता सफल हुन सक्दैन। हाम्रो दल क्षेत्रीय दल हुनेछ। क्षेत्रीयतामार्फत हामी राष्ट्रिय एकताको उद्घोष गर्छौं’ उनले थपे, ‘क्षेत्रको विकासमार्फत राष्ट्रको विकास गर्छौं।’
लाल र सिंहले लोसपाभित्र आन्तरिक लोकतन्त्रको आभाव भएको आरोप लगाए। लोसपा अध्यक्ष महन्थ ठाकुरनिकट मानिएका लाल र सिंहले पछिल्लो पटक ठाकुरको कार्यशैलीको कडा विरोध गर्दै आएका थिए।
फुटको शृंखला
मधेस केन्द्रित दलको आधार क्षेत्र नै मधेस हो। यही आधार क्षेत्रमा मधेसी दल सम्हालिएर एक ढिक्का हुने र चिप्लिएर टुक्रा हुने शृंखला करिब चार दशकदेखि चल्दै आएको छ। २०४६ सालमा नेपाली कांग्रेस त्यागेर गजेन्द्रनारायण सिंहले मधेसलाई विभेदबाट मुक्त गराउन भन्दै सद्भावना परिषद् खोले। २०४६ साल चैतमा देशमा बहुदल आयो।
परिषद् फेरिएर सिंहकै अध्यक्षतामा नेपाल सद्भावना पार्टी भयो। पहिलो आमनिर्वाचनमा सिंह नेतृत्वको सद्भावना पार्टीले संघीयताको नारा घन्कायो। पछि सद्भावना पनि टुक्राटुक्रामा विभाजित भयो। मधेसलाई विभेदमुक्त गराउन शासकलाई ढाल्न खडा भएको सद्भावना आफै ढल्यो।
रंगभेद अन्त्य र संघीयताको उही मुद्दा बोकेर उपेन्द्र यादवले मधेसी जनअधिकार फोरम नाममा संगठन खडा गरे। २०६३ माघ १ मा जारी अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि माइतीघरमा संविधानको प्रतिलिपि जलाएर यादव राजनीतिक वृत्तमा चर्चित बने।
उनकै नेतृत्वमा भएको मधेस विद्रोहबाट पहिलोपटक मधेसीको पहिचानले संवैधानिक स्थान पायो। त्यसकै बलमा पहिलो संविधानसभा निर्वाचन २०६४ मा यादवको दल फोरमले ५२ सिट जित्यो।
संविधानसभाको पहिलो निर्वाचनपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा बलियो उपस्थिति देखाएको फोरममा चिरा पर्न धेरै समय लागेन। भाग्यनाथ गुप्ताले २०६४ भदौ १५ गते फोरम फुटाएर मधेसी जनअधिकार फोरम, मधेस गठन गरे। त्यसपछि त फोरममा पहिरो जान सुरु भयो। अमर यादवले २०६५ चैत ७ गते विभाजन गरेर मधेस तराई फोरम गठन गरे।
दाहालपछि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारमा जाने विषयमा विवाद भएपछि संसदीय दलका नेता विजयकुमार गच्छदारले २८ सभासद्को साथ लिएर २०६६ जेठमा पार्टी फुटाए। उनले अर्का नेता शरतसिंह भण्डारीको साथमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे।
२०६८ जेठ ९ गते जयप्रकाश गुप्ताले फोरमका राजकिशोर यादवलगायत १३ सभासद्सहित मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टी गठन गरे। बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेकै बखत गुप्ता सर्वोच्चबाट भ्रष्टाचारी ठहर भई जेल पुगेपछि कार्यवाहक अध्यक्ष राजकिशोर यादवले पार्टी नेतृत्व गरे। फुटको पहिरोले फोरमलाई चुचुरोबाट फेदमा पुर्याइदियो। र, मधेसी जनकअधिकार फोरमको अस्तित्व नै ढल्यो। उपेन्द्रको नेतृत्वमा अहिले जनता समाजवादी पार्टी अस्तित्वमा छ।
मधेसकै मुद्दा उठाएर महन्थ ठाकुरले २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टी खोले। माउ पार्टी परित्याग गर्दै हृदयेश त्रिपाठी, महेन्द्रराय यादव, रामचन्द्र राय, वृशेषचन्द्र लाल, रामचन्द्र कुशवाहा, अनिश अन्सारीलगायत नेता तमलोपामा आबद्ध भए। यो दल दोस्रो मधेस विद्रोह (०६४) मा सहभागी भयो। आन्दोलनकै रापतापले पहिलो संविधानसभा निर्वाचनमा यसले ११ सिट जित्यो। महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पनि धेरै समय सग्लो रहन सकेन। तमलोपाका तत्कालीन महामन्त्री महेन्द्रराय यादवले २०६७ पुस १६ मा तमलोपा–नेपाल गठन गरे।
राजेन्द्र महतो नेतत्वको सद्भावनाका नेता रामनरेश राय यादवले पार्टी विभाजन गरी २०६८ माघमा राष्ट्रिय सद्भावना पार्टी खोल्न पुगे। रामनरेशको राष्ट्रिय सद्भावना पार्टी र तमलोपा विभाजन गरी बनेको महेन्द्रराय यादवको तमलोपा–नेपालबीच २०७० भदौ १९ मा एकीकरण भएर तराई मधेस सद्भावना नेपाल बन्यो। त्यो पार्टीको अध्यक्ष बने महेन्द्रराय यादव। ०७४ वैशाखमा ६ वटा मधेसकेन्द्रित दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भयो। र, तमलोपाको अस्तित्व पनि ढल्यो।
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), शरतसिंह भण्डारीको राष्ट्रिय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरण भएर राजपा संसद्को पाँचौं ठूलो दल बन्न पुग्यो।
सत्ताको भोकले पार्टी फुटाउने गरेको आरोप खेप्दै आएका मधेस केन्द्रित दलका नेताहरू मधेसको भावनात्मक मतलाई सम्बोधन गर्न एक हुने कसरत सुरु गरे। २०७७ वैशाख १० गते मधेस केन्द्रित दुई ठूला दल उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एक भए। एकीकृत पार्टीको नाम जनता सामाजवादी पार्टी (जसपा) राखियो।
बलियो मधेसी शक्तिको रूपमा जनता समाजवादी पार्टी बनेसँगै मधेसमा खुसीको सञ्चार भयो। तर यो एकीकरण पनि धेरै दिन टिक्न सकेन। जसपाबाट महन्थ ठाकुर नेतृत्वमा नेताहरू अलग भए र २०७८ भदौ २ गते ठाकुरको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भयो।
अहिले लोसपाबाट पनि लालको नेतृत्वमा नेताहरू अलग भएपछि लोसपा फुटेको छ। जसपा फुटको संघारमा छ। स्थानीय तहको निर्वाचन घोषणा र प्रदेश तथा प्रतिनिधिसभा चुनाव नजिकिएसँगै मधेस केन्द्रित दलमा फेरि फुटको क्रम सुरु भएको छ।
प्रकाशित: ११ फाल्गुन २०७८ ०१:३२ बुधबार