नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले झापा–५ मा विकासका विरुद्ध प्रोपोगन्डाको लडाइँ चलिरहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री, मन्त्री र सांसदका रूपमा केपी शर्मा ओलीले गरेका कामको प्रत्यक्ष लाभ स्थानीयले उपभोग गरिरहेकाले त्यस्ता प्रोपोगन्डामा जनताले विश्वास नगर्ने दाहालको भनाइ छ। केही व्यक्तिले सामाजिक सञ्जालमार्फत जनतालाई भ्रमित गर्ने प्रयास गरे पनि स्थानीय बासिन्दाले त्यसको यथार्थ बुझिसकेको उनले बताए।
पार्टी केन्द्रीय सदस्यसमेत रहेका दाहालले प्रचार समितिको बैठकमा बोल्दै सामाजिक सञ्जालमा फैलाइने हल्ला चिर्नु पार्टीको दायित्व भएको उल्लेख गरे। उनका अनुसार एमालेले भौतिक रूपमा काम गरेर देखाएको छ र डिजिटल माध्यममा फैलाइएका अफवाहको जवाफ जनताले नै दिनेछन्।
झापा–५ मा अघिल्लो निर्वाचनको मतान्तर घटाउने कुनै छुट नभएको उल्लेख गर्दै उनले देशी–विदेशी घेराबन्दीविरुद्ध एमाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
दाहालका अनुसार झापा–५ मा वडा, टोल र घरघर केन्द्रित चुनावी अभियान सुरु भइसकेको छ।
प्रकाशित: १२ माघ २०८२ १६:३१ सोमबार





