१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय टोली जुम्ला पुगेर फर्कियो

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवसहितको प्रदेश सुरक्षा प्रमुखहरूको टोली जुम्ला पुगेर फर्किएको छ।

जिल्लाको समग्र सुरक्षा अवस्था, निर्वाचन तयारी र सम्भावित चुनौतीको प्रत्यक्ष मूल्याङ्कन गर्न जुम्ला पुगेको टोली आइतबार सुर्खेत फर्किएको हो। टोलीले निर्वाचन तयारी, मतदान केन्द्रहरूको सुरक्षा अवस्था, मतदाता शिक्षादेखि मतपेटिका सुरक्षासम्मका विषयमा स्थलगत जानकारी लिएको थियो।

भौगोलिक विकटता र संरचनागत चुनौतीका कारण संवेदनशील मानिने जुम्लामा निर्वाचन सुरक्षालाई लिएर प्रदेशस्तरमै चासो बढेको सन्दर्भमा यो अनुगमन भएको हो। ‘नेपाली सेनाको स्काई ट्रक जहाजमार्फत जुम्ला पुगेको सुरक्षा प्रमुखहरूको टोलीले समग्र निर्वाचन सुरक्षाका विषयमा जानकारी लियो,’ जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौड्याले भने, ‘हामीले जिल्लाको सुरक्षा संवेदनशीलता र निर्वाचनको तयारीका बारेमा ब्रिफिङ गर्यौं।’

नेपाली सेनाका तर्फबाट २४ नम्बर बाहिनीले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी दिएको थियो। समग्र जिल्लाको सुरक्षाका अवस्थाका विषयमा प्रमुख जिल्ला अधिकारी पौडेलले प्रस्तुतीकरण गरेका थिए। उनका अनुसार जिल्लामा १ सय १० मतदान केन्द्र रहेकामा ५२ वटा मतदान केन्द्र अति संवेदनशील, २५ वटा मतदान केन्द्र संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य छन्।

यस्तै कुल ८५ वटा मतदानस्थलमध्ये ५२ वटा अति संवेदनशील, १८ वटा संवेदनशील र १५ वटा सामान्य छन्। भौगोलिक विकटता, सञ्चारको पहुँच अभाव, मतदान केन्द्रको भौतिक संरचना, सडक सञ्जालको पहुँच, खानेपानी तथा बिजुली व्यवस्थालगायतका सुरक्षा चुनौतीलाई आधार मानेर मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरिएको हो। सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

शान्ति सुरक्षा कायम गर्न १ हजार ३ सयभन्दा बढी नेपाल प्रहरी, ८ सय ७४ निर्वाचन प्रहरी, ४ सय सशस्त्र प्रहरी बल ९५ वटा शस्त्र निर्वाचन प्रहरी बल र आवश्यकता अनुसार नेपाली सेनासमेत परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। यसले निर्वाचन सुरक्षामा बहुपक्षीय सुरक्षा संयन्त्र परिचालन गरिएको देखाउँछ। टोलीको अनुगमनका क्रममा विगतका निर्वाचनमा भएका क्रियाकलापका बारेमा समेत समीक्षा भएको थियो।

आगामी निर्वाचनमा थप सुरक्षा सतर्कता अपनाउन प्रदेश सुरक्षा प्रमुखहरूको टोलीले निर्देशनसमेत दिएको छ। सुरक्षा प्रमुखहरूले जुम्लाको भौगोलिक अवस्था, मतदान केन्द्र र मतदान स्थलको अवस्थाबारे जानकारी लिँदै निर्वाचनको समग्र सुरक्षामा चनाखो बन्न निर्देशन दिएका थिए।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कंडेलका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदातालाई समेट्दा जुम्लामा कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ जना छ। जसमध्ये महिला मतदाता ३४ हजार २ सय ८० जना र पुरुष मतदाता ३७ हजार ४ सय ५९ जना रहेका छन्।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा ६८ हजार ६ सय ३८ मतदाता थिए। अघिल्लो निर्वाचनको तुलनामा यसपटक जिल्लामा ३ हजार १ सय १ जना नयाँ मतदाता थपिएका हुन्। जसमा १ हजार ७ सय ५९ पुरुष र १ हजार ३ सय ४२ महिला छन्।

मतदान प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन ६ सय ४८ जना कर्मचारी खटाइएको छ। टोलीमा प्रदेशका प्रमुख सचिवसहित नेपाली सेनाका उत्तर पश्चिम पृतनापति दीपेशजंग शाह, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, सशस्त्र प्रहरी बलका प्रदेश निमित्त बाहिनीपति विनोदराज श्रेष्ठलगायत थिए।

टोलीले जिल्लाका सुरक्षा प्रमुखहरू र जिल्ला निर्वाचन कार्यालयका प्रमुखसँग छलफल गरेको थियो।

प्रकाशित: १८ फाल्गुन २०८२ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App