१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सर्लाही आइपुगे गगन

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार जिल्ला आइपुगेका छन्।

पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका थापा चुनावी अभियानलाई तीव्रता दिन काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आइपुगेका हुन्।

सभापति थापालाई जिल्ला प्रवेश गर्ने नाका पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहटको सीमामा पर्ने वाग्मती कर्मैयामा पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।

थापाले अब केही दिन निर्वाचन क्षेत्रमै बिताउने योजना बनाएका छन्। यस क्रममा उनले पार्टीका स्थानीय नेता–कार्यकर्ताहरूसँग रणनीतिक छलफल गर्नुका साथै मतदाताहरूसँग प्रत्यक्ष भेटघाट र घरदैलो अभियानलाई निरन्तरता दिने कार्यक्रम तय भएको छ।

सर्लाही–४ को चुनावी प्रतिस्पर्धा यसपटक निकै रोचक र पेचिलो हुने देखिएको छ। यहाँ कांग्रेस सभापति थापाको मुख्य प्रतिस्पर्धा यसै क्षेत्रबाट तीनपटक निर्वाचित भइसकेका र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका प्रभावशाली नेता अमरेशकुमार सिंहसँग हुने आंकलन गरिएको छ।

त्यस्तै, चुनावी मैदानमा नेकपा (एमाले) का युवा नेता अभनिशकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता रामेश्वर राय यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रजनीस राय र जनमत पार्टीका राकेशकुमार मिश्रलगायतका उम्मेदवारहरू पनि आ-आफ्नो पक्षमा नतिजा पार्न सक्रिय छन्।

प्रकाशित: १२ माघ २०८२ १६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App