३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ बानेश्वर क्षेत्रमा तनावः दर्जन बढी प्रहरी र आन्दोलनकारी घाइते

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता प्रतिनिधिसभामा टेबुल भएपछि राजधानीको नयाँ बानेश्वर–माइतीघर क्षेत्र तनावग्रस्त भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार एमसिसी प्रतिनिधिसभामा टेबुल गरेलगत्तै नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप हुन पुग्यो।

सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरूसहित विभिन्न राजनीतिक दलले माइतीघर, बबरमहल, नयाँ बानेश्वर, मीनभवनलगायतका स्थानमा एमसिसीको विरोधमा नाराबाजी गरेका थिए। 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी लगायतका दलले नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा एमसिसीको विरोधमा प्रदर्शन गरेका थिए।

सत्तारुढ चार दलका शीर्ष नेताबीच एमसिसी संसद्मा टेबुल गर्ने सहमति भएसँगै आन्दोलनकारीले नयाँ बानेश्वरको एभरेस्ट होटलअगाडि प्रहरीले राखेकटो तारजाली (ब्यारिकेट) फाल्दै निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ अघि बढेपछि स्थिति तनावग्रस्त भएको थियो।

आन्दोलनकारीलाई रोक्न प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठी चार्ज गरेको थियो भने आन्दोलनकारीले प्रहरीलाई ताकेर ढुंगा, इँटा र पानीको बोतल प्रहार गरेका थिए। त्यसअघि एकीकृत समाजवादीको विद्यार्थी संगठनले सडकमा एससिसी स्वाहा भनेर होम गराएको थियो।

‘आन्दोलनकारी निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ बढेपछि सुरक्षाकर्मीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो,’ महानगरीय प्रहरी परिसरका प्रमुख सुदीप गिरीले भने, ‘स्थिति शान्त नहुँदा दिनभर नयाँ बानेश्वरदेखि माइतीघर क्षेत्र तनावग्रस्त बन्यो।’ झडपमा परेर अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित केशव रावल, समीर लुइँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादवलगायत दर्जनभन्दा बढी आन्दोलनकारी र प्रहरी घाइते भएका छन्।  

नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा तनाव भएपछि राजधानीमा सवारीसाधन आवागमन प्रभावित भएको थियो । आन्दोलन चर्किंदै गएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीनकुने–माइतीघर क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो । जसका कारण दिनभर राजधानीको यातायात प्रभावित बन्यो । ट्राफिक प्रहरी महाशाखाका अनुसार नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई गैरीगाउँ, तीनकुने, पुरानो बानेश्वर, माइतीघर, न्युप्लाजा, भद्रकालीबाट डाइभर्सन गरिएको थियो।

यसैबीच सत्तारुढ गठनबन्धनको घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आन्दोलनकारीमाथि प्रहरी दमन भएको भन्दै विरोध जनाएका छन्। ‘विवाद र विरोधबीच सरकारले एमसिसी टेबुल गरेको छ,’ उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, ‘हाम्रो पार्टी र संसदीय दलले एमसिसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । एमसिसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका आन्दोलनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।’

प्रकाशित: ९ फाल्गुन २०७८ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App