coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमसिसी अल्झनमा दलहरूः संसदीय प्रक्रियाबाट अघि बढाउनुपर्छ, कांग्रेस

कांग्रेस नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसिसीलाई संसद्मा परीक्षण गर्नुपर्ने बताएका छन्।

कांग्रेस कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा कोइरालाले भने, ‘अब एमसिसी सहयोग र अनुदानमा मात्रै सीमित रहेन। यो विषय निकै माथि उठिसक्यो। यसप्रति हामी निकै गम्भीर बन्नुपर्ने परिस्थिति छ।

यो परियोजनासँगै हाम्रो कूटनीतिक कौशल र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ।’ नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि भएको उनको टिप्पणी छ।

एमसिसीलाई सम्भव भए राजनीतिक दलहरूबीचको सहमतिबाट, नभए सार्वभौम संसद्मा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्नेमा उनको जोड थियो। ‘एमसिसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसद्को क्षमतामाथि नै गम्भीर प्रश्न तेर्सिने देख्दैछु’, कोइरालाले भने। बैठकमा बोल्ने सबैजसो नेताले एमसिसीलाई अब संसदीय प्रक्रियाबाट अघि बढाउनुपर्ने धारणा राखेका छन्। संसद्बाट एमसिसी पारित गर्न सबै विकल्प खुला राख्दै सबै दलसँग छलफल अघि बढाउनुपर्ने धारणा उनीहरूको छ। बैठकमा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले पनि आआफ्नो धारणा राखेका थिए।  

एमसिसीका विषयमा कार्यसम्पादन समितिमा विभिन्न धारणा आएको जानकारी दिँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले भने, ‘एमसिसीबारे हाम्रो पार्टीमा सहमति छ। एमसिसी पास गर्न कांग्रेसले सबै दललाई सहभागी गराउने प्रयास गरिरहेको छ। यो हाम्रै प्राथमिकता हो।’ कार्यसम्पादन समितिको अर्को बैठक आइतबार २ बजे बस्नेछ।

चुनावमा गठबन्धन नगर्न जोड

बैठकमा नेता कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने दोहोर्‍याउँदै कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्ने धारणा राखे। पार्टीभित्रका सानातिना समस्या, आपसी रिसराग, मनमुटाव र असन्तुष्टिभन्दा माथि उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको विकल्प नभएको उनले बताए।

उनले केन्द्रदेखि वडासम्मका नेता कार्यकर्तालाई एकढिक्का बनाएर पार्टी सञ्चालन गर्न आग्रह पनि गरे। ‘अब हामीले गाउँदेखि सहरसम्म सबै स्थानीय तहमा लोकप्रिय, क्षमतावान्,इमानदार र पार्टीमा योगदान पुर्‍याएका साथीहरूलाई बिनाभेदभाव र पूर्वाग्रहरहित तरिकाले उम्मेदवार चयन गरौं,’ उनले भने, ‘यसो गर्न सकेमात्र हाम्रो जित सुनिश्चित हुनेछ। र, मैले विगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात् रुख चिह्नमै मतदान गर्न पाउनुपर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु।’

भ्रातृसंस्थाबारे अझै हुन सकेन निर्णय

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनको महाधिवेशनका विषयमा अझै निर्णयमा पुग्न सकेको छैन। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठक केन्द्रीय समितिको म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संगठनको विषयमा निर्णयमा पुग्न नसकेको हो। आइतबार पुनः बस्ने बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनका साथै अन्य विषयमा पनि निर्णयमा पुग्ने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

पार्टीकै अधिवेशन हुन बाँकी जिल्लाको विषय पनि कार्यसम्पादन समितिको अजेन्डामा रहेको छ। तर शुक्रबार नै केन्द्रीय निर्वाचन समितिले अधिवेशनको मिति तोकिदिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणका कारण रोकिएका जिल्ला अधिवेशनहरू फागुन १३ गते गर्नेगरी मिति तोकेको जानकारी दिएका छन्। 

मधेस प्रदेशका आठसहित १६ जिल्लाको अधिवेशन हुन बाँकी छ। केही जिल्लामा वडा र गाउँपालिकाको अधिवेशनसमेत बाँकी रहेको जनाउँदै समितिले फागुन १० गतेभित्र अधिवेशन सक्न भनेको छ।

प्रकाशित: २९ माघ २०७८ ००:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App