coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ल्होसारले आपसी प्रेम, बन्धुत्व र एकता बढाउँछः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ल्होसारले प्रत्येक नेपालीबीच प्रेम, बन्धुत्व र एकता बढाउने विश्वास व्यक्त गरेका छन्।

गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध समुदायले मनाउने पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने बताए।

बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको उल्लेख गर्दै सन्देशमा नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता रहेको र गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यो पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको भनिएको छ।

गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन रहेको र यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन रहेको उल्लेख गर्दै सन्देशमा गुरुङ समुदायले धेरै पहिलादेखि संस्कृति र परम्पराको संरक्षण गर्दै आएको जनाइएको छ।

यस पर्वले अझै उक्त समुदायको मौलिक परम्परा र सांस्कृतिक महत्वको पक्षलाई उजागर गर्ने मुख्यमन्त्री पोखरेलले भनेका छन्। तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रकाशित: १५ पुस २०७८ ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App