२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद् अवरुद्ध भइरहँदा एमाले सांसद नै बेखुसी

प्रतिनिधिसभाको बैठक निरन्तर अवरोध गरिरहेको प्रतिपक्षी एमालेभित्र भने सांसदहरूको असन्तुष्टि बढ्न थालेको छ। यतिबेला एमाले सांसदबीच संसद् अवरुद्ध ठीक र बेठिक भन्ने खेमामा विमाजित हुन थालेका छन्। एमालेका केही सांसदले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्न नहुने तर्क अघि सारेका छन् भने केही सांसदहरू एमसिसीमा संसद्ले निर्णय गरेपछि मात्र संसद् बैठक सुचारु गर्नुपर्ने मत राखेका छन्। 

बाहिर भने एमालेले सभामुखको भूमिकामा प्रश्न उठाउँदै संसद् अवरुद्ध गरिरहेको छ। संसद् अवरुद्धले सरकारका काम कारबाही प्रति आलोचना गर्न नपाउँदा सरकारलाई हाइसन्चो भएको छ। अर्कोतर्फ एमाले सांसदले प्रतिपक्षको भूमिका झन् कमजोर भएको महसुस हुन थालेका छन्। सरकारलाई झकझकाउने अचुक औषधिको रूपमा जनताका आवाजको उठान नै भएको उनीहरूको ठहर छ। सरकारलाई संसद्प्रति जवाफदेही बनाउने र संसद् जनताप्रति उत्तरदायी बन्नका लागि संसद् अवरुद्ध गरेर होइन संसद्मा आवाज उठाएर नै गर्न सकिने भएकाले एमालेले संसद् अवरुद्ध गर्नुको अर्थ नभएको उनीहरू बताउँछन्।

जहिले पनि संसद् बन्धक हुनुले एमालेप्रति जनतामा नकारात्मक भावना पैदा हुनसक्ने पनि उनीहरूले औंल्याएका छन्। एमालेको निरन्तर संसद् अवरोधले नवौं अधिवेशनमा जनबोली बन्द भयो भने चालु अधिवेशनमा पनि जनबोली बन्द नै हुने अवस्था आएकोले यसको संसद्मै विरोध गर्ने तयारी गरेको एक एमाले सांसदले बताए।

‘आफ्नै पार्टी भए पनि संसद्मा हामीले सार्वभौम अधिकार प्रयोग गर्न पाउनुपर्दछ, त्यसैले संसद् अवरुद्ध हटाई जनताका आवाज उठाउने बाटो खोल्नुपर्छ भन्दै आफ्नो भनाई राख्ने तयारी गरेको छु,’ उनले भने। उनले आफूलाई एमाले अध्यक्ष तथा संसद्ीय दलका नेता केपी ओलीले कारबाही गरे पनि कुनै फरक नपर्ने बताए। एमालेभित्र खुलेर असन्तुष्टि व्यक्त गर्ने एमाले नेता भीम रावल मात्र देखिए पनि भित्रभित्र असन्तुष्टि धेरै नेता तथा सांसदको रहेको स्रोतले बतायो।

सभामुख अग्निप्रसाद सापकोटासँग पनि संसद्मा बोल्ने व्यवस्था गर्नुप¥यो भन्दै अन्य सांसदहरूले पनि गुनासो गर्न थालेका छन्। एमालेका धेरै जसो सांसदहरू एमालेको दशौं महाधिवेशन पछि एमाले अध्यक्ष केपी ओलीसँग चिढिएका छन्। अर्का एक सांसदले भने, ‘एमालेको महाधिवेशनपछि मनमा पीडा भएको छ अझ काँग्रेसको महाधिवेशन पछि झन् पीडामाथि पीडा थपेको छ। 

कांग्रेसको महाधिवेशन निकै लोकतान्त्रिक ढंगबाट सम्पन्न भयो, सबैले खुला प्रतिस्पर्धा गर्न पाए, हामीले त्यो अनुभूति गर्न पाएनौं,’ उनले भने। खुला प्रतिस्पर्धा भएको भए एमालेमा कांग्रेसमा भन्दा पहिले नै पदाधिकारीमा युवाहरूको वर्चश्व हुने उनले दाबी गरे। संसद् बैठकमा कतिपय एमाले सांसदहरू नारा लगाउनै मन नलागेर बाहिरतिर गएको पनि उनीहरूको भनाइ छ। संसद्मा दबाब दिने विभिन्न तरिका छन्, संसद्मा काम नै गर्न नदिनु भनेको हामीले सांसद भएर संसद्मा खेल्ने भूमिका नदिएको जस्तो भएको उनीहरू बताउँछन्। 

संसद्को अब एक वर्षको अवधिभित्र संसद् प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ छ। अर्कोपटक सांसदको टिकट पाइने हो वा होइन, पाए जितिने हो या होइन, तर यो पाँच वर्ष केही कामै नगरी बितेको जस्तो भएको भन्दै एमालेका एक सांसदले चिन्ता पनि प्रकट गरे। एमालेले अधिवेशनको सुरु दिन प्रतिनिधिसभातर्फ मंसिर २८ गते, दोस्रो बैठक पुस ६ गते र तेस्रो बैठक पुस ७ गते अवरुद्ध गरेको छ भने राष्ट्रियसभातर्फ मंसिर २८ र पुस ५ गरी दुईपटक अवरुद्ध गरेको छ। संसद्को अर्को बैठक पुस १८ गते बोलाइएको छ।  

विश्लेषकले पनि संसद् अवरुद्ध गर्ने मात्र प्रतिपक्षको काम नभई सरकारका कामको गुण र दोषका आधारमा भूमिका खेल्नुपर्ने बताएका छन्। एमालेले गरेको संसद् अवरुद्ध नितान्त राजनीतिक भएको उनीहरूको बुझाइ छ। संसद् विघटन गरेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद्लाई यस्तै बनाउन चाहेको पनि उनीहरूको तर्क छ।

प्रकाशित: ८ पुस २०७८ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App