७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस नेतृत्व चयनमा युवा प्रतिनिधि निर्णायकः पहिलो चरणमै जित्ने देउवा रणनीति, अन्यको दाउ दोस्रो चरणमा

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ। काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। सभापतिसहित १ सय ३४ पदका लागि हुने निर्वाचनमा ४ सय ९० जना प्रतिस्पर्धामा छन्।

५ सय ४८ जनाले शनिबार विभिन्न पदमा उम्मेदवारी दिए पनि सभापति र सहमहामन्त्रीका एकएकसहित ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। प्रदेश नम्बर २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्। उनीहरू दुवै देउवानिकटका हुन्।

अब १ सय ३२ पदमा मात्र निर्वाचन हुनेछ। सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्दै आइतबार फिर्ता लिएका छन्।

अब सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा,शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन्। वर्तमान सभापतिसमेत रहेका देउवा सोमबार हुने निर्वाचनबाटै परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्।

अन्य प्रत्याशी भने देउवालाई पहिलो चरणमा रोक्ने कसरतमा जुटेका छन्। पहिलो चरणमा देउवालाई रोक्दै दोस्रो चरणमा उनीविरुद्ध मोर्चाबन्दी गर्ने रणनीति अख्तियार गरेको निकट स्रोतहरूको दाबी छ।

देउवाविरुद्ध संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउन असफल भएका नेताहरू दोस्रो चरणमा उनको विकल्प खोज्न एकै ठाउँमा उभिने विश्लेषण गरिएको छ। त्यस्तो अवस्थामा पार्टीको १४औं महाधिवेशनले देउवाको विकल्प दिने नेताहरूको दाबी छ।

पहिलो चरणमा कसैले पनि सभापतिमा नजित्ने दाबी गर्दै सोही पदका उम्मेदवार विमलेन्द्र निधिले भने, ‘दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ। त्यस बेला देउवाइतर रहेका हामी सबै एक हुन्छौं। म, प्रकाशमान र शेखरमध्ये जसले बढी मत ल्याउँछ,सबैले उसैलाई सघाउँछौं।’

सभापतिका अर्का उम्मेदवार कोइरालाले भने आफू पहिलो चरणमै निर्वाचित हुने दाबी गरेका छन्। आफूसँग राम्रो टिम रहेको र पार्टीको पुरानो लिगेसी पनि रहेको दाबी गर्दै उनले भने, ‘ढुक्क हुनुहोस्, म पहिलो चरणमै सभापति जित्छु।’ तर संस्थापन इतरबाट पूर्वमहामन्त्री सिंहले पनि उम्मेदवारी दिएका कारण इतर पक्षका उम्मेदवारले पहिलो चरणमा विधानको व्यवस्थाअनुसार ५० प्रतिशत मत कटाउन कठिन रहेको विश्लेषण गरिएको छ।

पार्टीका दुई प्रभावशाली नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री शशांक कोइराला शेखर र प्रकाशमान दुवैका पक्षमा खुलेका छैनन्। त्यसको असर सिंह र शेखर दुवैलाई पर्नसक्ने विश्लेषण गरिएको छ। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला पनि सिंह समूहबाट उपसभापतिको उम्मेदवार बनेकी छन्।

त्यसले शेखरलाई कति नोक्सान गर्छ र सिंहलाई कति लाभ पुग्छ, निश्चित छैन। तर उनीहरू दुवै प्रतिस्पर्धामा उत्रिँदा पहिलो चरणमा विधानको व्यवस्था अनुसारको मत प्राप्त गर्न भने कठिन हुनसक्ने निकटहरूको बुझाइ छ।

दोस्रो चरणमा सभापतिको निर्वाचन जाँदा शेखर, सिंह, निधि र गुरुङ एकै ठाउँमा उभिने अवस्था आउने निकटहरूको बुझाइ छ। 

देउवालाई पहिलो चरणमा सभापतिमा निर्वाचित हुन संस्थापन पक्षबाटै सभापतिको उम्मेदवार बनेका निधिले रोक्ने उनीहरूको बुझाइ छ। संस्थापन इतर समूहमा मात्र नभएर संस्थापन पक्षमा पनि देउवा र निधि सभापतिको प्रत्याशी बनेको कुरालाई भुल्न नहुने बताइन्छ। तर संस्थापन पक्षले भने पहिलो चरणमै देउवाले बहुमत ल्याउने दाबी गर्दै आएको छ।

१३औं महाधिवेशनबाट आएको संस्थापन पक्ष एक ठाउँमा रहेको जिकिर गर्दै देउवा निकट नेताहरू पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहकोे समर्थन आफूहरूलाई रहेको बताउँछन्। अघिल्लो महाधिवेशनभन्दा यो महाधिवेशनमा सांगठनिकरूपमा पनि आफूहरू बलियो रहेको दाबी गर्दै उनीहरू विजयकुमार गच्छदार,सुनिल थापासहितको समर्थनले पनि पहिलो चरणमै परिणाम आफ्नो पक्षमा पार्न सहयोगी बन्ने बताउँछन्।

गच्छदार र थापा समूहको सहयोग निवर्तमान उपसभापति निधिले टिम छाड्दाको असर परिपूर्ति हुने उनीहरूको विश्लेषण छ। सिटौला पक्षको समर्थनले बहुमत जुटाउन सहयोगी बन्ने उनीहरूको विश्लेषण छ। ‘सभापतिको निर्वाचन दोस्रो चरणमा जाँदैन,’ देउवा निकट एक नेताले भने, ‘कथम गइहाल्यो भने पनि देउवाको विकल्प देउवा नै हो।’

दोस्रो चरणको प्रतिस्पर्धामा सिंह आउँदा परिस्थिति अलि भिन्न हुने देउवा पक्षको विश्लेषण छ। अन्यथा दोस्रो चरणमा सिंहको समर्थन देउवालाई रहने यस पक्षको दाबी छ।

‘प्रकाश दाइले शेखर डाक्टरसापका नेतृत्व अस्वीकार गरेर आफैं उठ्नुभयो। उहाँले पनि प्रकाश दाइलाई अस्वीकार गरेर मैदानमा उत्रिएपछि कसरी फेरि एक ठाउँमा उभिनुहोला?’ देउवा पक्षका एक नेता भन्छन्, ‘त्यस्तो सम्भावना कमै छ।’

१३औं महाधिवेशनबाट देउवालाई पार्टी नेतृत्वमा पुर्‍याउन सहयोगी भूमिका निर्वाह गरेका पूर्वमहामन्त्री सिटौलाले अहिले उनलाई जिताउन खुलेर लागेको बताए। देउवाको टिममा परिपक्वदेखि युवासम्म रहेको बताउँदै सिटौलाले आइतबार राजधानीमा आयोजित कार्यक्रममा भने,‘शेरबहादुर देउवालाई सभापतिमा किन निरन्तरता नदिने? के बिग्रिएको छ? अबको केही महिनापछि चुनाव गर्नुपर्नेछ।

सभापतिमा हारेको प्रधानमन्त्री बोकेर चुनावमा जाने होइन,जितेको सभापतिसहित उच्च मनोबलका साथ जानुपर्छ।’ देउवा पहिलो चरणमै सभापतिमा निर्वाचित हुने सिटौलाको विश्लेषण छ।

कांग्रेसलाई पूर्ण समावेशी बनाउँदै संशोधित विधानअनुसार पहिलो पटक भएको महाधिवेशनमा युवा प्रतिनिधित्व धेरै रहेको भन्दै नयाँ नेतृत्व चयनमा उनीहरू नै निर्णायक हुनेछन्।

पुरातन गुटअनुसार नै महाधिवेशन प्रतिनिधि छनोट भएका थिए। तर महाधिवेशनसम्म आइपुग्दा पुराना गुटहरू तितरबितर भएका छन्। त्यस्तो अवस्थामा नयाँ महाधिवेशन प्रतिनिधिको रोजाइमा सभापतिका पाँच उम्मेदवारमध्ये कसलाई रोज्छन्, आकलन गर्न कठिन छ।

त्यस्तै दुई उपसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, सुजाता कोइराला, महेश आचार्य, चन्द्र भण्डारी,धनराज गुरुङ, दिश्येश्वरी शाह उपसभापतिको प्रतिस्पर्धामा छन्। खड्का र गच्छदार देउवा समूह तथा गुरुङ र भण्डारी कोइराला समूहबाट उपसभापतिको उम्मेदवार बनेका हुन्।

सुजाता सिंहको समूहबाट र शाह निधिको समूहबाट उपसभापतिको उम्मेदवार भने पनि आचार्य कुनै पनि सभापतिको उम्मेदवारसँग जोडिएका छैनन्।

महामन्त्रीमा रोचक प्रतिस्पर्धा

दुई महामन्त्री पदमा तीन युवासहित ६ जना नेता प्रतिस्पर्धामा छन् भने दोस्रो पुस्ताका तीन डाक्टर मैदानमा छन्। नेपाल विद्यार्थी संघदेखि सहकार्य गर्दै आएका विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल तीनै जना महामन्त्रीको प्रतिस्पर्धामा छन्। सभापतिका तीन फरक उम्मेदवारसँग जोडिएर उनीहरू महामन्त्रीको प्रतिस्पर्धामा खडा भएका छन्।

देउवा समूहबाट प्रदीप, शेखर समूहबाट गगन र सिंह समूहबाट विश्व महामन्त्रीको उम्मेदवार बनेका हुन्। उनीहरूबीच महामन्त्रीमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। त्यस्तै, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र डा. राजाराम कार्कीले पनि महामन्त्रीमा उम्मेदवारी दिएका छन्।

उनीहरू तीनै जना पनि फरकफरक सभापतिका उम्मेदवारसँग जोडिएका छन्। महतले देउवा, रिजालले शेखर र कार्कीले निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका हुन्। महामन्त्रीमा रिजाल र महत मात्र होइन,गगन, प्रदीप र विश्वबीच कडा प्रतिस्पर्धा हुनेछ। दोस्रो र तेस्रो पुस्ताबीचको महामन्त्रीको प्रतिस्पर्धालाई सबैले चासोका साथ हेरेका छन्।

बिहानैदेखि प्रचार

कांग्रेसका विभिन्न पदमा उम्मेदवार बनेका नेता मात्र होइन, उनीहरूका सहयोगीले आइतबार बिहानैदेखि प्रदर्शनी मार्गमा आआफ्ना उम्मेदवारको प्रचार गरेका छन्। पार्टीका पुराना नेताहरू प्रचारमा फिक्का देखिएका छन् भने युवाहरूको भड्किलो प्रचार देख्न सकिन्थ्यो।

विभिन्न जातजातिको भेषभूषा झल्कने पोसाककसहित उम्मेदवारको प्रचारमा नेता तथा कार्यकर्ता जुटेका थिए। सभापतिका सबै उम्मेदवार भृकुटीमण्डपमै आएर महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न सक्रिय भएका थिए। निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न रातिसम्म अन्तिम कसरतमा रहेका उनीहरू बिहानैदेखि विभिन्न कार्यक्रम र भेटघाटमा सक्रिय थिए।

यस्तो छ मतदानको व्यवस्था

सोमबार हुने निर्वाचनका लागि राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा दुईवटा मतदान केन्द्र बनाइएको सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। मतदान स्थलको बुथ निर्माणसहितको तयारी पूरा भइसकेको जनाउँदै उनले बिहानसम्ममा मतपत्र छाप्ने काम सकिने बताए। उनले भने, ‘बिहान ८ देखि ५ बजेसम्म मतदानको कार्यतालिका छ। सोही अनुसार निर्वाचन अघि बढ्छ।’

ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ। राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय सदस्य, जनसम्पर्क समिति, भ्रातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन्। भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश २ र गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधि र भृकुटीमण्डपको प्रदर्शनी हलभित्र प्रदेश १,बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय सभागृहमा २ सय ९३,भृकुटीमण्डप प्राङ्गणमा २ सय ९३ र भृकुटीमण्डपको हलमा ५ सय १४ बुथ राखिएको छ। मतदान सकिलगत्तै सभापतिबाहेक अन्य पदको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा राख्ने श्रेष्ठले जानकारी दिए। सभापतिको भने निर्वाचनलगतै राष्ट्रिय सभागृहमा मतगणना गरिने जानकारी दिँदै उनले भने, ‘तीनचार ठाउँमा गणना गर्दा ३/४ घण्टामा परिणाम आउँछ।’ मतदानमा चार हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।

प्रकाशित: २७ मंसिर २०७८ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App