९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन: गुट तितरबितर, सभापतिमा ६ उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि ६ नेताले पार्टी सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस निर्वाचन समितिले निर्धारण गरेको समयभित्र सभापति पदमा वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिएका हुन्। त्यस्तै, कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। देउवा र कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने निधि र सिंहले पनि पदाधिकारीमा केही नेतालाई मैदान उतारेका छन्।  

संस्थापन र इतर दुवै पक्षबाट दुईदुई नेता सभापतिमा खडा भएसँगै कांग्रेसमा २०६४ सालदेखि विद्यमान गुटहरू अहिले तितरबितर बनेका छन्। संस्थापन पक्षबाट देउवा र निधिले सभापतिमा उम्मेदवारी दिएका छन्। देउवाको विकल्प खोज्नुपर्ने भन्दै आएका संस्थापन इतर पक्ष पनि एक ठाउँमा उभिन असफल भए। सहमतिका लागि भएको लामो प्रयास असफल भएपछि नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला नेतृत्वको दौडबाट बाहिरिएका छन्। पूर्वमहामन्त्री सिंह र शेखर मैदानमा खडा भएका छन्। १३औं महाधिवेशनबाट उदाएको कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धार देउवा समूहमा विलय भएको छ।  

देउवालाई सभापतिमा सहयोग गर्दै सिटौलाले आफूनिकट युवा नेता प्रदीप पौडेललाई पार्टी महामन्त्रीमा खडा गरेका छन्। देउवा समूहबाट अर्काे महामन्त्रीमा प्रकाशशरण महतलाई मैदानमा उतारिएको छ। महामन्त्रीमा दाबी गर्दै आएका बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदले खुलातर्फको केन्द्रीयमा उम्मेदवारी दिएका छन्। देउवा समूहकै महामन्त्रीका आकांक्षी विश्वप्रकाश शर्माले समूह छाडेका छन्। संस्थापन इतर समूहमा सक्रिय नेता सिंहको समूहमा जोडिँदै शर्माले महामन्त्रीको उम्मेदवारी दिएका छन्। देउवा समूहमा सिटौला हाबी भएपछि झापाका शर्मा त्यसबाट अलग्गिएर सिंहसँग जोडिन पुगेका हुन्। सिंह लौहपुरुष गणेशमान सिंहका छोरा हुन्।  

दुई उपसभापति पदमा देउवा समूहबाट विजय गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दिएका छन्। त्यस्तै, समावेशी सहमहामन्त्रीमा आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर विक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस–आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन्। थारूबाट सहमहामन्त्री उम्मेदवार चौधरी सिटौलानिकट नेता हुन्।  

देउवाविरुद्ध खडा भएका शेखर कोइरालाले उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई खडा गरेका छन्। तर, शेखरलाई नेतृत्व अस्वीकार गर्दै मैदान खडा भएका सिंहको समूहमा सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन्। नेता रामचन्द्र पौडेललाई सभापतिको प्रत्यासी बनाउनुपर्ने प्रस्ताव गरेका भाइ शशांक नै असन्तुष्ट रहेका बेला बहिनी सुजाताले पनि शेखरको साथ छाडेकी छन्। सभापतिको उम्मेदवार बनेका शेखर केशव कोइरालाका छोरा हुन् भने शशांक, बिपी र सुजाता गिरिजाप्रसादका छोराछोरी हुन्। 

कोइराला परिवारका नातेदारसमेत रहेका कांग्रेस नेता महेश आचार्य सभापतिको कुनै उम्मेदवारसँग नजोडिईकन उपसभापतिको प्रत्यासी बनेका छन्। शेखर समूहबाट समावेशी आठ सहमहामन्त्री खसआर्यमा देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितमा जीवन परियार, आदिवासी जनजातिमा विकास लामा, महिलामा कमला पन्त, मधेसीमा रामकृष्ण यादव, थारूमा तेजुलाल चौधरी र मुस्लिम वकिल मियाँ उम्मेदवारी दिएका छन्। निधिको समूहबाट उपसभापतिमा दिव्यश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। निधि कांग्रेसका नेता महेन्द्रनारायण निधिका छोरा हुन्।

सधैंका प्रतिस्पर्धी

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतभन्दा रक्षामन्त्री मीनेन्द्र रिजाल दुई वर्ष जेठा छन्। नुवाकोटका महत र धरानका रिजाल लामो समय एउटै गुट मात्र होइन, पार्टी र राज्यका विभिन्न निकायमा बसेर काम गरेका छन्। २०३६ सालमा रिजाल नेपाल विद्यार्थी संघ (नेविसंघ) को उपाध्यक्ष बने भने महत केन्द्रीय सदस्य। महत २०४४ सालमा नेविसंघको महामन्त्री बने भने २०७५ मा पार्टीका सहमहामन्त्री। विद्यार्थी राजनीतिदेखि पार्टीको यी दुईबीचको प्रतिस्पर्धा १४औं महाधिवेशनसम्म हुने भएको छ। रिजाल र महत दुवै नेता पार्टी महामन्त्रीमा उम्मेदवारी दिएका छन्।पार्टीको १२औं महाधिवेशनपछि ‘को सिनियर ?’ भन्ने हानथापले महिनांैसम्म निर्णय पुस्तिकामा यी दुई नेताले हस्ताक्षर नगरेको घटनासमेत रहेको छ। उक्त विवाद लामो समय चलेपछि कांग्रेसले पार्टीभित्र बेलाबेलामा देखिने वरीयताक्रमको छिनोफानो गर्न समिति नै बनाएको थियो। राष्ट्रिय योजना आयोगको सदस्यदेखि प्रधानमन्त्रीको सल्लाहकार हुँदै पार्टी र सरकारको जिम्मेवारीमा कहिले सँगै त कहिले आलोपालोमा पुग्दै आएका उनीहरू अहिले महामन्त्रीको प्रतिस्पर्धामा छन्।

त्यस्तै, केन्द्रीय सदस्य गगनकुमार थापा र प्रदीप पौडेल पनि समकालीन हुन्। उमेरले थापाभन्दा पौडेल केही जेठा छन्। तर, स्कुल एकाइदेखि सुरु भएको उनीहरूको प्रतिस्पर्धा पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पनि हुने देखिएको छ। पौडेलभन्दा पहिला थापा सांसद, केन्द्रीय सदस्य, मन्त्री र महामन्त्रीको उम्मेदवार भइसकेका छन्। तर, नेविसंघको राजनीतिमा थापालाई पछि पार्दै पौडेल अध्यक्षको जिम्मेवारीमा पुग्न सफल भए। चितवनमा भएको संघको महाधिवेशनमा अध्यक्षको प्रत्यासी बन्ने तयारीमा रहेका थापासँग पौडेल प्रतिस्पर्धाको पक्षमा उभिए। त्यसपछि थापाले अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्दै पौडेललाई समर्थन गरेका थिए।

१३औं महाधिवेशमा थापा र पौडेल दुवै सिटौला समूहमा थिए। अहिले थापा उक्त समूहबाट अलग भएर शेखर कोइरालाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन्। पौडेलसहित सिटौला समूह शेरबहादुर देउवासँग चुनावी तालमेल गर्दै अघि बढेको छ। पौडेल देउवाको महामन्त्रीको उम्मेदवार बनेका छन्।  

थापा र पौडेल मात्र होइनन्, नेविसंघमा एउटै स्कुलिङबाट अघि बढेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमै उम्मेदवारी दिएका छन्। पार्टी प्रवक्ताका रूपमा शेरबहादुर देउवालाई नजिकबाट सहयोग गरेका शर्मा महामन्त्रीमा भने पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहमा जोडिन पुगेका छन्। शर्माभन्दा पौडेल झन्डै सात वर्षपछि २०६४ सालमा संघको नेतृत्वमा पुगेका हुन् भने थापा संघको अध्यक्ष नै बन्न सकेनन्। १३औं महाधिवेशनबाट तितरबितर भएका उनीहरू १४औं महाधिवेशनसम्म आइपुग्दा अझ टाढा भएका छन्। नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिसम्म सम्पर्क, सम्बन्ध र सहभागिता करिबकरिब उही उमेर समूह र नेता तथा कार्यकर्तासँग रहेको छ।

प्रकाशित: २६ मंसिर २०७८ ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App