१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनः पार्टीलाई सुदृढ बनाएर अघि बढाउने अवसर

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत । तस्बिरः विजय राई/नागरि

अन्योल र अनिश्चयबीच नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु भएको छ। उत्साह,एकता,रूपान्तरण भन्ने मूल नारासहित भृकुटीमण्डपमा कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गरे।

उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधानको रक्षा गर्दै समाज परिवर्तनका लागि पार्टीलाई अझ सबल र सक्षम बनाएर अघि बढ्नुपर्ने र त्यसका लागि नेता कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिए।

मुलुकमा कांग्रेस कमजोर हुँदा परिवर्तन नै संकटमा पर्ने गरेको प्रसंग कोट्याउँदै कांग्रेसका शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्रसहितको अहिलेको शासन व्यवस्थालाई सार्थक बनाउन अब हुने तीन तहको निर्वाचन कांग्रेसले जित्नैपर्ने बताए।

देउवाले कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको डरत्रासबाट जनतालाई मुक्ति दिएको भन्दै अब त्यस्तो अवस्था आउन नदिन नेता कार्यकर्ता सचेत हुनुपर्ने बताए। फेरि सभापतिको प्रत्यासी बन्ने तयारीमा रहेका देउवाले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन आफू तयार रहेको दाबी गरे। ‘साथीहरू तपाईंहरूलाई थाहै छ,हाम्रो देशभर कस्तो अवस्था थियो,सारा साथीहरू डराउनुपर्ने अवस्था थियो। डरत्रासको अवस्था थियो,’ देउवाले भने, ‘म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको महसुस गरे।’

प्रधानमन्त्रीसमेत रहेका देउवाले अब देशमा डरत्रासको अवस्था आउन नदिन र कांग्रेसलाई आगामी निर्वाचनमा जिताउनका लागि फेरि आफूलाई सभापति बनाउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे। ‘कांग्रेसलाई एकताबद्ध र बलियो बनाउन यो महाधिवेशनले थप आधार तयार गर्छ,गर्नुपर्छ। यो महाधिवेशनले जनतालाई डरत्रासबाट मुक्त गर्ने कि नगर्ने भन्ने पनि निर्धारण गर्नुपर्छ,’ देउवाले भने, ‘त्यो निर्णय गरेको खण्डमा अब गाउँदेखि केन्द्रसम्मै कांग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो।’

महाधिवेशन प्रतिनिधि कतै सहमति त कतै प्रतिस्पर्धाबाट छानिएर आएको उल्लेख गर्दै देउवाले अब मनोमालिन्यबाट मुक्त हुनुपर्ने बताए। आन्तरिक निर्वाचनका कारण आगामी निर्वाचनमा त्यसको असर पर्न नहुने भन्दै देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन आफू प्रतिबद्ध रहेको दोहोर्‍याए। 

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले महाधिवेशनले पार्टीलाई सबल, सक्षम र एकताबद्ध बनाउनुपर्ने बताए। आफूले अपमान सहेर पनि पार्टी एकता कायम राखेको बताउँदै पौडेलले कार्यकर्ताको मात्र नभएर नेताको पनि मूल्यांकन गर्न आग्रह गरे। ‘कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ।

जब कार्यकर्तासँग त्यो क्षमता हुन्छ,तबमात्रै हामी अघि बढ्न सक्छौं,’ पौडेलले भने, ‘अहिले हाम्रो पार्टीको गति रोकिएको छ, पार्टीलाई यो अवस्थाबाट अगाडि बढाउनका लागि यो महाधिवेशन एउटा अवसर हो। परिवर्तन आजको आवश्यकता हो। परिवर्तित भएर काम गरौं।’

पार्टीभित्र आन्तरिक लोकतन्त्र, विधि, पद्धति र समयबद्ध काम गर्ने परिपाटी अन्त्य भएको बताउँदै पौडेलले आन्तरिक लोकतन्त्र मजबुत नभएसम्म प्रतिपक्षी दलसँगको प्रतिस्पर्धा कठिन रहेको औंल्याए। ‘हामीले अहिले नीति तथा कार्यक्रमका बारेमा गम्भीर छलफल गर्नुपर्ने थियो तर हामीले व्यवस्थित रूपमा महाधिवेशन गर्न सकेनौं, बेलामा हुन सकेन,’ पौडेलले भने, ‘जसले गर्दा हडबडमा महाधिवेशन सम्पन्न गर्नुपरेको छ, विधि पुर्‍याउने कुरामा मात्रै सीमित हुन पुगेका छौं।

यसले पार्टीलाई नयाँ रक्तसञ्चार गर्न सक्दैन।’ एक वर्षभित्र हुने तीन तहको निर्वाचनमा विरोधी शक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहेको औंल्याउँदै पौडेलले भने, ‘नेपालको राजनीतिमा हामीले धेरै विरोधीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ,त्यो निकै कठिन छ, त्यो ज्यादै उकालो छ,विरोधीसँग जुध्न सक्ने नेतृत्व चयन अहिलेको आवश्यकता हो।’

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुने भए पनि यसअघिको निर्वाचनमा कांग्रेस किन पराजित भयो भन्ने प्रश्न गर्दै पौडेलले त्यसको कारण खोज्न पनि नेता कार्यकर्तालाई आग्रह गरे। उनले पहुँच र पार्टीमा लागेका आधारमा नभएर सामान्य जनताले न्याय पाउने अवस्था बनाउन कांग्रेस लाग्नुपर्ने बताए।

भ्रष्टाचार, कमिसनतन्त्रले मुलुक मात्र नभएर पार्टीहरू पनि आक्रान्त बनेको बताउँदै पौडेलले पार्टीलाई विकृति र विसंगतिबाट मुक्त गर्न राजनीतिमै सुधार आवश्यक रहेको औंल्याए।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले संविधानसभाबाट जारी संविधान र राजनीतिक प्रणालीमाथि प्रश्न उठ्न थालेको बताए। संविधानको रक्षा गर्दै सफल कार्यान्वयनका लागि कांग्रेसले आगामी निर्वाचन जित्नैपर्ने निधिले बताए।

कांग्रेसले मात्र संविधान र शासन प्रणाली जोगाउन सक्ने र त्यसका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनले बताए। पार्टीमा एकता कायम गर्न नेतृत्व सर्वसम्मत रूपबाट छान्नु राम्रो हुने बताउँदै निधिले भने, ‘सकिन्छ भने सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नु राम्रो हो, नभए मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर सबल नेतृत्व चुनौं।’

लोकतन्त्रमा विश्वास गर्ने पार्टी नेपालमा कांग्रेस मात्र रहेको दाबी निधिले गरे। युवा पुस्तालाई देशको राजनीतिक प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिँदै उनले भने, ‘त्यो भनेको झोला बोक्नेमात्रै होइन, नेतृत्व विकासका लागि सहजताको भूमिका खेल्ने हो।’ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको राजनीति फोहोर बन्दै गएकाले सुधारेर अघि बढाउनु अहिलेको चुनौती रहेको बताए।

अहिले संविधान र लोकतन्त्रमाथि संकटपूर्ण अवस्था रहेकाले त्यसलाई चिर्दै अघि बढ्न कांग्रेसले फेरि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। ‘संविधानमाथि चुनौती छ,हाम्रो डेमोक्रेसी संकटमा छ,’उनले भने,‘सरकार, संसद् र न्यायपालिकामाथि मेरो धेरै टिप्पणी छैन तर जसरी चल्नुपथ्र्योे त्यसरी चलेको छैन।’

पार्टीभित्र एकता कायम नभए आगामी निर्वाचन जित्न नसकिने भन्दै सिटौलाले कांग्रेसले आफैंलाई सुधारेर जनतासँग जोड्नुपर्नेमा जोड दिए। १३औं महाधिवेशनदेखि अहिलेसम्म आउँदा पार्टीभित्र धेरै उतारचढाब देखिएको औंल्याउँदै उनले भने,‘प्रतिस्पर्धाबाट हाम्रो मानसिकता गहिरिएको छ तर त्यसलाई पुरेर महाधिवेशनपछि पार्टी एकतालाई कसरी मजबुत गर्ने भन्नेतिर हामीले सोच्नुपर्ने हुन्छ,प्रतिस्पर्धा गर्दैगर्दा महाधिवेशनपछि हाम्रो पार्टीभित्र सम्पूर्ण एकता आवश्यक छ, त्यो भएन भने हामीले आगामी चुनावमा जित हासिल गर्न सक्दैनौं।’

ओलीको शुभकामनाः कांग्रेस बलियो बनोस्  

महाधिवेशन उद्घाटन सत्रमा सहभागी विभिन्न दलका नेताहरूले पनि कांग्रेसलाई अझै सबल र बलियो बन्न शुभकामना दिएका छन्।

लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि कांग्रेससँग मिलेर अघि बढ्न आफूहरू तयार रहेको जनाउँदै कार्यक्रममा सहभागी विभिन्न दलका नेताहरूले १४औं महाधिवेशनपछि कांग्रेस अझै स्पष्ट भएर प्रस्तुत हुने विश्वास व्यक्त गरेका थिए।

प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अभिभ ारा पूरा गर्न एमाले कांग्रेसलाई साथ दिन र सँगसँगै हिँड्न तयार रहेको बताए। कांग्रेसलाई अरूको अजेन्डा नभएर आफ्नै नीति तथा कार्यक्रममा अघि बढ्न आग्रह गर्दै ओलीले भने,‘देश बनाउन सँगै जाने कुरामा नेपाली कांग्रेसको साथमै छ नेकपा एमाले।’ एमाले अहिले सरकारमा नभए पनि मुलुक निर्माणका लागि प्रतिपक्षी दलको हैसियतमा सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै ओलीले भने,‘हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं। हामी सरकारमा नरहे पनि लोकतन्त्रको सवालमा साथमा छौं। लोकतन्त्रका लागि हामी सँगै लडेका हैनौं? प्रतिपक्ष भनेको संसद्को अंग होइन?’

कांग्रेसले अन्य दललाई साथ लिएर सरकार बनाएका प्रति असन्तुष्ट ओलीले कतिपयमा सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता रहेको बताए। ‘केही साना दललाई कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पिर छ,’ ओलीले भने,‘नेपाली कांग्रेस सबैलाई साथ लिएर चलोस्,अरूको नीतिमा होइन,आफ्नो नीतिमा हिँडोस्। शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन, सरकार प्रमुख हुनुस् भन्ने शुभकामना छ।’

नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्नु आश्चर्य भएको ओलीले बताए। राजतन्त्रका पक्षमा विभिन्न पक्षबाट वकालत हुँदै आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइप्रति ओलीले रोष प्रकट गरे। ‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन? हरेक नेता चोर हुन्छ? यस्ता कुरा बोकेर हिँड्ने?’ ओलीले भने,‘भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई। त्यस रापतापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलि बढी कुद्छ क्या।’ अध्यक्ष भएको रापताप अलि समयपछि सेलाउने टिप्पणी पनि ओलीले गरे। लिङ्देन मंसिर १९ गते राप्रपा अध्यक्षमा निर्वाचित भएका थिए।

अहंकार गरे ओरालो लागिन्छः दाहाल

उद्घाटन सत्रलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रका लागि लडेका पार्टी र तिनका नेतालाई कमजोर देखाउने काम हुन थालेको बताए। ‘लोकतन्त्रका लागि संघर्ष गरेका पार्टीलाई कमजोर देखाउन खोजिएको छ। यो निरंकुशता र तानाशाही जन्माउने षड्यन्त्र होे। त्यसैले हामी सतर्क हुन जरुरी छ।’

मुलुकमा परिवर्तनलाई संस्थागत गर्न र आर्थिक विकासका लागि सबै दलहरू विगतमा जस्तै मिलेर अघि बढ्नुपर्ने धारणा राख्दै दाहाल एक्लै हिँड्ने अहंकार नगर्न कांग्रेसका नेताहरूलाई आग्रह गरे। शान्तिसम्झौताका बाँकी काम सक्न मात्र होइन,परिवर्तनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको उनले बताए। ‘कहिलेकाहीं म सुन्छु,साथीहरू एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’दाहालले भने, ‘एक्लै हिँड्ने अहंकार हामी कसैले पनि नगरौं। हामी मिलेरै हिँड्ने हो।’

राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता कायम राख्नुपर्नेमा जोड दिँदै उनले एक्लै हिँड्न खोज्ने ओरालो लाग्ने दाबी गरे।‘अहिले हामीले जे सफलता भनेका छौं, त्यो गठबन्धनबाट प्राप्त भएको हो,’ दाहालले भने, ‘२०४६ सालको जनआन्दोलन, बृहत् शान्तिसम्झौता र ०६२/६३ सालको सफलता दलहरूबीचको एकताको परिणाम हो। एक्लै हिँड्ने अहंकार गर्दा ओरालो यात्रा सुरु हुन्छ। उही ओरालो झर्छ।’

सत्तामा पुगेपछि राजनीतिक दलहरूले एकता र सहकार्यको भावना त्यागेर अहंकार गरेको पनि उनले बताए। ठूलो भएपछि मनोगतवाद र अहंकार देखिने गरेको भन्दै दाहालले २०६४ सालको संविधानसभा निर्वाचन जित्दा पनि त्यस्तै अनुभव गरेको सुनाए। त्यो मुलुक र जनताको जनादेशविपरीत रहेको बताउँदै दाहालले भने, ‘जनतासँग गरेको बाचा र प्रतिज्ञाविपरीत हामीले धर्ती छाड्ने गरेका छौं। यसको समीक्षा जरुरी छ।’  

राजाले नयाँ पार्टी खोले हुन्छः नेपाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजावादीका अध्यक्षले माधवकुमार नेपालले राजनीतिमा कालो बादल मडारिएको बताए। प्रतिगामीहरू हावी हुन थालेको भन्दै उनले नेपालमा फेरि राजतन्त्रको भविष्य नभएको बताए। ‘नेपालको राजनीतिमा कालो बादल मडार्न खोजिएको छ। सावधान! भन्न चाहन्छु म प्रतिगामी तत्वलाई,अब राजतन्त्रको कुनै भविष्य छैन, नेपाली जनता फेरि कसैको शासनमा बस्न तयार छैनन्,’ नेपालले भने।

उनले राजाको वकालत नगर्न चेतावनीसमेत दिए। ‘राजाले पनि एउटा नयाँ पार्टी खोले हुन्छ, नभए एउटा व्यापार गरे हुन्छ। राष्ट्रियताको रक्षा हामी आफैंले गर्न सक्छौं। विकास र समृद्धिको यात्रामा हामी अघि बढ्नुपर्छ,’उनले भने।

अध्यक्ष नेपालले १६ वर्ष पहिले दलहरू लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरू उपाय छैन भन्ने निष्कर्षमा पुगेको स्मरण गर्दै प्रतिगामीहरूलाई टाउको नउठाउन चेतावनी दिए। ‘प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगरे हुन्छ, अब नदीको प्रवाह अगाडि बढिसकेको छ,’ नेपालले भने।

उनले नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको जिकिर गरे। ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ। तर एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन,’ नेपालले भने। राज्यसत्ता र पार्टीभित्र विकृति फैलाएको टुलुटुलु हेरर बस्न नसकिने उनले बताए।

एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै उनले लोकतन्त्रको सफलताका लागि अरूको सम्मान, अरूको मर्यादा गर्ने परिपाटी बसाल्नुपर्ने बताए।

फेरि सडकमा उत्रिन बाध्य नपारियोसः ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संविधानप्रति आफूहरूको असन्तुष्टि कायमै रहेको बताए। थरुहट–मधेस आन्दोलनका क्रममा थुप्रै नेता कार्यकर्तामाथि मुद्दा लगाएको र केही अझै पनि जेलमा रहेको ठाकुरले बताए। ‘हामी हाम्रो समस्याको सम्बोधन चाहन्छौं। होइन भने ज्वालामुखी जस्तै विस्फोट हुन्छ, हामी फेरि सडकमा उत्रन बाध्य हुन्छौं,’ उनले भने।

बाह्य हस्तक्षेप रोकौः मैनाली

नेकपा मालेका महासचिव सीपी मैनालीले नेपालमा हरेक परिवर्तन र प्रजातान्त्रिक आन्दोलनपछि भएको परिवर्तनसँगै बाह्य हस्तक्षेप पनि बढेको बताए। प्रजातान्त्रिक अभ्यास गर्दैगर्दा, परिवर्तन ल्याउँदै गर्दा बाह्य अवाञ्छित प्रभाव पनि भित्रिएको भन्दै उनले प्रश्न गरे, ‘बाह्य हस्तक्षेप रोक्नेतिर हाम्रो ध्यान किन गएन ? बाह्य हस्तक्षेपप्रति ध्यान नदिँदा नेपाल अहिलेको अवस्थामा आइपुगेको छ।’

दलले विश्वास गुमाएः लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सबै राजनीतिक दलहरूले जनताको विश्वास गुमाएको बताए। ‘म यतिबेला सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु, देशको राजनीति अहिले आमजनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ,’उनले भने, ‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन,अदालत अदालत जस्तो छैन। यो सबलाई ठीक लगाउने कसले? यसलाई ठीक लगाउने राजनीति हो। तर राजनीति ठीक छैन। यो राजनीति ठीक लगाउने नेताहरूले हो।

तर नेताहरूले पूर्णरूपमा जनताको विश्वास गुमाएको अवस्था छ। जनताले नेताको नामै सुन्न नचाहने अवस्था आएको छ। जनताले नेताको नाम सम्झिँदैनन्। कुनचाहिँ चोर आएछ आज भन्छन्। हाम्रो अवस्था यस्तो छ।’

मञ्चमा सबै दलका शीर्ष नेता देख्दा भाजपा प्रतिनिधि छक्क

महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतीय जनता पार्टी (भाजपा) का नेता हर्षवर्द्धनले एउटा पार्टीको मञ्चमा मुलुकका सबै दलका शीर्ष नेताले सहभागिता जनाउने प्रचलन आफूले नेपालमा मात्रै देखेको बताएका छन्। मञ्चमा सबै राजनीतिक दलका शीर्ष नेताको उपस्थितिलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्।

महाधिवेशनको सफलताका लागि मन्तव्य व्यक्त गर्ने क्रममा उनले आफूले पहिलोपटक एउटै मञ्चमा धेरै दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरू देखेको बताएका थिए। उनले यसो भनिरहँदा सहभागीबीच हाँसोको लहर चलेको थियो। उनले राजनीतिक दलहरूबीच विचारको मतभिन्नता भए पनि नेतृत्वमा पुग्नेले ठूलो मन बनाउनुपर्ने बताए।

नेपाली जनताको दुःखमा भारत सधैँ साथमा रहेको उल्लेख गर्दै उनले २०७२ सालको भूकम्प र कोरोना महामारीमा पनि भारतले नेपाललाई दिल खोलेर सहयोग गरेको बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताए। ‘मैले प्रधानमन्त्री मोदीको धड्कन महसुस गर्न सक्छु,उहाँले नेपालसँगको सम्बन्धलाई उच्च महत्वमा राख्नुभएको छ,’ उनले भने। उनले प्रधानमन्त्री मोदी,भाजपा अध्यक्ष जेपी नड्डा र भारतीय जनताका तर्फबाट नेपाली कांग्रेसको महाधिवेशन सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

त्यस्तै महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वास्निकले शान्ति, स्थायित्व र विकासको बाटोमा नेपाल अघि बढोस् भन्दै शुभेक्षा व्यक्त गरे। दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको र द्विपक्षीय उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई थप सुमधुर बनाएको उनको भनाइ थियो।

उनले भारतले नेपाललाई उच्च महत्वमा राखेको बताए। उनले नेपालसँगको भाइचारा, मित्रता र आपसी सम्बन्ध बलियो बनाउन भारतीय राष्ट्रिय कांग्रेस तयार रहेको बताए। उनले महाधिवेशनमा आफ्नो पार्टीकी नेत्री सोनिया गान्धी आउन इच्छुक भए पनि व्यस्तताका कारण आउन नपाएको जानकारी गराउँदै उनी र भारतीय राष्ट्रिय कांग्रेसका तर्फबाट शुभकामना व्यक्त गरेका थिए।

महाधिवेशनको सफलताको कामना गर्दै जर्मन चान्सलर, बंगलादेशका प्रधानमन्त्री, सोसलिस्ट इन्टरनेसनलका महासचिव, भारतको त्रिमूल कांग्रेसकी अध्यक्ष एवं पश्चिम बंगालकी मुख्यमन्त्री, कम्युनिस्ट पार्टी इन्डिया तथा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट शुभकामना आएको नेपाली कांग्रेसले जनाएको छ।

उद्घाटन सत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल,कांग्रेसका उपसभापति विजय गच्छदार,महामन्त्री शशांक कोइराला,अर्का महामन्त्री पूर्णबहादुर खड्का,सहमहामन्त्री प्रकाशशरण महत र सुनिल थापालगायतले आआफ्नो धारणासँगै शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित: २५ मंसिर २०७८ ००:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App