६ वैशाख २०८१ बिहीबार
राजनीति

एमालेमा केन्द्रीय सदस्य मनोनयनको तयारी

नेकपा एमालेको दसौं महाधिवेशनमा केन्द्रीय सदस्य नबनेका नेताहरूलाई केन्द्रीय कमिटीको दोस्रो बैठकबाट मनोनयन गर्ने तयारी भएको छ।

३ सय १ केन्द्रीय सदस्यको १० प्रतिशत नेतालाई मनोनयन गर्ने तयारी भएको हो। दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि प्रस्ताव गर्दा धेरै नामहरू छुटेको भन्दै विधानले दिएको व्यवस्था अनुसार १० प्रतिशत सदस्य मनोनयन गर्न लागिएको हो।

चितवनमा भएको पहिलो केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले मंसिर २५ र २६ गते हुने केन्द्रीय कमिटीको बैठकले १० प्रतिशत सदस्यलाई मनोनयन गर्ने बताएका थिए। सोही अनुसार आउँदो केन्द्रीय कमिटी बैठकबाट छुटेका नेतालाई केन्द्रीय सदस्य बनाउने तयारी भएको हो।

एमाले महाधिवेशनमा सहमतिका नाममा विशाल भट्टराई, सुरेन्द्र मानन्धर, शिव गुरुङ, बुद्धिकुमार राजभण्डारी,कृपाशुर शेर्पा, दीपक भट्टलगायतका धेरै नेताहरू केन्द्रीय सदस्य हुनबाट बञ्चित भएका थिए। भट्टराईलाई प्र्रदेश १ को अध्यक्ष बनाउने तयारी भए पनि अन्य नेताको हकमा केन्द्रीय सदस्यमै व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ।

प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहेका भट्टराईलाई ओलीसहितका नेताहरूले प्रदेश अध्यक्ष बनाउन तयार भएपछि उनी पछि हटेका थिए। राजभण्डारी सोलुमा एमालेको चर्चित नेता हुन्।

पाँचवटा महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनीधि भए पनि केन्द्रीय सदस्य हुनबाट उनी वञ्चित हुँदै आएका छन्। शिव गुरुङ हालका सचिव योगेश भट्टराईका समकालीन हुन्। लामो समय विद्यार्थी राजनीति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका उनी अझै केन्द्रीय कमिटीमा पर्न सकेन्न।

काठमाडौंका प्रभावशाली नेता सुरेन्द्र मानन्धर यसअघिकै केन्द्रीय सदस्य हुन्। उनलाई पनि १० प्रतिशत मनोनयन गर्ने नाममा थामथुम पारिएको थियो। उनलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मनाएकी थिइन्। जनजाती कोटाबाट यसपटक राजभण्डारी र गुरुङको सम्भावना रहेको छ। योगेन्द्र शाही एमाले वृत्तमा बौद्धिक नेताका रूपमा परिचित छन्।

विदेश मामिलामा दखल राख्ने शाही विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। उनलाई पनि केन्द्रीय सदस्य बनाउने तयारी भएको छ। पर्वतका विकास लम्साल, पदम गिरीमध्ये एक जना प्रदेश अध्यक्ष र एकलाई केन्द्रीय सदस्य बनाउने तयारी छ।

धनन्जय दुवाडी पनि छुटेका नेतामध्ये एक हुन्। झापाका नरेश खरेललाई पनि ओलीले समेट्न सक्ने सम्भावना रहेको छ। सँगै जेल बसेका सहयात्री भएका कारण खरेललाई समेट्नु पर्ने दबाबमा ओली रहेका छन्।

स्याङ्जाका नारायण मरासिनी, प्रेस चौतारीका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल पनि मनोनयनको सूचीमा रहेका छन्। यद्यपि उनीहरूको हकमा पार्टीले केन्द्रीय सदस्य बराबरकै अर्को जिम्मेवारी दिने सम्भावना पनि छ।

विद्यार्थी आन्दोलनका चर्चित नेता टेकराज पछाईलाई यसपटक केन्द्रीय सदस्य बनाउने तयारी भएको छ। सुवास कर्माचार्य, चीनबाट हालै पिचडी गरेर आएका कल्याण रोकालाई पनि केन्द्रीय सदस्य बनाउन विभिन्न तहबाट ओलीलाई दबाब परेको छ। प्रदेश २ बाट बिल्टु यादव र शम्भुप्रसाद गुप्तालाई पनि समेट्नु पर्ने अवस्था आएको एमाले नेताहरूले बताएका छन्।

पिछडिएको क्षेत्रबाट भरत साउद र लालबहादुर रावललाई समेट्नु पर्ने बाध्यता छ। माक्र्सवादीबाट एमालेमा आएका धर्मराज निरौला पनि केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्नेमा एमाले नेताको जोड छ। रामवीर मानन्धर पनि केन्द्रीय सदस्यमा नआएका कारण उनले पनि मनोनयनका लागि लविङ गरिरहेका छन्।

पार्टी अध्यक्षमा चुनाव लडेर पराजित भएका भीम रावललाई मनोनयन गरेर स्थायी कमिटीमा लैजान ओलीलाई दबाब छ। रावलले अध्यक्षमा मात्रै उम्मेदवारी दिएको केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएको भन्दै केन्द्रीय सदस्यको सपथ लिन अस्वीकार गरेका थिए। तर उनले केन्द्रीय सदस्यमा मनोनयन गरेमा स्वीकार गर्ने नगर्ने विषयमा भने केही बताएका छैनन्।

प्रकाशित: २१ मंसिर २०७८ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App