ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को समीकरण पूरा भएको छ ।
ललितपुर महानगरपालिकाको मुख्य आयोजनामा भएको क्वाटरफाईनल खेलबाट आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै सप्तरीका विष्णु कटुवाल, आर्मीका विधान अधिकारी र प्रफुल महर्जन तथा एपिएफका क्षितिज खनालले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
विष्णुले एपिएफका भोजबहादुर गुरुङ्गलाई २१–१७, २१–१३ ले, विधानले पुलिसका जीवन आचार्यलाई २१–१३, २१–१३ ले, प्रफुलले पुलिसका पूर्ण थापालाई २१–८, २१–७ ले तथा क्षितिजले आर्मीका नरेन्द्र बमलाई २१–१९, २१–७ ले पराजित गरेका हुन् ।
सेमिफाइनलमा विष्णु र विधान तथा प्रफुल र क्षितिजबीच प्रतिस्पर्धा हुनेछ ।
महिला एकल तर्फ तीन संस्करणकी विजेता रसिला महर्जनले जित हात पार्दै सेमिफाइनल प्रवेश गरिन् । रसिलाले एपिएफकी स्वर्लिन श्रेष्ठ माथि २१–१२, २१–११ को जित निकालेकी हुन् । अव रसिलाले फाइनल प्रवेशका लागि आर्मीकी रिहाना सेरचनसंग प्रतिस्पर्धा गर्नेछिन् । सेरचनले पुलिसकी निता लम्साललाई २१–२३, २१–१३, २१–१४ ले पराजित गरेकी हुन् ।
अर्को प्रतिस्पर्धामा आर्मीकी अमिता गिरीले आफ्नै क्लबकी सेश्ना सिरपालीलाई वाकओभर दिईन् । यस्तै भोजपुरकी नङ्गसल तामाङ्गले फिटनेपाल स्पोर्टस्प्लेक्सकी निभा राईलाई २१–८, २१–१९ ले पराजित गर्दै सेमिफाइनलमा सिरपालीसंगको भेट पक्का गरिन् ।
प्रकाशित: २५ पुस २०८२ १७:४० शुक्रबार





