६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेस महाधिवेशनः दुवै गुटभित्र साझा उम्मेदवार बनाउन दबाब

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न दबाब बढ्दै गएको छ। महाधिवेशनबाट पार्टी नेतृत्वमा टिक्न र पुग्न संस्थापन र इतर दुवै पक्षलाई आआफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउनुपर्ने दबाब परेको हो। 

सभापतिमा संस्थापन र इतर दुवै पक्षबाट एकभन्दा बढी उम्मेदवारी परेमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले विजयी हुन चाहिने मत ल्याउन नसक्ने बुझाइ दुवै पक्षको छ। कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ, नभए बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको मतदान हुन्छ। दोस्रो चरणको निर्वाचन हुने अवस्था आउन नदिन दुवै पक्षकाले आफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउन शीर्ष नेता र आकांक्षीलाई सुझाइरहेका छन्।

महाधिवेशनबाट सभापतिमा दोहोरिने तयारीमा रहेका शेरबहादुर देउवालाई विगतमा सँगै रहेका नेताहरूलाई समेटेर अघि बढ्न दबाब परेको छ। संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिए पहिलो चरणमै आफ्नो पक्षमा परिणाम ल्याउन नसकिने सो समूहको बुझाइ छ।

एकले अर्काको नेतृत्व अस्वीकार गर्दै प्रतिस्पर्धामा उत्रिँदा तिक्तता बढेर जाने, त्यसबाट दोस्रो चरणमा पनि एकले अर्कालाई सहयोग गर्नसक्ने अवस्था नआउने भन्दै देउवानिकट नेताहरूले निधि र श्रेष्ठलाई विश्वासमा लिन उनलाई आग्रह गरेका छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गरी सभापतिमा उम्मेदवारी दिँदा पहिलो चरणमा परिणाम आउन नसकेको यथार्थ रहेको जनाउँदै देउवानिकट एक नेताले भने,‘अहिले खुमबहादुर खड्का हुनुहुन्न। कुलबहादुर गुरुङसहितका नेताहरूको साथ र सहयोग रहने अवस्था पनि छैन।

निधि र श्रेष्ठ नै प्रतिस्पर्धामा उत्रिने हो भने आफ्नो पक्षमा पहिलो चरणमा परिणाम आउन कठिन हुन्छ।’ कर्णालीसहित केही ठाउँमा संस्थापन पक्षको अवस्था सुधार भए पनि प्रदेश नम्बर २ सहित देशभरि निधिले अप्ठेरो पार्ने ती नेताले बताए।‘१३औं महाधिवेशनको तुलनामा अहिले संस्थापन पक्षले जिल्ला सभापतिमा केही बढी स्थानमा जितेको छ,’ उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा सभापतिमा निर्वाचित हुन पुग्ने प्रतिनिधि संख्या हाम्रो (संस्थापन) पक्षमा पुग्ने देखिँदैन।’

संस्थापन इतर समूहबाट सभापतिमा धेरै प्रतिस्पर्धी भए देउवालाई पहिलो चरणमै नेतृत्वमा चुनिन सहज हुने पनि उनी पक्षधर नेताको विश्लेषण छ। ‘धेरै उम्मेदवार हुँदा संस्थापन इतर पक्षले सभापति जित्दैन भन्ने वातावरण बन्दा देउवालाई फाइदा पुग्छ भन्ने मत पनि छ,’देउवा निकट ती नेताले थपे,‘अर्को बिग्रिएपछि आफू राम्रो हुनेभन्दा निकटहरूलाई मिलाएर सुरक्षित हुन लाग्नुपर्छ। नत्र नेतृत्वमा टिकिराख्न कठिन हुनसक्छ।’

संस्थापन इतर पक्षका नेताहरूलाई पनि महाधिवेशनबाट नेतृत्वमा पुग्न साझा उम्मेदवार तय गर्न दबाब परेको छ। संस्थापन इतर समूहबाट नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिको आकांक्षी छन्।

पौडेलले संस्थापन इतरका अरू तीन आकांक्षीमध्येबाट एकमा सहमति भए आफू बाधक नबन्ने बताउँदै आएका छन्। तर अन्य तीन नेताले आफू नै सबैभन्दा लोकिप्रिय भएको जिकिर गर्दै अरूले छाड्नुपर्ने अडान राखिरहँदा संस्थापन इतर समूहबाट साझा उम्मेदवारको सम्भावना कमजोर बन्दै गएको छ।

संस्थापन इतर समूहमा पहिलो चरणमा एकजनामा सहमति जुटाउन नसकिए सबैले प्रतिस्पर्धा गर्ने र दोस्रो चरणमा बढी मत ल्याउनेलाई सहयोग गर्नेगरी पनि छलफल भइरहेको एक नेताले जानकारी दिए। 

संस्थापन इतर समूह निकट केन्द्रीय सदस्य बद्री पाण्डेले भने साझा उम्मेदवार बनाउन विभिन्न तहमा छलफल भइरहेको दाबी गरे। ‘हामीले आकांक्षी सबै नेतालाई सहमतिमा साझा उम्मेदवार बनाउन भन्दै आएका छौं,’पाण्डेले भने,‘त्यसका लागि प्रयास जारी छ तर परिणाम आइसकेको छैन।’ सभापतिमा एउटै उम्मेदवार बनाउने प्रयास सफल हुन सकेन भने पनि अन्य पदमा समूह नै बनाएर प्रतिस्पर्धामा नउत्रिन पनि आफूहरूले आग्रह गर्दै आएको उनले बताए।

केन्द्रमा साझा उम्मेदवार तय गर्न र प्रदेशहरूमा उम्मेदवारी टुंगो लगाउन संस्थापन इतर समूहले बुधबार बिहान महामन्त्री शशांक कोइराला निवासमा काठमाडौंमा उपलब्ध नेताहरूको बैठक बोलाएको छ।

पूर्वमहामन्त्री सिटौलासहितका नेताहरूलाई समेटेर साझा उम्मेदवार बनाउन नसके १४औं महाधिवेशनबाट पनि इतर पक्ष पार्टी नेतृत्वमा पुग्न कठिन हुने निकटहरूको बुझाइ छ। ‘संस्थापन इतर पक्षका सबै नेतामा दोस्रो चरणमा मै जान्छु, दोस्रो चरणमा निधिसहितको समर्थन पाएर सभापति भइहाल्छु भन्ने केटाकेटी सोच छ,’ एक नेताले भने, ‘निधि दाइको सहयोग आफूलाई हुनेमा हाम्रोतिरका नेता जति आश्वस्त हुनुहुन्छ उता शेरबहादुर देउवा पनि संस्थापन इतरबाट बाहिरिने नेताको सहयोग पाउनेमा उत्तिकै आशावादी हुनुहुन्छ होला। यो स्वाभाविक पनि हो।’

प्रकाशित: १५ मंसिर २०७८ ००:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App