१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

‘कर्णाली करिडोर तोकिएकै समयमा सम्पन्न गर्छौं’

मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भेटघाट गर्दै प्रधानसेनापति शर्मा। तस्बिर:नागरिक

प्रधानसेनापति प्रभुराम शर्माले कर्णाली करिडोर अन्र्तगतको दुल्लीकुना–लालीबगर खण्डको सात किलोमिटर सडक समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीसँगको भेटका क्रममा प्रधानसेनापति शर्माले संघीय सरकारले जिम्मा दिएको सडक खण्डलाई समयमै सम्पन्न गर्ने गरेर काम भइरहेको बताए। हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न र कर्णालीको लाइफलाइनका रुपमा रहेको कर्णाली करिडोरलाई सुचारु गर्न नेपाली सेना प्रतिवद्ध रहेको उनले बताए।

उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरको १२ किलोमिटर खण्डमा ट्याक खोल्न बाँकी छ। १२ मध्ये सात किलोमिटर चट्टाने भिर फोड्ने जिम्मा सरकारले सेनालाई दिएको थियो। प्रधानसेनापति शर्माले आगामी आर्थिक वर्षको अन्त्यसम्म हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने गरेर काम गर्ने बताए। ‘दुल्लीकुना–लालीबगरको पहाड फोड्नका लागि क्याम्प राख्ने स्थान, सर्भेलगायतका कामहरु सुरु भएका छन्,’ उनले भने, ‘आगामी आर्थिक वर्षको अन्त्यसम्ममा कर्णाली करिडोर सञ्चालनमा ल्याउने गरेर कार्ययोजना बनाएका छौं।’ साउनमा सेनाले कर्णाली करिडोर अन्र्तगतको खुलालु–हिल्सा सडकको १२२ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको थियो।  

सेनाले चालू आर्थिक वर्षभित्र ४० प्रतिशतसम्म काम सम्पन्न गर्ने र आगामी आर्थिक वर्षको अन्त्यसम्ममा दिइएको जिम्मेवारी पूरा गर्ने गरेर योजना बनाएको जनाएको छ। कर्णाली करिडोर अन्र्तगत कालिकोटको खुलालुदेखि चीनको सीमा हिल्सासम्मको दूरी २६७.७५ किलोमिटर हो। त्यो मध्ये सबैभन्दा धेरै अप्ठ्यारो भूभागको १२२.७५ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले २०७१ चैत ५ गते नेपाली सेनालाई दिइएको थियो। सल्लीसल्लादेखि सिमीकोटसम्मको ५१ किलोमिटर खण्ड मध्ये बाँकी खण्डमा ट्याक खुलिसकेको छ। हुम्ला सदरमुकाम सिमीकोटदेखि हिल्सासम्मको ९४ किलोमिटर सडक अहिले पनि सञ्चालनमा छ।  

भेटका क्रममा मुख्यमन्त्री शाहीले अहिलेसम्म नेपाली सेनाले गरेको कामको प्रशंसा गरेका थिए। उनले कर्णालीको सडक निर्माणमा सेनाले महत्वपूर्ण काम गरेको भन्दै अहिले प्राप्त जिम्मेवारी पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। मुख्यमन्त्री शाहीले रुकुम–सल्यान सडक, छिन्चु–जाजरकोट–डोल्पा सडक, नाग्म–जुम्ला सडकमा सेनाले गरिरहेको काम सन्तोषजनक भएको बताए। मुख्यमन्त्री शाहीको अनुसारोधमा सेनाले सडक नपुगेको हुम्लाका लागि खाद्यान्न ढुवानीमा सघाउने बचन दिएको छ।

प्रकाशित: ६ मंसिर २०७८ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App