७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस महाअधिवेशनः आरजुको क्षेत्रमा तँछाडमछाड

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाको चुनाव क्षेत्र कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बन्न कांग्रेसी नेताहरूको तँछाडमछाड चलेको छ।

सुदूरको राजनीतिक केन्द्रको रूपमा हेरिएको प्रदेश राजधानी रहेको धनगढी उपमहानगरपालिका सहितको निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्नेहरूको लहर चलेको हो।

मंसिर ६ मा हुने क्षेत्रीय अधिवेशनका लागि कांग्रेस सभापति देउवापत्नी आरजुको क्षेत्रमा चिनिन र नजिकिन पनि उम्मेदवारी घोषणा गर्नेको ताँती नै लागेको हो। अहिलेसम्म क्षेत्रीय सपभाति पदका लागि भीम पडाल,हरि रेग्मी, सन्तोष मुडभरी,बुद्धिबहादुर खड्का, हीरासिंह पातली, रूपबहादुर खड्का र ईश्वर जोशीले उम्मेदवारी घोषणा गरेका छन्। एक पदका लागि अहिलेसम्म सातजनाले घोषणा गरिसकेको बताउँदै १४औं महाधिवेशन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले भने, ‘अहिलेसम्म देखिएका अनुहार यिनै हुन्, तै पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ।’

सभापति देउवापत्नी आरजुको कैलाली क्षेत्र नम्बर ५ निर्वाचन क्षेत्र रहेको क्षेत्रमा आफू सपभाति भएमा केन्द्रसँगको राजनीतिक सामिप्यता हुने भएकाले नेतृत्व लिनका लागि नेताहरूको तँडाछमछाड हुनु स्वभाविकै भएको बताउँदै प्रचारप्रसार समिति संयोजक सुनारले भने,‘प्रदेशकै राजधानी भएको र पश्चिम क्षेत्रमै सबैको आँखा धनगढीमै लाग्ने भएका कारण पनि यहाँको नेतृत्व आकर्षणको केन्द्र बनेको हो।’  

आरजुको क्षेत्रमा सपभाति पदका लागि उम्मेदवारी दिँदा केन्द्रीय नेताहरूको चासो र चर्चाको विषय बन्ने भएकाले पनि यहाँ उम्मेदवारी घोषणा गर्नेहरूको ताँती लागेको बताउँदै एकजना कांग्रेस नेताले भने, ‘आरजुको क्षेत्रमा उम्मेदवारी दिँदा केन्द्रीय नेताले उम्मेदवारी फिर्ता लिनका लागि फोन गर्ने भएकाले फोनकै प्रतीक्षाका लागि पनि उम्मेदवारी घोषणा गर्ने लहर चलेको हो।’

केन्द्रीय नेतासँगको सिधा सम्पर्क हुनसक्ने भएकाले क्षेत्रीय अधिवेशनमा उम्मेदवारी घोषणा गर्दा निर्वाचनका बेला नजिकिँदा नेताले सिधैं चिन्ने र जान्ने भएकाले पनि नेताहरूलाई यो नजिकिने अवसर भएको राजनीतिक विश्लेषक तथा कैलाली बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका सहप्राध्यापक देवराज अवस्थीले बताए।

उनले भने, ‘धनगढी उसैमा पनि राजनीतिको विशेष आकर्षणको केन्द्र हो, यसका साथै कांग्रेसकै गड पनि रहेकाले यहाँको नेतृत्व लिने व्यक्तिले निर्वाचन क्षेत्रमा संघीय निर्वाचनका लागि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन सहज हुने भएकाले पनि यहाँ आकर्षण बढेको हो।’ यसका साथै सपभाति देउवा पत्नीले चुनाव लड्ने आँकलन गरिएको क्षेत्र नम्बर ५ मा त्यही निर्वाचन क्षेत्रको सभापति भएमा केन्द्रका नेतासँगको सीधा सम्पर्क हुने भएकाले पनि कांग्रेसको महाधिवेशनमा क्षेत्रीय सपभाति पदका लागि आकर्षण बढेको उनकोविश्लेषण छ। क्षेत्रीय सभापतिका लागि यो क्षेत्रमा पाँच सय ३५ जना क्षेत्रीय प्रतिनिधिलेमतदान गर्नेछन्।

यस्तै क्षेत्र नम्बर ५ मा रहेको धनगढी उपमहानगरपालिकामा पनि उम्मेदवारी लिनका लागि तँछाडमछाड भएको थियो। नगरको सपभाति पदका लागि यज्ञराज उपाध्याय निर्विरोध निर्वाचित भए पनि नगरको दुई सिटको सचिव पदका लागि छजनाले उम्मेदवारी दिएका थिए।

सभापति पदका लागि सर्वसम्मत भए पनि सचिव पदका लागि भने दुई दिनसम्म छलफल चलेको थियो। यस्तै निर्वाचन क्षेत्रको प्रदेशसभाको सभापति पदका लागि पनि उस्तै रस्साकस्सी चलेको छ।

आरजु राणा देउवाकै निर्वाचन क्षेत्र भएकाले पनि यहाँका दुवै प्रदेशसभाको सभापति पदका लागि उस्तै रस्साकस्सी चलेको हो। क्षेत्र नम्बर ५ को प्रदेशसभा ‘क’मा सभापतिका लागि नारायण बराल, कुम्भराज गिरी र सीताराम रानाले उम्मेदवारी घोषणा गरेका छन् भने धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र रहेको प्रदेशसभा ‘ख’ मा सभपाति पदका लागि अहिलेसम्म रूपेश स्वाँर, मानबहादुर चौधरी, केशवराज जोशी, धर्मराज जोशी र गिरीराज ओझाले उम्मेदवारी घोषणा गरेका छन्।

यसअघि कैलालीको क्षेत्र नम्बर ५ मा शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले २०७४ मा भएको प्रतिनिधिसभाको आमनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार नारदमुनि रानासँग पराजय भोग्नुपरेको थियो।

प्रकाशित: ३ मंसिर २०७८ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App