१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आक्रोशित कानुन व्यवसायीहरुले भनेः प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङगनमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए। नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताए।

उनले प्रधानन्यायाधिश जबरालाई अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनका सामना गर्न तयार रहन चेतावनी दिए। उपाध्यक्ष भट्टराईले भने, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो। कुनै पनि हालतमा नेपाल बार एशोसिएशन यो मागबाट बाहिरिने वाला छैन। नेपाल बार ब्याक हुनेवाला छैन। र, देशभरका कानुन व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पारे। उनले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताए।

नेपाल बार एशोसिएशनका पूर्व केन्द्रीय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाई गर्न नहुने बताए। उनले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दावी समेत गरे।

नेपाल बार एशोसिएशनले मंगलबार (भोली) बिहान साढे १० बजेपनि सर्वोच्च अदालतको प्राङगनमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीहरुलाई आह्वान गरेको छ।

प्रकाशित: २२ कार्तिक २०७८ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App