१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कुलमान भन्छन्- मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्, देशको कायापलट गर्छु

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको कायापलट गर्नका लागि आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका छन्।

मंगलबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यकारी प्रमुखको भूमिकामा पुगेर देश बनाउने इच्छा व्यक्त गरेका हुन्।

आफूले विगतमा ११५ दिन मन्त्री भएर काम गरेको अनुभव सुनाउँदै घिसिङले अबको लक्ष्य प्रधानमन्त्री बन्ने रहेको बताए।

उनले भने, ‘११५ दिनको मन्त्री भएँ, अब मैले हुन बाँकी एउटै छ, प्रधानमन्त्री। तपाईंहरूले यसमा सहयोग गर्नुहोला।’

छोटो समय मन्त्री हुँदा पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण आफूले पेस गरेको दाबी गर्दै उनले भने, ‘अब प्रधानमन्त्री भएर यो देशको कायापलट गर्नुपर्छ। जबसम्म नेतृत्वमा पुगिँदैन, तबसम्म बोलेर मात्र हुँदैन।’

घिसिङले देशको मुख्य कार्यकारी सही नभएसम्म तल्लो तहको संयन्त्रले काम नगर्ने जिकिर गरे। ‘प्रधानमन्त्री सही भयो भने मात्रै मन्त्री सही हुन्छ, सचिव सही हुन्छन् र तलसम्म सही हुन्छ,’ उनले भने, ‘जबसम्म प्रधानमन्त्री सही हुँदैन, तबसम्म यो देश समृद्ध हुन सक्दैन, सुशासन कायम हुन सक्दैन।’

आफ्नो छोटो कार्यकालमा २५० भन्दा बढी अलपत्र ठेक्काहरू तोडेर पुनः अघि बढाएको र काम नगर्नेलाई कारबाहीको दायरामा ल्याएको स्मरण गर्दै उनले आगामी सरकारले विकासको यो मोडललाई स्थापित गर्नुपर्नेमा जोड दिए।

आफू रहरले नभई देश नबनेका कारण बाध्यताले राजनीतिमा आएको बताउँदै घिसिङले सही व्यक्ति सही ठाउँमा पुगे मात्र नतिजा देखिने बताए।

प्रकाशित: १३ माघ २०८२ १८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App