२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १: सत्ता परिवर्तनमा कांग्रेसको अड्को

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा आधा भाग खोज्दै प्रदेशसभा स्थगित गर्न माग गरेपछि अन्तिम समयमा नेकपा एमाले नेतृत्वको  प्रदेश १ को सरकार केही दिनका लागि जोगिएको छ।

अल्पमतमा परिसकेको नेकपा एमालेको सरकारले प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव दर्ता गरिसकेको छ। प्रस्तावमाथि छलफल र मत विभाजन हुने दिन आइतबार नेपाली कांग्रेसले आधा कार्यकाल मुख्यमन्त्रीका लागि दाबी गर्दै प्रदेशसभा बैठक नै स्थगित गर्न माग गरेपछि प्रदेश १ को सरकारको आयु केही दिनका लागि लम्बिएको  हो।  

विपक्षी गठबन्धनको केन्द्रीय नेतृत्वले प्रदेश १ मा नेकपा एसलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो। सोही सहमति अनुसार मुख्यमन्त्रीबाट भीम आचार्यलाई हटाएर नेकपा एसका प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने तयारीमा थिए। तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा असन्तुष्टि जनाउँदै प्रदेश सभा बैठक नै स्थगित गर्न माग गर्यो।

सत्ता लम्ब्याउन चाहने सत्तारुढ दलले पनि कांग्रेसले बैठक स्थगित गर्न माग गरेपछि कात्तिक १५ गते सम्मका लागि बैठक स्थगित गर्न माग गर्दै अर्को निवेदन प्रदेशसभा सचिवालयमा पेश गर्यो। प्रमुख प्रतिपक्ष दल र सत्तारुढ दल दुवैले प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेपछि अन्तत प्रदेशसभा बैठक स्थगित भयो।  

अन्तिम समयमा नेपाली कांग्रेसले अड्को थापेपछि गठबन्धनमा आबद्ध नेताहरू अलमलमा परेका छन्। नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राईले  आधा–आधा कार्यकाल मुख्यमन्त्री बाँड््ने निर्णय भए पनि आफूहरूलाई  आपत्ती नहुने स्पष्ट पारे । तर, कांग्रेसले गठबन्धनमा आधा कार्याकाल मुख्यमन्त्रीको माग नराखी प्रदेशसभा बैठक नै रोक्न माग गरेपछि आफूहरू अलमलमा परेको उनले बताए। ‘गठबन्धनका केन्द्र्ीय नेताहरूले निर्णय गरेर पठाए आधा— आधा कार्यकाल मुख्यमन्त्री बाँडफाँट गरे वा एउटै दललाई पूरै कार्यालय मुख्यमन्त्री दिए जे निर्णय भए पनि हामी मान्न तयार छौं,’ राईले भने। उनले विपक्षी गठबन्धन प्रदेश १ मा नबनेको र प्रदेश १का नेताहरूले सत्ता बाँड फाँटको निर्णय पनि नगरेको स्पष्ट पारे। यस्तै नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङ्वोले गठबन्धन दलको बैठकमा कसैले पनि आलोपालो मुख्यमन्त्रीको प्रस्ताव नगरेको र गठबन्धन दलमा छलफल पनि नभएको बताए। उनले वर्तमान सरकार ढालेर नयाँ सरकार गठन गर्ने गठबन्धनका दलबीच सहमति भए पनि एक्कासी कांग्रेसले प्रदेशसभा स्थगित गर्न निवेदन दिएपछि  आफूहरू अलमलमा परेको बताए। उनले भने, ‘प्रदेशसभामा मत विभाजन गर्ने दिन एक्कासी कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न संसद सचिवालयमा निवेदन दिएपछि हामी अलमलमा परेका छौं।’ विपक्षी गठबन्धनको बैठकपछि कांग्रेसले किन बैठक स्थगित गरेको हो भन्ने स्पष्ट हुने आङ्वोले बताए।  

यता नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले प्रधानमन्त्री आएका कारण एक दिनलाई बैठक स्थगित गर्न माग गरेको भए पनि सभामुखले चान्समा डान्स गरेर सत्तारुढ दलको चाहना अनुसार बैठक कात्तिक १५ गतेसम्मलाई स्थगित  गरकेो आरोप लगाए। ‘हामीले एक दिनका लागि बैठक स्थगित गर्न माग गरेका थियौं,’ कोइरालाले भने, ‘तर, सभामुखले सत्तारुढ दलको इशारामा चान्समा डान्स गरिहाल्नु भएछ।’  

कोइरालाले कांग्रेसका कारण प्रदेश १ को सरकारलाई कुनै लाभ नहुने स्पष्ट पारे। उनले गठबन्धनमा नभई पार्टीभित्र मुख्यमन्त्रीमा आधा कार्यकाल माग गर्ने बताए। कोइरालाले वागमतीमा चाहिँ आधा—आधा कार्यकालको सहमति गर्ने तर, प्रदेश १ मा चाहिँ नगर्ने पार्टी नेतृत्वको प्रवृत्तीप्रति असन्तुष्टि पनि जनाए।  उनले भने, ‘वागमतिमा आधा— आधा कार्यकाल हुने तर, प्रदेश १ मा आधा–आधा किन नहुने?’ नेपाली कांग्रसेका नेताहरूले प्रदेश १ को सरकारमा पनि मुख्यमन्त्री आधा— आधा कार्यकाल हुनुपर्ने माग राख्दै आएका थिए।

प्रदेश १ मा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद रहेका छन्। सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन्। ९२ सदस्यीय प्रदेश १ को प्रदेश सभामा बहुमतका लागि ४७ जना  सांसद आवश्यक पर्छ।

प्रकाशित: ७ कार्तिक २०७८ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App