७ वैशाख २०८१ शुक्रबार
राजनीति

राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन्। राष्ट्रपतिले प्रकोप पीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका संयन्त्रलाई परिचालन गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन्।

यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशका सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिले आग्रह गरेको राष्ट्रपतिको कार्यालयले आज अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखका यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक सङ्घसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितको उद्धार तथा राहतमा संलग्न हुन राष्ट्रपतिले आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनुपर्नेमा पनि उनले जोड दिएकी छन्।

प्रकाशित: ४ कार्तिक २०७८ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App