८ वैशाख २०८१ शनिबार
राजनीति

एमसिसीबारे बुद्धिजीवीको दृष्टिकोण नै गलत : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले ठूला पार्टीका बुद्धिजीवी र नेताहरुमा संयुक्त राज्य अमेरिकाप्रतिको दृष्टिकोण फरक र गलत रहेको बताएका छन्।

शैक्षिक वर्ष २०७८/७९ मा ख्वप कलेजमा एमबीएस तहमा भर्ना भएका विद्यार्थीको स्वागत तथा अभिमुखीकरणमा पार्टी अध्यक्ष बिजुक्छेँले एमसिसीको विषयमा ठूला पार्टीका बुद्धिजीवी र नेताहरुले गलत धारणा राखेकोमा आपत्ती जनाउँदै एमसिसीले नेपालको हित नगर्ने बताएका हुन्। उनले बुद्धिजीवीहरुको आलोचना गर्दै बुद्धिजीवीहरु समेत एमसिसीको प्रभाव र दबाबमा परेको समेत बताए।

एमसिसीले देशलाई फरक तरिकाले उपनिवेश बनाउने भएकाले सो विषयमा विद्यार्थीलाई सचेत रहन र एमसिसीको विषयमा आलोचनात्मक सोच राख्न अनुरोध गर्दै अध्यक्ष बिजुक्छेंले शासक दलका नेताहरुमा देश एवम् जनताको समस्याबारे चिन्तन र बहस गर्ने बानी नभएको समेत बताए।

सो अवसरमा उनले चीनले गरेको प्रगतिको प्रशंसा गरेका थिए। उनले असल शिक्षा र सही नेतृत्वको कारण चीन विश्वको महाशक्ति बनेको र चीनले आश्चर्यजनक प्रगति गरेको उल्लेख गरे। विद्यार्थीमा विचलित नभई अनुशासित हुने गुण हुनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेंले विद्यार्थीमा देशभक्तिको भावना हुनुको साथै जहा गए पनि, जुनसुकै पेशा रोजे पनि इमानदारीपूर्वक देश र जनताका सेवा गर्ने भावना हुनुपर्ने पनि बताए।

कार्यक्रममा अध्यक्ष रोहितले सरकारको भरमा मात्र केही नहुने, जनता आफै सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता औ“ल्याउ“दै भक्तपुरका सचेत जनताको अगुवाइमा ख्वप कलेजहरु स्थापना भएको बताउँदै ख्वप विश्वविद्यालयको स्वीकृति नदिनुमा पनि सरकारकै दोष रहेको दोहोर्याए। ‘ख्वप विश्वविद्यालय स्वीकृति भएमा १५ लाखमा एमबीबीएस पढाउन सकिन्छ। आफ्नो नाफा गुम्ने खतराको कारणले नै निजी लगानीकर्ताहरुको दबाबमा सरकारले ख्वप विश्वविद्यालय स्वीकृति नदिएको हो’, उनले भने।

भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यसाथ भक्तपुर नगरपालिका अगाडि बढिरहेको जानकारी दिँदै ख्वप कलेजले व्यवहारिक शिक्षामा जोड दिई देश र जनतामा समर्पित नागरिक बनाउन सहयोग गर्ने बताए। उनले एमसिसी सम्झौताले देशको सार्वभौमिकतालाई अङ्कुश लगाउने र उपनिवेश बनाउने भएकोले नै नेमकिपाले देशभर एमसीसीको विरोधमा जुलुस र विरोधसभा भइरहेको बताए। भक्तपुर नगरपालिकाका उपमेयर एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाउने उद्देश्यअनुसार भक्तपुर नगरपालिका अगाडि बढिरहेको बताइन्।

ख्वप माविका प्राचार्य प्रकाश कुमार श्रेष्ठले कलेजको प्रगतिमा विद्यार्थी र संस्थाको उत्तिकै भूमिका हुने धारणा राख्दै विद्यार्थीमा ऊर्जाशील भावना हुनुपर्ने बताए भने कलेजका प्राचार्य एवम् एमबीएस कार्यक्रमका इन्चार्ज रुपक जोशी र बीबीएम कार्यक्रमका इन्चार्ज सुनिल सुवालले पनि आफ्नो धारणा राखे।

प्रकाशित: ९ आश्विन २०७८ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App