३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने

आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले धनुषाका चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया सुरु गरेको हो।

सूचना अनुसार निर्वाचन प्रहरी पदमा आवेदन दिन इच्छुक व्यक्ति १८ वर्ष पूरा भइसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ। आवेदन दिने अन्तिम मिति आउँदाे माघ १ गतेसम्म तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ। सेवासुविधा अन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक ३४ हजार ७७६ रूपैयाँ प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए।

उनका अनुसार योसँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने छ।

सहायक प्रमुख जिल्ला अधिकारी दाहालद्वारा हस्ताक्षरित सूचनामा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने तयारी भइरहेको उल्लेख छ।

धनुषामा हाल चार लाख १४ हजार ५७१ जना मतदाता छन्। चार निर्वाचन क्षेत्रमा ३२२ मतदानस्थल र ६४५ मतदान केन्द्र निर्माण भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रशासनका अधिकारीहरूले मतदाता र निर्वाचनमा संलग्न सबै पक्षलाई संयमित र नियमबद्ध रूपमा निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन्।

प्रकाशित: २७ पुस २०८२ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App