१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अध्यादेश खारेज गर्न माग

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक पार्टीहरु विभाजित हुन सक्ने खतरा रहेको बताएका छन्। उनले देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश प्रजातन्त्रविपरीत, लोकतन्त्रविपरीत र निरंकुश भएको बताउँदै अध्यादेश खारेज गर्न माग गरे।

भक्तपुर नगरपालिकाको आयोजनामा भएको पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध कार्यक्रममा सांसद सुवालले भक्तपुर काण्ड भक्तपुरबासीहरुलाई जातीय हिसाबले दमन गर्ने पञ्चायती फासीवादको सिलसिला भएको बताए। उनले राजनीतिक दलले आफ्ना कार्यकर्ताहरुलाई विचार र सिद्धान्तबाट अनुशासित नबनाएसम्म देशमा भ्रष्टाचारको अन्त्य गर्न सम्भव नभएको उल्लेख गर्दै कार्यकर्ताहरुले संकटमा भाग्ने होइन, त्यसको प्रतिरोध गर्ने प्रतिबद्धता लिनु आवश्यक भएकोमा जोड दिए।

उनले २०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको योगदान स्मरणीय भएको बताउँदै भक्तपुर काण्डले शत्रु र मित्र चिन्ने अवसर मिलेको बताए। निर्वाचन आयोगलाई स्वायत्त, निष्पक्ष र स्वतन्त्र बनाउनुपर्नेमा जोड दिँदै उनले विदेशीको सहयोगमा निर्वाचन आयोगको सफ्टवेयर बनाउनु गलत कदम भएको बताए।  

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुँजीपति वर्ग शासन सत्ता हातमा लिन जस्तोसुकै अनैतिक र कठोर कदम चाल्न पनि पछि नपर्ने बताए। सामान्य कुटपिटबाट घाइते भएका व्यक्तिलाई मृत घोषणा गरेर भक्तपुर काण्ड घटना घटाइएको स्मरण गर्नुहुँदै उनले भक्तपुर काण्डको विरोधमा भएको चर्को प्रतिरोधका कारण देशभरका जनतालाई एउटा नयाँ ऊर्जा दिएको र षड्यन्त्रको सहारामा शासन सत्ता टिकाउन खोज्ने पञ्चहरू आफै समाप्त भएको बताए।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले राज्यस्तरबाट नेमकिपालाई समाप्त गर्न रचिएको षड्यन्त्र अन्ततः असफल भएको बताइन्। कार्यक्रममा भनपा वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले पञ्चायती राज्य आतंकविरुद्धको संघर्षको स्मरण गर्दै भक्तपुर काण्डमा नेमकिपाको पक्षमा वकालत गर्ने न्यायप्रेमी जनता, बुद्धिजीवी र सञ्चारमाध्यमहरु धन्यवादका पात्र भएको बताए।

प्रकाशित: ११ भाद्र २०७८ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App