१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

असाधारण जनमतका साथ फेरि प्रधानमन्त्री बन्ने ओलीको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दावी गरेका छन्। आफूलाई अघिल्लो पटक र अहिले पनि जालझेल, षडयन्त्र, तिकडम, अपवित्र गठबन्धनबाट हटाएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले फेरि असाधारण शक्तिका साथ मूल ढोकाबाट शक्तिमा आउने बताएका हुन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘मलाई त्यति बेला पनि जालझेल, षडयन्त्र, तिकडम, गठबन्धनबाट हटाएको हो। मैले त्यतिबेला भनेको थिएँ, म झ्यालबाट होइन्, जस्केलाबाट होइन, सिँढीबाट होइन्, भेन्टिलेशनबाट होइन, म मूलढोकाबाट, मूलगेटबाट आउनेछु। फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ फेरि पनि मूलबाटो, मूलगेट, मूलढोकाबाट फेरि पनि प्रवेश गरिनेछ।’

अध्यक्ष ओलीले आफूलाई कामै गरेर जनताले प्रधानमन्त्री बनाएको पनि बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा जाली मुद्धा जितेर प्रधानमन्त्री भएको दावी समेत गरे। अध्यक्ष ओलीले सरकारको सय दिन केही पनि काम नगरी खेर गएको बताए। स्वार्थहरुको गठजोडबाट बनेको सरकारले मुलुकको विकासको अभियानलाई अघि बढाउनै नसक्ने उनको तर्क थियो।

अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे किन उल्लेख नगरेको भनेर प्रधानमन्त्री देउवालाई प्रश्न गरे। एमसीसीबारे के गर्नु हुन्छ? सरकारको साझा न्यूनतम कार्यक्रमा समावेश गर्न बिर्सिएको हो? उनले प्रधानमन्त्री देउवालाई सोधेका थिए। अध्यक्ष ओलीले एमसीसीबारे सरकार चुप लागेर बस्न नमिल्ने पनि बताए । उनले आफ्नै पार्टीका नेताहरु मन्त्रीका लागि कुदेको उल्लेख गर्दै मन्त्री बनाइदिन प्रधानमन्त्री देउवालाई आग्रह समेत गरे।  

अध्यक्ष ओलीले प्रतिपक्षलाई गाली गरेर नबस्न पनि सरकारलाई चेतावनी दिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै उनले भने, ‘लक्षण राम्रो छैन। हौसिएर म आगो हुँ, नखेल भनिएको छ। म सम्झन्छु, उहाँले बिगतमा डढेलो लगाएको। त्यसलाई निभाउन पानी खन्याउनु पर्दछ भन्ने म जान्दछु।’ अध्यक्ष ओलीले धम्की दिन छाडेर काम गर्न सरकारलाई पटक पटक आग्रह गरेका थिए। 

प्रकाशित: २६ श्रावण २०७८ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App