१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली ब्रो, फेरि 'तिमी' भने भनेर गुनासो चाही नगर्नु नि, तिमी पनि 'तिमी' कै लायक छौंः मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी ओलीले राजनीति होइन अपराध गरेको बताएका छन्। उनले सामजिक संजाल फेसबुकमा लेख्दै केपी ओलीलाई धुन्धुकारीको संज्ञा समेत दिएका छन्।  

'आज यो स्थिति आउनुमा, लोकतन्त्र धरापमा पर्नुमा नेपाली काँग्रेस, माओवादी, माधव नेपाल पक्ष र अन्य पुराना पार्टीरपक्षहरू पनि उत्तिकै दोषी छन्। तर पनि, यो लोकतन्त्रलाई ट्र्याकमा ल्याउन यो लडाइँमा हामी सबैले प्रतिपक्षलाई साथ दिनुपर्छ,' उनले लेखेका छन्, 'बजारमा केपी ओलीले क्या खत्रा राजनीति गरे भन्ने सुनियो। आदरणीय युवा साथीहरू, राजनीति यस्तो हुँदैन है। नागरिकको भलो नगर्ने वा लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि नेताको कुनै पनि कदम राजनीति होइन। ओलीले गर्दै गरेका यी हर्कतहरु त अपराध हुन्। महामारीको मौका छोपेर गरिएको अपराध। सत्ता प्राप्तिका लागि  गरिएको अपराध।'

साथै, उनले केपी ओलीले हजारौँ नागरिकको बलिदानबाट बनेको संविधानलाई जसरी बारम्बार कुल्चेको, मिचेको र अब त्यो क्षम्य नहुने समेत बताएका छन्। उनले केपी ओलीले राष्ट्रपतिकै दुरुपयोग गरेर देशलाई विगत एक वर्षदेखि बन्धक बनाउन खोजिरहेको आरोप समेत लगाएका छन्।

उनले प्रश्न गरेका छन्,'लोकतन्त्र मजाक वा सनकको विषय हो ? के हजारौँ नागरिकको बलिदानले प्राप्त संविधान ओलीको पेवा हो ? नागरिक कोरोनाले मरिरहेका छन्। भोकले मरिरहेका छन्। अनि, ओली सरकार आफ्नो सत्ता स्वार्थको लागी जे मन लाग्यो त्यही गरिरहेका छन्।'

यस्तै, उनले ओलीले अब यो कदम सदर गराएर सत्ता कब्जा गर्न लागेको समेत बताएका छन्। संविधान विफल बनाउने र, लामो समय राज गर्ने ओली को दाउ रहेको समेत बताएका छन्। ओलीले निर्वाचन नगर्ने बताउँदै उनले भने,'निर्वाचन ? ए तपाई अझै, 'निर्वाचनु को भ्रममा हुनुहुन्छ ? निर्वाचन तपाईँको अनि मेरो बोल्ती बन्द गर्नको लागी रचिएको प्रपञ्च हो। झुक्किएर निर्वाचन भएछ नै भने पनि यिनले गराउने निर्वाचन कस्तो होला। आफै सोच्नुहोला।'

ओलीको यो धुन्धुकारी प्रवृत्तिविरुद्ध सबै मिलेर लड्न आह्वान गर्दै नेपाली समाजको डिएनए लोकतन्त्रवादी रहेको र धेरै प्रयास हुँदा पनि राणा-राजाले समेत लोकतन्त्रलाई ढलाउन नसकेको इतिहास स्मरण गराएका छन्।  

उनले अन्त्यमा लेखेका छन्, 'ओली ब्रो, रोग र भोकबाट प्रताडित नागरिकले तिमीलाई माफ गर्ने छैनन्। यो तिम्रो अपराधको हिसाब किताब राखिनेछ। फेरि 'तिमी' भने भनेर गुनासो चाही नगर्नु नि। तिमी पनि 'तिमी' कै लायक छौ।'

प्रकाशित: १० जेष्ठ २०७८ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App