१६ चैत्र २०८० शुक्रबार
राजनीति

वाग्मती प्रदेशको मन्त्रालयले बल्ल पायो मन्त्री

वाग्मती प्रदेशका तीन मन्त्रीहरुलाई पद तथा गोपनियताका सपथ खुवाउँदै प्रदेश प्रमुख विष्णु प्रसाईं । तस्बिरः अशोकसुजन/नागरिक

वाग्मती प्रदेशको चार महिनादेखि मन्त्रीविहीन रहेको तीन मन्त्रालयले मन्त्री पाएको छ। नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ।

प्रदेश प्रमुख विष्णु प्रसाईले मन्त्रीहरुलाई र मुख्यमन्त्री डोरमणि पौडेलले राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन्। नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) विवादका कारण प्रदेशका तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा मन्त्रीसँगै मुख्यमन्त्री पौडेलले एक राज्यमन्त्री थप गरेका हुन्।

प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सरेश नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई सपथ ग्रहण गराइएको छ। साथै, सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा. रामकुमार अधिकारीले सपथ लिएका छन्।

पाण्डे नेकपा एमालेका मुख्य सचेतक, नेपाल प्रदेश सभाको अर्थ तथा विकास समितिको सभापति रहेका थिए भने अन्य प्रदेश सांसद हुन्। सात मन्त्रालय रहेको वाग्मती प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्रीमा कैलाशप्रसाद ढुङ्गेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाँल र भूमी व्यवस्था, कृषी तथा सहकारीमन्त्रीमा दावा दोर्जे लामा यथावत रहेका छन् ।

नवनियुक्तसहित प्रदेश सरकारका सबै मन्त्री नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन्। तत्कालीन सत्तारुढ नेकपाको पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्दै सामूहिक राजीनामा दिएका थिए।

कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश मन्त्रीहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो। तत्कालिन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले पदत्याग गरेपछि तीन मन्त्रालय मुख्यमन्त्रीले सम्हाल्दै आएका थिए। नेकपा एमालेको एकल बहुमत रहेको वाग्मती प्रदेशमा कूल एक सय १० सांसदमध्ये एमालेको ५७ सांसद रहेका छन्।

प्रकाशित: १५ वैशाख २०७८ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App