१६ चैत्र २०८० शुक्रबार
राजनीति

क्याबिनेटदेखि आयोगसम्म आफ्ना गुटका मान्छेलाई राखेर ओलीले एक्लौटी गर्नुभयो : झलनाथ खनाल

फाइल तस्बिर।

नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी गरेकाले समस्या उब्जिएको बताएका छन्। बुधबार ललितपुरको सानेपामा सुरु भएको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्तालाई सम्बोधन गर्नै नेता खनालले कम्युनिस्ट नेतृत्वको सरकारलाई महत्वपूर्ण अवसर प्राप्त भएपनि ओलीका कारण पूरा गर्न नसकिएको बताए।

पार्टीका विधि, पद्धतिलाई अस्वीकार गरेर ओली मनपरितन्त्र, निरङ्कुशता र अहंकारतर्फ अघि बढेको उनको आरोप छ। ‘केपी ओली नेतृत्वको सरकारले पार्टीका नीति, सिद्धान्त र विधि पद्दतिलाई ठाडै अस्वीकार गर्ने सुरुवात ग¥यो,’ उनले भने, ‘उहाँले मनपरितन्त्र, निरङ्कुशता र अहंकारले ग्रस्त भएर पार्टीमा आफ्नै खालका कामहरु गर्न थाल्नुभयो।’

ओलीले पार्टीमा कुनै सल्लाह नै नगरी एक्लौटी ढङ्गले निर्णय लिएको नेता खनालको आरोप छ। ‘उहाँले पहिलो क्याबिनेट बनाउँदा एक्लौटी ढङ्गले बनाउनुभयो। उहाँले आफ्ना गुटका मान्छेलाई मात्र राखेर क्याबिनेट बनाउने काम बनाउने काम गर्नुभयो,’ खनालले भने, ‘त्यसरी नै राष्ट्रिय योजना आयोगमा पनि एक्लौटी गरियो। त्यसबारेमा पार्टी अलिकति पनि विचार विमर्श भएन। त्यसरी नै तीन–तीन वर्षका नीति तथा कार्यक्रमबारे पार्टीमा कुनै सल्लाह गरिएन। पार्टीका नीतिहरु प्रतिबिम्बित सकेनन्।’

नेपाल पक्षले भने सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई मान्यता नदिएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको र पार्टी सोही अनुसार चल्नुपर्ने माग राख्दै आएको छ। तर, ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएर पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर, पार्टीको विधान संशोधन र माओवादी केन्द्रबाट आएका २३ जना नेताहरुलाई केन्द्रय सदस्यमा मनोनयन गरेका थिए। सोही विषयलाई लिएर एमालेको विवाद चुलिएको छ।

भेलामा ओली पक्षीय नेता कार्यकर्ताहरु उपस्थित छैनन्।

प्रकाशित: ४ चैत्र २०७७ ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App