८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार र विप्लवबीच तीनबुँदे सहमति

ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपामाथि लगाएको राजनीतिक प्रतिबन्ध फुकुवा गरेको छ। वार्तामा विप्लवसँग गरिएको सहमतिअनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गरेको हो। बैठकले विप्लव नेकपासँग गरिएको तीनबुँदे सहमति पनि अनुमोदन गरेको छ। सरकारको यो निर्णयसँग शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।

सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री र विप्लव नेकपाका नेता प्रकाण्डले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा तीनबुँदे सहमति भएको उल्लेख छ। सोहीअनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्दै तीनबुँदे सहमति अनुमोदन गरेको हो। सहमतिअनुसार विप्लव नेकपाले उठाउँदै आएको राष्ट्रिय सहमतिको प्रगतिशील सरकार गठन हुनसक्ने अनुमान गरिएको छ।

* राजनीतिक प्रतिबन्ध फुकुवा
* ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने

विप्लव नेकपाले वार्ताका लागि औपचारिक पत्र पठाउनु पर्ने माग गर्दै आए पनि गृहमन्त्री रामबहादुर थापाले मंसिर अन्तिम साता नेपबहादुर कुँवरलाई सम्पर्कका लागि खटाएका थिए। उनै कुँवरले नेपालगन्ज, पोखरा र चितवनका विभिन्न स्थानमा पुगेर विप्लवसँगै वार्ता गरेका थिए। उनले सरकारी संयन्त्रका सबै विषय विप्लवलाई जानकारी गराएका थिए। उनले विप्लव नेकपाका सबै खबर गृहमन्त्री थापासमक्ष पुर्‍याउँदै आएका थिए। गृहमन्त्री थापाले यो विषयमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्दै आएका थिए। ‘अहिले अजेण्डा प्रवेश मात्र भएन, अहिले केदी हदसम्म सरकार र विप्लव पक्ष सहमतिमा आउने वातावरण बन्यो। यसले प्रगतिशील समूहसहितको राष्ट्रिय सरकार बन्ने ढोका खुला भएको छ। सरकारले अबका दिनमा कस्तो व्यवहार गर्छ, त्यो भने हेर्न बाँकी छ’, विप्लव नेकपा उच्च नेताले भने। विप्लव नेकपाले अहिले वैद्य समूह, गोपाल किराती समूह र ऋषि कट्टेल समूहलाई पनि सरकारमा सहभागी गराएर जानुपर्ने बताउँदै आएको छ।  

स्रोतका अनुसार यो व्यवस्था असफल भयो भनेर नयाँ राजनीतिक व्यवस्थाका बारेमा छलफल भएको र त्यसै विषयमा वार्ता केन्द्रीत भएको थियो। ‘प्रगतिशील राष्ट्रिय सरकार बन्छ भन्ने बुझाइ छ। यसमा पनि हिजो सहकार्यमा रहेका सबै दलहरू सहभागी हुनुपर्छ भन्ने विप्लव समूहको धारणा छ’, स्रोतले भन्यो। स्रोतका अनुसार शुक्रबार बिहान विप्लवलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइनेछ। उनले प्रधानमन्त्री ओलीसँग सहमतिपत्रमा हस्ताक्षर गर्नेछन्। त्यसपछि दुवैजनाले सम्बोधन गर्ने कार्यक्रम छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीनबुँदे सहमति भएपछि नै विप्लवलाई काठमाडौं ल्याउने तयारी गरिएको भए पनि प्रधानमन्त्रीको समय नमिलेकाले शुक्रबारलाई सारिएको हो। सहमतिअनुसार विप्लव नेकपाका नेता/कार्यकर्तामाथि लगाएका मुद्दा सरकारले फिर्ता गर्ने, थुनामा रहेका नेताकार्यकर्तालाई रिहा गर्ने भएको छ। विप्लवसमूहले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्नेछ।  

सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री थापा र विप्लव नेकपा वार्ताटोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ। बालुवाटारमा भएको तेस्रो चरणको वार्तामा तीनबुँदे सहमति भएको हो।  

२०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेकपाले आपराधिक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

त्यसयता विप्लव नेकपाका २ हजार ९८ जना पक्राउ परेका छन्। जसमध्ये १ हजार ८६४ जना मुद्दा दर्तापछि छुटेका छन् भने १२६ जना पुर्पक्ष थुनामा छन्।  

यसअघि २०७५ भदौ ८ गते सरकारले विप्लव नेकपासँग वार्ता गर्न सोमप्रसाद पाण्डेको संयोजकत्वमा एक टोली बनाएको थियो। त्यसबेला संवादको अधिकत्तम प्रयास भएको पाण्डेले बताएका छन्। उनले सरकारको अनुमतिमा नेपालगन्ज, कपिलबस्तु, लुम्बिनी, चितवन, काठमाडौलगायत ठाउँमा विप्लव नेकपाको माथिल्लो नेतृत्वसँग निरन्तर रूपमा वार्ता र सम्पर्क गरिरहेको बताएका थिए। ‘मैले भेटघाट तथा संवादका क्रममा वार्ताको विकल्प छैन, यसमा हामी दुवै पक्ष गम्भीर र जिम्मेवार बनेर टेबुलमा बसेर समाधान खोजौं भनिरहेको थिएँ। अहिले सरकारले संवादमार्फत विद्रोही पार्टीसँग बसेर राजनीतिक निकास दिएको खबरले मलाई अत्यन्तै खुशी लागेको छ’, पाण्डेले भने, ‘मलाई लाग्छ, यो पनि सोही वार्ताको निरन्तरताको कडी हो।’

प्रकाशित: २१ फाल्गुन २०७७ ००:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App