coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जालमा अदालतको वाहवाही

सर्वाेच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गरेपछि सामाजिक सञ्जालमा अदालतको वाहवाही भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ट्विटरमा भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखि नै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिँए। सोहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद् पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ,’ यसैगरी देउवाले थप लेख्छन्, ‘संविधान कार्यान्वयनका क्रममा देखिने विवाद समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै हो। सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ। यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायधीशहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। जय नेपाल।’

यसैगरी, नेपाली काग्रेसका अर्का नेता रामचन्द्र पौडेल फैसलाले मुलुकलाई दुर्घटनाबाट बचाएको ठान्छन्। ‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन। संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ। सर्वोच्चको फैसलाले सत्यको जित भएको छ। यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।’

यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो ट्विटर प्रतिक्रियामा लेखेका छन्। ‘न्यायमूर्तिहरूलाई लाखलाख सलाम ! संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो। फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ। संविधान रक्षा गर्दै जनताको जित भएको छ।’  

यस्तै नेपाली काग्रेसका अर्का नेता शेखर कोइरालाले आफ्नो ट्विटमा लेख्छन्, ‘आजको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको छ। साथै देश राजनीतिक स्थिरतातर्फ लागेको छ। अदालत दबाबमा नपर्दा आम जनसमुदायमा न्यायालयप्रति गर्व भएको छ।’

पत्रकार तथा लेखक विजयकुमार पाण्डे विघटनलाई बदर गर्नुका साथै अदालतले निर्देशनात्मक आदेश दिएकाले अबको बाटो प्रष्ट भएको ठान्छन्।

‘सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर मात्र गरेन, १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनु भनेर राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र प्रतिनिधिसभाका सभामुखका नाममा ‘निर्देशनात्मक आदेश’ समेत जारी गरेको छ। बदर निर्णयसँगै ‘निर्देशनात्मक आदेश’ आउनाले अगाडिको बाटो स्पष्ट भएको छ,’ पाण्डेले ट्विटमा लेखेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले पुनःस्थापना गरेर नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन्। ‘कस्तो सुखद् संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो,’ बाबुरामले ट्विटरमा लेखेका छन्, ‘हिन्दु मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’ उनले आफ्नो ट्विटमा लेखेका छन्।

अर्का पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अदालतप्रति आभार व्यक्त गरेका छन्। ‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ। सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु। सम्पूर्ण जनता, आन्दोलनमा उत्रेका दलहरू, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले ट्विटमा लेखेका छन्।

तर राप्रपाका अध्यक्ष कमल थापाको प्रतिक्रिया फरक छ। ‘प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे तर्कवितर्क गर्न सकिन्छ। तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकाले सर्वोच्चको फैसला सबैले स्वीकार गर्नुपर्छ। यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो,’ उनी आफ्नो ट्विटमा लेख्छन्।

कतिपय सामाजिक सञ्जालका प्रयोगकर्ताले केपी ओलीभन्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बढी प्रिय बनेको प्रतिक्रिया दिएका छन्।

‘केपी ओलीभन्दा चोलेन्द्रशमशेर राणालाई ‘आइ लभ यु’ भन्ने टिकटक बन्ने होला अब,’ आफ्नो टिवटमा वीपेन्द्र लेख्छन्।

प्रकाशित: १२ फाल्गुन २०७७ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App