१५ चैत्र २०८० बिहीबार
राजनीति

संसद् पुनःस्थापना भए अस्थिरता : प्रधानमन्त्री

नेकपा ओली समूहद्वारा शनिबार बुटवलमा आयोजित सभा । तस्बिर : नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्‍यो। सिद्धेश्वर उच्च मावि प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई जनसभा कस्तो हुन्छ भनेर हेर्न बुटवल आउन आग्रह गरे। सुरुमै उनले केही दिनअघि देशभरबाट केही मान्छे जम्मा गरेर आफूलाई ललकार्नेहरूलाई बुटवलको जनसभाले जवाफ दिएको बताए। उनले बुटवलको सभालाई आफ्नो पक्षमा उर्लिएको जनमतका रूपमा व्याख्या गरे।  

दाहाल–नेपाल समूहलाई इंगित गर्दै उनले देश बिगार्न खोज्ने तत्वहरू सरकारले गरेको विकास र समृद्धिबाट आत्तिएर सडकमा रोइकराइ गरेको दाबी गरे। ‘ताजा जनादेशमा जानै हुँदैन, चुनाव गर्नै हुँदैन भन्ने कस्तो व्यवस्था खोजेको ? जनताका बीचमा जानु ताजा जनादेश लिनु प्रतिगमन हुन्छ ?’ उनले भने।

प्रतिकूलता झेलेरै भए पनि देशविकासमा अगाडि बढिरहँदा सरकारै ढाल्न षड्यन्त्र गरेपछि संसद् विघटन गर्नुपरेको ओलीले पटकपटक दोहोर्‍याए। ‘देश बनाउने कुरा छैन तर उहाँहरूलाई प्रधानमन्त्री बन्न मन लाग्यो। अध्यक्षबाट हट्नुपर्‍यो भने, किन हट्नुपर्‍यो भनेको त मलाई आफैं अध्यक्ष हुन मन लाग्यो रे,’ ओलीले दाहाल–नेपाललाई व्यंग्य गर्दै भने।  

देशको स्वाभिमान उठाउन नभई व्यक्तिगत फाइदा र पदका लागि आफूलाई असफल बनाउने षड्यन्त्र हुन थालेपछि ताजा जनादेशमा जानुपरेको उनको भनाइ थियो। आफूले देशको गुमेको भूभाग समेटिएको नक्सा पास गरेपछि आत्तिएर सरकार गिराउने खेल हुन थालेको आरोप उनले लगाए। ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत छैन भन्ने विषय निरर्थक भएको जिकिर गरे। बहुमतको सरकारको प्रधानमन्त्रीको हैसियतले संसद् विघटन गरेको र त्यो संविधानसम्मत रहेको उनको दाबी थियो। ‘संविधानको धारा ७६ (१), धारा ७६ को उपधारा ७ र धारा ८५ ले भनेअनुसार विघटन गरिएको हो। बहुमतको प्रधानमन्त्रीको विशेष अधिकार प्रयोग गरेर विघटन गरिएको हो,’ उनले भने। ६४ प्रतिशत बहुमतको प्रधानमन्त्रीले संसद् बिघटन गरेपछि अर्को कुनै विकल्प नभएको उनले बताए। ‘अनुचित समीकरण गर्ने, कामै गर्न नदिने, अस्वस्थ प्रतिस्पर्धा गर्ने, देशलाई अलोकतान्त्रिक प्रक्रियातर्फ धकेल्न आफ्नैभित्रबाट षड्यन्त्र भएपछि मैले चलाउनै सकिनँ र संसद् विघटन गर्नुपर्‍यो,’ ओलीले भने।

यो मुद्दामा अदालतले न्याय गर्ने र देशलाई अस्थिरतातर्फ फर्कन नदिने विश्वास व्यक्त गरे। संसद् पुनःस्थापना भए कुनै पार्टीको बहुमत नरहने भएकाले झनै अस्थिरता बढ्ने र त्यसबाट लोकतन्त्रको हुर्मत लिने काम हुने दाबी उनले गरे। संसद् पुनःस्थापना भए संसद् किनबेचको खेल हुने उनले बताए।  

ओलीले तोकिएकै समयमा चुनाव हुने र त्यसमा आफ्नो पार्टीले फेरि बहुमत ल्याएर देशको नेतृत्व गर्ने दाबी गरे। उनले कसैलाई लोकप्रिय छु भन्ने लागे चुनावमा आउन चुनौती दिए। दाहाल–नेपाल पक्षलाई लक्षित गर्दै उनले भने, ‘उहाँहरू मान्छे हेर भन्नुहुन्छ। म भन्छु– मान्छे मात्रै किन हेर्ने, बाकसबाट मतपत्र झिकेरै गनौंला नि, नआत्तिनुस् न, ५० लाख समानुपातिक मत ल्याएर देखाउँछौं। प्रत्यक्षमा बहुमत सिट ल्याउँछौं। त्यो घटाएर देखाए भयो नि !’

दाहाल–नेपालहरूले युवा, महिला, बालबालिकालाई आन्दोलनमा होमेर उनीहरूलाई सत्तामा पुग्ने भ¥याङ बनाएको दाबी गर्दै उनले अहिले विकल्पहीन भएपछि आत्तिएको बताए। ‘हिजो प्रचण्ड (दाहाल) ले कतिलाई मराए, अंगभंग गराए, कतिलाई टुहुरा बनाए। तिनका सबै समस्या यो सरकारले हेर्छ,’ उनले भने। जनमुक्ति सेनाको समेत उल्लेख्य सहभागिता रहेको भनिएको सभामा पूर्वजनमुक्ति सेनाका माग सम्बोधन गर्ने आश्वासन उनले दिए। उनले शरीरमा गोली बोकेकालाई उपचार गराउने, योग्यताअनुरूप रोजगारी, राहत, सम्मान, परिचयपत्रको व्यवस्था राजनीतिक नियुक्तिमा समावेश गराउने विश्वास दिलाए। दाहाल–नेपाल पक्षले अहिले पनि युवालाई गलत प्रयोग गर्न खोजेको आरोप लगाउँदै उनले युवाहरूलाई बाटो नबिराई आफ्नो पार्टीसँग मिलेर देश निर्माणको महाअभियानमा सरिक हुन आग्रह गरे। सूर्य चिह्न कसको भन्ने विवादको विषय नै नभएको उल्लेख गर्दै उनले आफ्नै पार्टीले पाउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे। ‘यस्तो सोझो विषय पनि निर्वाचन आयोगले बुझ्दैन होला र ढुक्क हुनुस्,’ उनले भने। तीन वर्ष पार्टीलाई हल न चल बनाएका गलत व्यक्तिहरू बाहिरिएपछि पार्टी गतिशील भएको दाबी गरे। ‘हिजो पार्टीभित्र मुख छाड्नेहरू आज सडकमा बसेर मुख छाडिरहेका छन्, फरक त्यति मात्रै हो,’ उनले भने।  

नक्सामा आफ्नो भूभाग समेटेको चीनतर्फ बाटो खोलेको, तुइनमुक्त गरेको नेपाललाई नयाँ डिजिटल एरा र सुरुङमार्गमा प्रवेश गराएको, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा आमूल परिवर्तन गरेको दाबी गरे। वर्णनै गरेर साध्य नहुनेगरी तीन वर्षमा विकासको लहर ल्याएको, भ्रष्टाचार नियन्त्रण गर्दै विपत्तै सुशासन कायम गरेको दाबी बारम्बार दोहो¥याइरहे। भ्रष्टाचारी र सार्वजनिक सरकारी जग्गा हडप्ने भूमाफियाहरूलाई कारबाही गरिछाड्ने भन्न छुटाएनन्। शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा तीन वर्षमा आमूल परिवर्तन गरिसकेको दाबी गरे। तीन वर्षसम्म सरकारले पक्राउ गर्न नसकेको निर्मला हत्या काण्डका अपराधीलाई पानीमुनि पुगे पनि नछाड्ने भन्न पनि उनी चुकेनन्। निर्मला, भागरथी हत्याकाण्ड सरकारलाई बदनाम गराउने तत्वले घटाएको भन्न बाँकी राखेनन्। सरकारलाई बदनाम गराउन आपराधिक तत्व सक्रिय रहेको भन्दै उनले महिला बालबालिकामाथि हत्याहिंसाका कुनै घटना हुन नदिने बताए।  

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नामै भुलेका ओलीले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी–कपिलवस्तु चार लेन सडक, लुम्बिनीको ५ हजार मानिस अट्ने ध्यान केन्द्र, सिद्धबाबाको सुरुङमार्गलगायत विकासका काम अगाडि बढेको र केही त आफैंले शिलान्यास गरेको बताए। उनले शिलान्यास गरेका अधिकांश आयोजना भने पछिल्लो तीन वर्षमा कुनै ३ प्रतिशत त कुनै १०/१५ प्रतिशत मात्रै काम भएको छ। तर उनले विकासमा भएको ढिलासुस्तीबारे सम्बन्धित निकायलाई सचेत गराउन भने एक शब्द पनि खर्चेनन्। जनसभाअघि प्रधानमन्त्री ओलीले बुटवल–वसन्तपुर केबुलकारको शिलान्यास गरे। सभालाई महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेका थिए।

प्रकाशित: २ फाल्गुन २०७७ ०१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App