१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आज दाहाल–नेपाल समूहको आमसभाः हजारौं सहभागी हुने अपेक्षा

नेकपा दाहाल–नेपाल समूहले बुधबार हुने आमसभामा काठमाडौबाहिरबाट हजारौं मानिस आउने आंकलन गरेको छ । मंगलबार बसेको सचिवालय बैठकमा हजारौंको संख्यामा उपत्यकाबाहिरबाट आउने अनुमान गरिएको हो । देशव्यापी रुपमा विरोधसभा आयोजना गर्दै आएको सो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रमअन्र्तगत राजधानीमा बुधबार विशाल आमसभा गर्न लागेको हो । मंगलबार बसेको सचिवालय बैठकमा सो सभामा कति नागरिकहरू आउछन् भन्नेबारेमा छलफल गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार उपत्याका नै ठप्प पार्नेगरी मानिसहरू काठमाडौंमा आउन लागेका हुन् ।  

त्यसक्रममा मंगलबार काठमाडौमा स्वंससेवकको भेला भएको थियो । उनीहरूले काठमाडौंमा मार्चपाससमेत गरेका थिए । प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसबाट सुरु भएको मार्चपास पुतलीसडक, बागबजार, पुरानो बसपार्क, भृकुटीमण्डप हुँदै फेरि सोही क्याम्पसमा आएर सकिएको थियो । बुधबार हुने बृहत् सभालाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले स्वयंसेवकहरूलाई निर्देशन दिएका थिए । यो समूहले बुधबार हुने सभामा राजधानी उपत्यका र वागमती प्रदेशबाट ठूलो सहभागिता गराउने तयारी गरेको छ ।  

संघर्ष समितिका सचिव सूर्य सुवेदीका अनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मूल जुलुस निकाल्ने तयारी भएको छ । उनका अनुसार मध्याह्न २ बजे मूल जुलुस सुरु हुनुअघि राजधानीका पाँच स्थानबाट सहायक जुलुस निकालिनेछ । केन्द्रीय संघर्ष समितिका अनुसार सहायक जुलुसहरू पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट सुरु हुनेछन् । पुल्चोकबाट सुरु हुने जुलुस कुपण्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धाराको मूल जुलुसमा सहभागी हुनेछ । त्यसको नेतृत्व रघुजी पन्त, कृष्णबहादुर महरा, पम्फा भुषाल, र प्रमेश हमालले गर्नेछन् । 

ललितपुरका केन्द्रीय सदस्य, प्रदेश कमिटी, संघ र प्रदेशका सांसदहरू पनि त्यो जुलुसमा सहभागी हुनेछन् । त्यस्तै, त्रिपुरेश्वरबाट सुरु हुने सहायक जुलुस सुन्धारामा पुग्नेछ । जुलुसको नेतृत्व स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, चक्रपाणि खनाल, जनाद्र्धन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन र विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन् । माइतीघरबाट सुरु हुने जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ । त्यस सहायक जुलुसको नेतृत्व अमृतकुमार बोहरा, भीम आचार्य, गणेश शाह, गिरिराजमणि पोखरेल, मात्रिका यादव र हरिबोल गजुरेललगायतका नेताले गर्नेछन् । 

त्यसैगरी, केशरमहलबाट सुरु हुने जुलुस दरबारमार्ग, जमल, कमलादी, असन, इन्द्रचोक, न्युरोड हुँदै मूल जुलुसमा सहभागी हुनेछ भने त्यसको नेतृत्व भीमबहादुर रावल, देवप्रसाद गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेललगायतका नेताले गर्नेछन् । जमलबाट सुरु हुने जुलुश कमलाक्षी, असन, इन्द्रचोक, न्यूरोड हुँदै सुन्धारा पुग्नेछ । त्यस जुलुशको नेतृत्व लिलामणी पोखरेलसहित केन्द्रीय सदस्यहरूले गर्नेछन् । मुल जुलुस सुन्धाराबाट सुरु भएर वीर अस्पताल, जमल, घण्टाघर, वागबजार, पुतलीसडक, पदमोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ ।

प्रकाशित: २८ माघ २०७७ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App