coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'नेकपा ओली बा' समूह खोल्नुस् : नेपाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नयाँनयाँ अवतार देखिए मुलुक सिद्धिने बताएका छन्। आफूनिकट शिक्षकहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले अहिलेको लडाइँ नै ओली प्रवृत्तिविरुद्ध भएको बताए। ‘यो लडाइँ केपी ओलीसँग होइन, ओली प्रवृत्तिविरुद्ध हो। तर हामीसँग पनि केपी प्रवृत्ति नै रह्यो भने हामी र केपी ओलीबीच कुनै फरक हुने छैन। त्यही तौरतरिका अपनायौं भने हामी पनि केपी ओलीको अर्को अवतार हुन पुग्नेछौं,’ नेपालले भने। कित्ताकाट गर्ने र जबर्जस्त अर्को समूहतिर धकेल्ने कामलाई अध्यक्ष नेपालले ओली प्रवृत्ति भनेका थिए।

‘केपी ओलीको नयाँनयाँ अवतार चाहिएको छैन। एउटै केपी ओलीबाट आजित भइसक्यौं। केपी ओलीको नयाँनयाँ अवतार आयो भने यो देश थिलथिलो भएर सिद्धिन्छ,’ उनले भने। ओली प्रवृत्तिको पुनरावृत्ति गर्न नभएर देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताए।  

ओलीमा पञ्च रवैया कायमै रहेको पनि उनले बताए। नेपालले ओलीलाई ‘नेकपा ओली बा’ पार्टी खोल्न पनि सुझाव दिए। ‘ओली बा समूह खोले हुन्छ। बा मन पराउनेहरू त्यही जान्छन्,’ अध्यक्ष नेपालले भने।

त्यस्तै सोही कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको बताएका छन्। ‘हाम्रो लडाइँ पदका लागि हैन, विचार, सिद्धान्त, प्रणालीका लागि हो। तर प्रतिक्रान्ति गर्न क्रान्तिकारी विचारलाई भुत्ते बनाइदिने, क्रान्तिकारी विचारलाई निस्तेज बनाइदिने, क्रान्तिकारी नेतृत्वलाई जति बदनाम गर्न सक्यो त्यति प्रतिक्रान्तिको आधार बन्दै जान्छ,’ उनले भने, ‘यो सच्चाइ बुझ्न सकिएन भने हामीले लडाइँ हार्छौं, त्यसकारण यो पदको लडाइँ हैन, अग्रगमन र प्रतिगमनको लडाइँ हो।’  

अहिले आफू जनताको पक्षमा गएको भन्दै दाहालले ओली जनताबाट टाढिएको दाबी गरे। ‘हामी जनताको पक्षमा गयौं, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा गयौं, संविधानको पक्षमा गयौं। सडकमा हामीलाई गर्व छ,’ अध्यक्ष दाहालले भने, ‘तर केपी ओली लोकतन्त्र, संघीयता, जनताबाट टाढा गए। संविधानलाई घात गर्ने कुत्सित मनाशायबाट गए, त्यसकारण उनले हारे।’

पुस ५ देखि नै प्रतिगमनविरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमनकारी हार्ने वातावरण बनेको दाहालको भनाइ थियो। ‘हामी सडकमा जानुपर्छ भनेर आयौं, अहिले नयाँ वातावरण बन्दै गएको छ। फेरि नेपाली जनताले जित्नेतिर र प्रतिगमनकारीले हार्नेतिर वातावरण बन्दै गएको छ,’ उनले भने। अध्यक्ष दाहालले पछिल्लो समय ओली रक्षात्मक भएको दाबी गरे। ओली समूहले अपेक्षा गरेजति मानिस जम्मा गर्न नसकेपछि ओलीले बाजी हारेको दाबी उनले गरेका थिए।

प्रकाशित: २७ माघ २०७७ ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App